७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारी मूल्य नै पाउँदैनन् उखु किसान

कञ्चनपुरका किसान उखु काट्दै । तस्बिर : पुष्प/नागरिक

कञ्चनपुर - सरकारले चालू सिजनका लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ। तर, सरकारले निर्धारण गरेको मूल्य यहाँका उखु किसानले पाउन सकेका छैनन्। किसान अहिले चिनी मिलले तोकेको मूल्यमै आफ्नो फसल बेच्न बाध्य छन्।

कञ्चनपुरको दक्षिण–पूर्वी क्षेत्र पुनर्बास र बेलौरीमा स्थापना भएको दुईवटा चिनी मिलले यहाँका किसानले लगाएको उखुबाली सरकारी मूल्यभन्दा कम मूल्यमा खरिद गर्न थालेका छन्। पुनर्बासमा रहेको भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि र महाकाली सुगर मिल बेलौरीले एक समिति बनाएर उखुको मूल्य तोक्ने गरेका छन्। चिनी मिलले तोकेको मूल्यमा नै यहाँका किसानले फसल बेच्नु परेको छ।

भागेश्वर सुगर मिल र महाकाली सुगर मिलका सञ्चालकले सरकारी मूल्य नै किसानलाई दिएको बताइरहँदा किसान भने सरकारी मूल्य नपाएको बताउँछन्। अहिले दुवै चिनी मिलले सरकारी अनुदान ६५ रुपैयाँसहित अर्ली जातको उखुको मूल्य पाँच सय पाँच रुपैयाँ, जनरल उखु चार सय ८० रुपैयाँ र रिजेक्ट उखु चार सय ६५ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गर्न थालेका छन्। सरकारले तोकेको मूल्यमा चिनी मिलले उखु खरिद नगरेको भन्दै किसान निराश बनेका छन्। ‘हामीले उखु मिलले नै तोकेको मूल्यमा फसल बेचिरहेका छौं,’ पुनर्बासका रामस्वरुप रानाले भने, ‘हामीलाई सरकारले तोकेको मूल्य त कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ।’

आफूले जनरल जातको उखु मिललाई बेचेर आएको बताउँदै स्थानीय राजेन्द्र रानाले भने, ‘मलाई चार सय ८५ रुपैयाँ प्रतिक्विन्टलका दरले खातामा पैसा आयो।’ उनले ७१ क्विन्टल ४१ केजी उखु मिललाई बेचेका थिए। मिलले उनको बैंक खातामा २९ हजार ६ सय ३५ रुपैयाँ हाल्यो। मिलमा भीडभाड धेरै हुने र उखुको मूल्य नै सोध्नका लागि सम्बन्धित निकायसम्म पुग्नै नसकिने भएकाले मिलले नै तोकेको मूल्यमा आफूहरुले उखु बेच्नु परेको उनले बताए। ‘हामीले उखुको मूल्य कति छ भनेर सोध्नका लागि लामो प्रोसेस चाल्नु पर्छ,’ उनले भने,‘अर्को कुरा मूल्य सोध्दा उल्टै उखु नै नकिनिदिने पो हुन् कि भन्ने डर पनि छ।’

पूर्वी तराईमा सरकारले तोकेको मूल्यमा चिनी मिलले उखु किन्ने गरे पनि आफूहरु कहाँ भने मिलले तोकेको मूल्यमा उखु बेच्नु परेको अर्का किसान रामनाथ रानाले बताए। उनले भने, ‘उत्पादित सामग्रीको मूल्य उत्पादन गर्ने व्यक्ति वा कम्पनीले निर्धारण गर्छ, तर किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको मूल्य भने व्यापारीले नै तोकिदिँदा किसान सधैं मर्कामा पर्छन्।’ आफूहरुले सरकारी मूल्यअनुसार नै किसानलाई भुक्तानी गरिरहेको महाकाली सुगर मिलका जनरल म्यानेजर रञ्जित गुप्ताले बताए। उनले भने, ‘पहिले हामीले समिति मिलेर आफ्नै हिसाबले मूल्य तोकेका थियौं, अब भने सरकारी मूल्यअनुसार नै दिने गरेका छौं।’ अर्को भागेश्वर चिनी मिलका प्रशासन अधिकृत डम्मरबहादुर खड्काले चिनी मिलका उखु किसानको समिति बसेर चाँडै नै मूल्य समायोजन गरिने बताए। उनले भने, ‘हामी चाँडै बसेर सरकारी मूल्यअनुसार नै किसानबाट उखु किन्ने छौं।’ तर अहिलेसम्म भने किसानले सरकारी मूल्य नपाएको गुनासो गर्दै आएका छन्।

समयमा पर्ची नपाउँदा बिचौलिया हाबी
चिनी मिलले किसानलाई समयमा उखु काट्ने पर्ची नबाँड्दा बिचौलिया हाबी हुने गरेका छन्। बिचौलियाले मिलमा पर्ची बाँड्ने कर्मचारीसँग मिलेर पर्ची लिने र किसानसँग सस्तोमा उखु किनेर मिललाई महँगोमा बेच्ने गरेका छन्। एक किसानले नाम नबताउने सर्तमा भने, ‘मिलले समयमा मलाई पर्ची दिएन, बिचौलिया आएर पर्ची दियो, उसैलाई मैले उखु दिएँ।’ मिलले किसानलाई समयमा पर्ची नदिने गरेका कारण बिचौलियामार्फत उखु बेच्नु परेको गुनासो उनीहरुको छ।

दोस्रो वर्षको उखु काटेर त्यसमा गहुँ या मसुरो छर्ने सोच बनाएका किसानलाई मिलले समयमा पर्ची नदिँदा बिचौलियामार्फत किसानले उखु बेचेका हुन्। किसानले बिचौलियालाई उखु बेच्दा बिचौलियाले आफू अनुकुल सस्तो मूल्यमा किन्ने गरेको किसान बताउँछन्। ‘यहाँका धेरै किसानले समयमा पर्ची नपाउँदा बिचौलियालाई उखु बेचेका छन्,’ अर्का किसान रामचरण रानाले भने, ‘चिनी मिलमा बिचौलिया हाबी हुँदा किसान थप मर्कामा परेका छन्।’ एक सरकारी मूल्य नपाउने, त्यसमा पनि समयमा पर्ची नपाउँदा किसान बिचौलियामार्फत् उखु बेच्न बाध्य भएको उनले बताए। चिनी मिल वरपर तमामौ बिचौलिया रहेको बताउँदै उनले भने, ‘बिचौलियाले नै मिलकोे पर्ची ल्याएर एकदमै सस्तो मूल्यमा खेतबाटै उखु उठाइदिने गरेका छन्।’  

कञ्चनपुरमा १३ हजार किसानले नौ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गर्दै आएका छन्। उखु खेती बलौटे जमिन र बाढी प्रभावित क्षेत्रमा हुँदै आएको छ।

प्रकाशित: १६ माघ २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App