२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

तीन दिनदेखि ढुवानी ठप्प, १० दिनलाई पुग्ने हवाई इन्धन मौज्दात

काठमाडौं - ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेपछि हवाई उडान प्रभावित हुन सक्ने बताइरहँदा नेपाल आयल निगमले भने १० दिनलाई पुग्ने इन्धन रहेको जनाएको छ। घुमाउरो ढंगले तेल चोरे पनि कारबाही गर्न हुँदैन भन्दै ट्यांकर चालकले दुई दिनदेखि हवाई इन्धन ढुवानी गरेका छैनन्। चालकका माग नियम विपरित भएको निगमले बताउँदै आएको छ।

विमान कम्पनीहरुले इन्धन अभाब हुने चिन्ता व्यक्त गरिरहँदा निगमले १० दिनलाई पुग्ने पाँच हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको जनाएको छ। इन्धनका कारण हवाई उडान प्रभावित हुन नदिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘दैनिक पाँच सय केएल इन्धन खपत हुन्छ,’ प्रवक्ता गोइतले भने, ‘निगमका डिपोमा १० दिनलाई पुग्ने हवाई इन्धन मौज्दात छ।’

इन्धन ढुवानीमा हुने चुहावट रोक्न निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना गर्ने निर्णयको विरोध गर्दै ट्यांकर चालकले गत शनिवारदेखि हवाई इन्धन ढुवानी रोकेका छन्। चालकले सबै ट्यांकरका चापी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरालाई बुझाएका छन्। हवाई इन्धन ढुवानी गर्ने एक सय ८१ ट्यांकरका चापी बुझाएको नेपाल यातायात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी इकाई समितिका अध्यक्ष पशुपति पाठकले बताए। ‘हाम्रा माग पूरा नभएसम्म गाडी चलाउँदैनौं,’ पाठकले भने।

विनियमावलीमा इन्धन ढुवानी गर्दा लोड भएको पेट्रोलियम पदार्थको परिणाम तापक्रमको फरकबाट हुने परिमाण बाहेक लोड भएको परिणामको ०.२५ प्रतिशत भन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्य अनुसार चालकसँग असुल उपर गरिने व्यवस्था छ। २० हजार लिटरमा ०.२५ प्रतिशतले ५० लिटर हुन्छ। उक्त परिमाण भन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्यको दोब्बर मूल्य ढुवानीकर्ता चालकबाट असुल उपर गर्न सकिने नीतिगत व्यवस्था छ। यही व्यवस्थालाई टेकेर निगमले १२ वटा ट्यांकर चालकले ढुवानी गरेको इन्धनमा ५० लिटर बढी कम परिमाण भेटिएपछि दोब्बर मूल्य बराबरको रकम तिराएको थियो।

निगमले सहमतिको प्रयास गरे पनि सहमति भएको छैन। आन्तरिक छलफल गरेको निगमले मंगलबार चालकलाई बार्ताका लागि बोलाएको छ। चालकका अन्य माग सम्बोधन गर्न तयार भए पनि नियमावली विपरितको माग राखेकाले पूरा गर्न नसकेको निगमका अधिकारी बताउँछन्। ट्यांकर चालकले जति परिणाम कम हुन्छ त्यति परिणाम बराबरको मूल्य भने तिर्न तयार भए पनि दोब्बर तिर्न इन्कार गरेका हुन्। अहिले एक सय ८१ ट्यांकरले इण्डियन आयल कर्पोरेसनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन्।

प्रकाशित: १४ माघ २०७६ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App