२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपालगन्ज नाकाबाट निर्यात आधाभन्दा धेरै घट्यो

नेपालगन्ज -  नेपालगन्ज नाकाबाट नेपालीवस्तु भारत निर्यात हुने मात्रा आधाभन्दा बढीले घटेको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७को पुस मसान्तसम्मको तथ्यांक हेर्दा भारत निर्यात हुने नेपाली वस्तु ६२ प्रतिशतले घटेको हो। गतवर्षको तुलनामा यसवर्ष निर्यात ६२ प्रतिशत र भारतबाट हुने आयात१५ प्रतिशतले घटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

‘यसवर्ष ६२ प्रतिशतले निर्यात घटेको छ, आयातपनि १५ प्रतिशतकम छ,’ उनले नागरिकसँग भने, ‘भारतमा आर्थिक मन्दी भएको कारण यतातिर पनि असर परेको होला ।’ गतवर्षको तुलनामा चालु वर्षमा भारतबाट आयात र त्यसतर्फ निर्यात कम भएकाले राजस्व संकलनमा पनि घटेको भन्सार प्रमुख निरौला बताउँछन्। कतिपय सामानको भन्सार मूल्यांकन र वर्गीकरणमा कडाइ गरेका कारण आयात दर घटेको हुन सक्ने उनको आशंका छ। ‘यो नाकाहुँदै भारतबाट सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो, यसले लगभग हाम्रो राजस्वको ४५ प्रतिशत ओगट्छ, त्यसपछि आउने चामलहो,’ उनले भने, ‘खाद्य संस्थान र डब्लुएफपीले पनि यही नाकाबाट चामल ल्याउँछन् ।’ यसैगरी, नेपालगन्ज नाकाबाट आलु, पत्थर कोइला, औद्योगिक मेसिनरी सामान, ट्याक्टर लगायत ठूला मालसामान आयात हुन्छन्।

नेपालबाट भारततर्फ सबैभन्दा बढी जडीबुटी निर्यात हुन्छ। त्यसपछि खोटो (रोजिन), फलामे पत्रु, तार्पिन तेल, रिट्ठा,अदुवा, सुठो, अन्यमसला, घिउ लगायत सामान निर्यात हुने गरेको कार्यालयले जनाएको छ। भारतले लामो समयसम्म नेपालीवस्तु निर्यातमा रोक लगाएका कारण यति धेरै गिरावट आएको निरौला बताउँछन्। ‘भारतले मंसिर लागेपछि मात्र हाम्रो निर्यातलाई खोल्यो, त्यसअघि ४–५ महिनाबन्द नै राख्यो, अनेक कारण देखाएर यहाँबाट निर्यात हुने अवस्था भएन, त्यसकारणले गर्दा कम देखिएको हो,’ उनले थपे। भारतले चालु वर्ष ०७६/७७को साउनदेखि झण्डै चार महिना सम्म तार्पिन तेल, खोटो (रोजिन), सुठो र रिट्ठा मात्रनिर्यात हुनदिएको थियो। भारतले नेपाली जडीबुटी लगायत सामान निर्यातमा भने विभिन्न कारण लेखाएर रोक लगाएको थियो।

नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले नेपालगन्ज नाकाबाट नेपाली जडीबुटी भारत निर्यातमा सधैं किचलो रहेको बताउँछन्। ‘भारतले नेपाली जडीबुटी आयात कहिले खुला गर्छ, कहिले बन्द गरिदिन्छ,’ प्रदेश पाँचका सांसद समेत रहेका अन्सारीले भने, ‘भारतको अवरोधले जडीबुटी जति निर्यात हुनुपर्ने हो, त्यो हिसाबले हुन सकेको छैन ।’ जडीबुटी भारत निर्यात हुन नपाउँदा एकातिर व्यापारीले करोडौं घाटा बेहोर्नु परिरहेको र अर्कोतिर नेपाल सरकारको राजस्व संकलन प्रभावित भएको संघका अध्यक्ष अन्सारीको बुझाइ छ। भारतको उत्तर प्रदेश सरकारले ट्रान्जिट पर्मिटको व्यवस्था लागूगर्दै केही जडीबुटीलाई सूचीकृत र केहीलाई सूचीकृत नगरेका कारण निर्यातमा समस्या भइरहेको अध्यक्ष अन्सारीले बताए ।

प्रकाशित: ८ माघ २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App