१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमबाट खरेलको राजीनामा

काठमाडौं –  नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाएका हुन्। मन्त्री भट्टराईको सचिवालय स्रोतले खरेलले राजीनामा दिएको तर स्वीकृत भइनसकेका जानकारी दियो। उनको राजीनामा आधिकारिक रुपमा दर्ता पनि भएको छैन।

निगममा कार्यकारी अधिकृतका रुपमा सुगतरत्न कंसाकार कार्यरत भएकै बेला प्रधानमन्त्री केपी ओलीको विशेष पहलमा खरेललाई अध्यक्षमा नियुक्ति दिइएको थियो। खरेलले निगमलाई व्यावसायिक रुपबाट सञ्चालन गरी नाफामा लैजाने योजना प्रधानमन्त्री ओलीसँग राखेपछि उनलाई नियुक्ति गरिएको थियो। सुरुमा कंसाकार र खरेलबीच निगम सञ्चालनमा विवाद आएको थियो।

कंसाकार कार्यकाल सकिएर हटेपछि एकलौटी रुपबाट निगम हाँक्न पाए पनि खरेलले देखिने गरी कुनै काम गर्न सकेका थिएनन्। उनले निगमले खरिद गरेका दुई नयाँ जहाजलाई नयाँनयाँ गन्तव्यमा उडाउन कुनै व्यावसायिक योजना ल्याउन सकेनन्। अहिले निगमले छोटो दुरीका गन्तव्यमा ठूला जहाज उठाइरहेको छ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको २५ अर्ब रुपैयाँ ऋण बोकेको निगमले अहिले किस्ता पनि तिर्न सकेको छैन। केही समयअघि व्यावसायिक योजना बनाएर निगमलाई नाफामा लैजानुको सट्टा खरेलले सरकारसँग उल्टै अनुदान मागेका थिए।

निगममा खरेलको लामो अनुभव भए पनि उनी पूर्णतया असफल बन्दै आएका थिए। काम गर्न नसकेकै कारण सरकारले पछिल्लो समय उनको विकल्प खोजेको थियो। पर्यटनमन्त्री भट्टराईले राजीनामा दिएर बाटो खोलिदिन आग्रह गरेपछि खरेलले राजीनामा दिएको बताइएको छ।   

प्रकाशित: ६ माघ २०७६ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App