२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

३३ विन्दु नेप्से बढ्दा दुई अर्बमाथि कारोबार

काठमाडौं - सेयर बजारको उकालो यात्राले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ भने कारोबार रकमले दुई अर्ब नाघेको छ। खरिदकर्ता बढी नै सक्रिय हुँदा आइतबार नेप्से ३३.४३ विन्दुले बढेर १३४३.६५ विन्दुमा उक्लिएको छ। यस दिन १३१०.२३ विन्दुमा खुलेको बजारले १३४९.०५ को उच्चतम विन्दु बनाएको छ। यो गत आर्थिक वर्षको नेप्सेको सर्वाधिक उच्च विन्दु हो। नेप्सेले गत आर्थिक वर्षको जेठ १६ मा १३४९.३८ को उच्च विन्दु बनाएको थियो। लगभग त्यति नै विन्दुमा पुगेर नेप्से बजार बन्द हुँदा ६ विन्दु खस्केर १३४३.६५ मा ओर्लेको छ। गत वर्षको उच्च विन्दुलाई नेप्सेको अवरोधका रुपमा बजारका प्राविधिक विश्लेषकले औंल्याउँदै आएका छन्।

दैनिक चार्टमा यस दिन माथिपट्टि धर्सो (छाया) सहितको लामो शरीर भएको हरियो महिनबत्ती बनेको छ। माथिपट्टिको धर्सोले दिनभरिजसो क्रेता हावी भएको बजारमा अन्तिम समयमा विक्रेता हावी भएको संकेत गर्छ। यस दिन नेप्सेमा २.५५ प्रतिशतको वृद्धि आउँदा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९५ प्रतिशत (५.५२ विन्दु) ले बढेको छ। यद्यपि नेप्सेको वृद्धि तुलनामा सेन्सेटिभ इन्डेक्सको वृद्धि कम छ। यसले राम्रा र ठूला कम्पनीको तुलनामा साना कम्पनीको सेयर भाउ वृद्धिदर बढी रहेको संकेत गर्छ।

बिमा समूहमा छलाङ
यस दिन कारोबार भएका १२ वटा समूहमध्ये ११ वटाको सूचक हरियो छ। सबैभन्दा बढी वृद्धि हुनेमा जीवन तथा निर्जीवन बिमा समूह देखिएका छन्। निर्जीवन बिमा समूहमा ६.४५ र जीवन बिमा समूहमा ६.०२ प्रतिशत वृद्धि देखिएको छ। विन्दुगत आधारमा हेर्दा जीवन बिमा समूह अगाडि छ। यो समूहको सूचक ४०३.२५ विन्दुले उकालो लाग्दा निर्जीवन बिमा समूह ३३७.०२ विन्दुले बढेको छ।

यस्तै, विकास बैंक समूह ६६.५३, उत्पादनमूलक समूह ५९.९४, होटल्स ४९, जलविद्युत् ४५.४६ र वित्त ३५.१६ विन्दुले बढेका छन्। लघुवित्त ३२.०६ विन्दुले उकालो लाग्दा बैंकिङमा १७.९४, अन्य समूहमा १२.६ र म्युचुअल फन्ड समूहमा ०.५४ विन्दुको वृद्धि देखिएको छ। बढ्दो बजारमा पनि व्यापार समूहको सूचक भने ७.९८ विन्दुले खुम्चिएको छ।

दुई अर्ब नौ करोडको कारोबार
नेप्से बढेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। यस दिन दुई अर्ब नौ करोड आठ लाख ७७ हजार नौ सय १७ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा २३ प्रतिशतले बढी हो। गत बिहीबार एक अर्ब ६९ करोड ९९ लाख पाँच हजार एक सय सात रुपैयाँको सेयर किनबेच भएको थियो।

बिहीबारको तुलनामा आइतबार कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि वृद्धि देखिएको छ। बिहीबार १७ हजार दुई सय ९५ कारोबारबाट एक सय ८१ कम्पनीका पाँच लाख २५ हजार पाँच सय ६३ कित्ता सेयर खरिदबिक्री भएकोमा आइतबार २१ हजार चार सय २३ कारोबारबाट एक सय ७८ कमपनीका ६१ लाख ३१ हजार चार सय १८ कित्ता सेयर किनबेच भएका छन्।

हिमालय डिस्टिलरीको उच्च कारोबार
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी अग्र स्थानमा देखिएको छ। यस कम्पनीको १२ करोड १५ लाख ५९ हजार आठ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको १० करोड ८५ लाख सात सय ६ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स, प्रभु बैंक र एनसिसी बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। यसैगरी एनआइसी एसिया बैंक, नेपाल बैंक, शिखर इन्सुरेन्स, नागरिक लगानी कोष र नेसनल लाइफ इन्सुरेन्स पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्। कारोबार संख्या र किनबेच भएको सेयर संख्याका आधारमा भने यस दिन क्रमशः शिवम सिमेन्ट र प्रभु बैंक अग्र स्थानमा छन्।

दुई दर्जन कम्पनीमा पोजेटिभ सर्किट
बढ्दो बजारमा यस दिन झन्डै दुई दर्जन कम्पनीको सेयर भाउ १० प्रतिशत हाराहारी बढ्दा नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाउनुपरेको छ। यस्ता कम्पनीमा धेरैजसो जीवन बिमा, निर्जीवन बिमा र वित्त समूहका छन्। यस दिन कारोबार भएका एक सय ७८ कम्पनीमध्ये एक सय ४५ वटाको सेयर भाउ बढेको छ। बढ्दो बजारमा पनि यस दिन २४ वटा कम्पनीको भने सेयर भाउ घटेको छ। सबैभन्दा बढी गुमाउनेमा स्वाभिमान माइक्रोफाइनान्सका लगानीकर्ता परेका छन्। यस कम्पनीको सेयर मूल्य ६.७ प्रतिशतले घटेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले खस्केको छ।

प्रकाशित: ६ माघ २०७६ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App