२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

२६ विन्दुले नेप्से बढ्दा १.७अर्बको कारोबार

काठमाडौं - सेयर बजारको उकालो यात्राले साताको अन्तिमदिन बिहीबार पनि निरन्तरता पाएको छ। बजारप्रति लगानीकर्ता बुलिस बन्दाखरिद चाप सिर्जना भई धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से निरन्तर उकालो चढेको छ।

बिहीबार १२८४.२३ विन्दुमा खुलेको बजार २६ विन्दुले बढेर १३१०.२३ विन्दुमा पुगेको छ। खुलेदेखि नै उकालो लागेको सेयर बजारले यस दिन १३१३.५८ को उच्चविन्दु बनाएको छ। अन्तिममा बिक्री चाप बढेपछि भने नेप्से उच्च विन्दुबाट केही खुम्चिएर बजार बन्द भएको हो।
दैनिक चार्टमा यस दिन नेप्सेले माथिपट्टि छाया (धर्सो) सहितको ठूलो शरीर भएको हरियो महिनबत्ती बनाएको छ। यसले बजारमा विक्रेतामाथि क्रेता हावी भएको संकेत गरेको छ। अन्तिम सयममा विक्रेताले आपूर्ति बढाएका कारण नेप्सेमा संकुचन आउँदा महिनबत्तीको माथिपट्टि धर्सो (छाया) बन्नपुगेको हो।

यस दिन नेप्से २.०२ प्रतिशतले वृद्धि हुँदा क वर्गका कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स १.४ प्रतिशत (३.९ विन्दु) ले बढेको छ। नेप्सेको तुलनामा सेन्सेटिभ इन्डेक्सको कम वृद्धिले तुलनात्मक रुपमा राम्रा र ठूला कम्पनीको सेयर भाउ वृद्धि दर कम रहेको संकेत गर्छ। यस दिन कारोबार भएका १२ वटा समूहमध्ये एउटा बाहेक सबै समूहको सूचक हरियो बनेको छ। सबैभन्दा बढी वृद्धि वित्त समूहमा देखिएको छ। यो समूहको सूचक ४.१६ प्रतिशतले उकालो लागेको छ। यस्तै उत्पादनमूलक समूहको सूचकपनि ४.०३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

विन्दुगत आधारमा हेर्दा भने जीवनबिमा समूहको सूचक अगाडि देखिन्छ। यो समूहको सूचक २४२.५८ विन्दुले उकालो लागेको छ। यस्तै निर्जीवन बिमा समूह १२५.७१, उत्पादनमूलक समूह ९७.३१, लघुवित्त ७६.१८ र होटल्स समूह ७४.५५ विन्दुले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। विकास बैंक समूह ४१.८४ विन्दुले उकालो लाग्दा व्यापार समूह २८.५९, वित्त २६.५५, बैंकिङ १९.३८, जलविद्युत् ७.९७ र म्युचुअल फन्ड समूह  ०.३२ विन्दुले हरियो बनेका छन्। बढ्दो बजारमा पनि यस दिन अन्य समूहभने १.७विन्दुले रातो छ। अर्थात यस समूहका सेयर धनीले बिहीबार गुमाएका छन्।

कारोबार रकम ८८ प्रतिशतले वृद्धि
नेप्सेको वृद्धिसँगै कारोबार रकममापनिउच्च वृद्धि देखिएको छ। यस दिनधितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार एक सय सात रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ८७.९प्रतिशतले बढी हो। बुधबार ९० करोड ४८ लाख १३ हजार नौ सय ३२ रुपैयाँको कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि वृद्धि भएको छ। बुधबार १०हजार सात सय तीन कारोबारबाट एक सय ७७ कम्पनीको ३०लाख ५५ हजार दुई सय ३३ कित्ता सेयर किनबेच भएकोमाबिहीबार १७ हजार दुई सय ९५ कारोबारबाट एक सय ८१ कम्पनीका ५० लाख २५ हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री भए।

कारोबार रकममा हिमालयन डिस्टिलरी अगाडि
कारोबार रकमका आधारमा बिहीबार हिमालयन डिस्टिलरी अगाडि देखिएको छ। यस कम्पनीको १४ करोड ४९ लाख २७हजार चार सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको १३ करोड ६० लाखदुई हजार एक सय २२ रुपैयाँको कारोबार भएको छ। एनआइसी एसिया बैंक, प्रभु बैंक र नेपाल लाइफ इन्सुरेन्स कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

नेपाल बैंक, कुमारी बैंक, एनसिसी बैंक, प्राइम बैंक र एनएमबी बैंक पनि उच्चकारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्। खरिद बिक्रीभएको सेयर संख्याका आधारमा भने प्रभु बैंक पहिलो र शिवमसिमेन्ट दोस्रो स्थानमा छन्। कारोबार संख्यामा शिवम पहिलो स्थानमा छ।

दर्जन कम्पनीमा सर्किट
उच्च दरले बढेको बजारमा यस दिन झन्डै दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढ्दा नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाउनुपरेको छ। यसरी सर्किट ब्रेक लाग्ने कम्पनीमा एउटा म्युचुअल फन्डसहित लघुवित्त, वित्त र विकास बैंक समूहका कम्पनी छन्। यसअघि खासै बढ्न नसकेको वित्त समूहका कम्पनीको पनि पछिल्लो समय उच्च दरले सेयर भाउ वृद्धि भएको छ। बढ्दो बजारमा पनि महिला सहयात्रा र अरुण काबेली पावर कम्पनीका सेयरधनीले दुई प्रतिशतभन्दा बढीले आफ्नो सेयर सम्पत्ति गुमाएकाछन्।

सेयर खरिदमा लगानीकर्ता उत्साहित हुँदा यो हप्ता मंगलबारबाहेक अरु सबै दिन नेप्से परिसूचक उकालो लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडको अभिलेखले देखाउँछ। यो साता नेप्से ९७.११ विन्दुले माथि उक्लेको छ। अघिल्लो साता बिहीबार बजार बन्दहुँदा नेप्से १२१३.१२ विन्दुमा थियो। यो साताबजार बन्द हुँदा नेप्से १३१०.२३ विन्दुमा पुगेको छ। आइतबार सेयर परिसूचक ४२.६ विन्दुले माथि चढेको थियो भने सोमबार यो १५.१५ विन्दुले उक्लियो। मंगलबार भने नेप्से ७.४९ विन्दुले खस्कियो। बुधबार फेरि यो २०.८५ विन्दुले उकालो लागेको थियो।  
 

प्रकाशित: ३ माघ २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App