१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सडकले सुबिधाभन्दा सास्ती बढी

कर्णाली सडकमा भइरहने जाम

जुम्ला - गण्डकी प्रदेशका शम्भु पौडेल पाँच वर्ष अघिदेखि राराताल घुम्ने योजना बुन्दै थिए। तर, अनुकूल समय र अवसर नपाउँदा उनको रारा पुग्ने सपना साकार हुन सकेको थिएन। राराताल जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ भएको सुन्दा पनि निकै रमाइलो लाग्थ्यो। उनी कर्णालीको प्राकृतिक सुन्दरता, यहाँको रितिरिवाज, चालचलनको अवस्था नियाल्न चाहान्थे।

नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि उनमा राराताल घुम्न जाने रहर झनै पलाएर आयो। सोही अनुरुप उनले राराताल घुम्ने योजना बनाए। साथीभाई मिलेर आन्तरिक पर्यटकका रुपमा रारा निस्किए। कर्णाली प्रदेशको सुर्खेतसम्म पुग्दा त उनीहरु निकै खुसी देखिए। जब सुर्खेत हुँदै कर्णालीको यात्रा थाले उनीहरुको मनमा त्रास उत्पन्न भयो। रारा जाने बाटोको नाजुक अवस्था देख्दा उनको मनमा कताकता डरले डेरा जमाउन थाल्यो। ‘कर्णालीको सडक त पर्यटक भिœयाउनेभन्दा पनि पर्यटक झुल्याउने प्रकारको रहेछ,’ उनले भने, ‘साँघुरो सडकमा विपरित दिशाबाट आएको सवारीसाधनलाई साइड दिन पनि कठिन। सडकमा हिलोले निकै जोखिम।

ठाउँठाउँमा सडक जामको समस्या ।’ सडकको यस्तो अवस्था देखेर यहाँ आउने हरेक पर्यटक आजित भइरहेको अनुभव उनी सुनाउँछन्। कर्णालीमा कालीकोटको पचाल झरना, जुम्लाको चन्दननाथ, मुगुको राराताल र जुम्लाको सिँजा उपत्यका पर्यटक घुम्न आउने प्रमुख गन्तब्य हुन्। विश्वको उच्च स्थानमा धान फल्ने छुमचौर जीउलो पनि कर्णालीको जुम्लामै अवस्थित छ। ‘तर, उक्त क्षेत्रसम्म पुग्ने सडक राम्रा छैनन्। पर्यटकमैत्री व्यवहार छैन,’ उनले थपे, ‘कर्णालीमा पर्यटनको जति सम्भावना छ त्यति पर्यटकमैत्री संरचना निर्माण हुुन सकेको छैन। यो पर्यटन वर्षका लागि मुख्य चुनौती हो ।’जुम्ला सिँजाका मानबहादुर रोकायाका अनुसार पर्यटनमैत्री संरचना अभावले आन्तरिक तथा बाह्य पर्यटक अपेक्षाकृत आउन सकेका छैनन्। उनले भने, ‘कर्णाली सडकमा दैनिक तीनदेखि पाँच घण्टासम्म जाम खेप्नुपर्छ। सरकार स्थानीयको आक्रोश सुन्दैन। पर्यटकमैत्री संरचनामा जोड दिँदैन। कसरी हुन्छ कर्णालीको विकास।’

कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालीकोट खण्डमा दिनहुँ समस्या आइरहन्छ। ठूला सवारीसाधनले साना सवारी साधन सहजै गुड्न सक्ने अवस्था छैन। जाम हुनसक्ने क्षेत्रमा तयारी अवस्थामा डोजर र सडकमा काम गर्ने जनशक्ति राख्न जरुरी छ। सुरक्षाका लागि सडक बीचमा रहेका सुरक्षाकर्मीलाई समेत पर्यटकमैत्री व्यवहार गर्न निर्देशन गर्न जरुरी छ। कर्णाली प्रदेश सरकारले आफ्नै प्रकारको पर्यटन वर्षको नारा बनाएको छ। यो नारा हो, ‘यसपालि घुमौं कर्णाली ।’ कर्णाली आफ्नै प्रकारको लोगो बनाएर अन्य प्रदेशभन्दा पृथक रुपमा अघि बढ्न खोजेको छ। तर, पर्यटनमा आधारभूत संरचना बनिनसकेको अवस्थामा यो नारा खासै सहयोगी बन्न सकेन। कर्णाली सडकका अधिकांश खण्डमा निर्माण भएका ‘सुरक्षा बार’ भत्किसकेका छन्।

वर्षा हुनेबित्तिकै सानोतिनो पहिरोले सास्ती दिन्छ। सडकदेखि सिधैं कर्णाली नदी देखिन्छ। कर्णालीमा पर्यटकको निकै त्रासपूर्ण यात्रा हुने गरेको स्थानीय बताउँछन्। सडक खण्डको बीच क्षेत्रमा गास, बासका लागि होटल नहुँदा पनि पर्यटक समस्यामा पर्ने गरेका छन्। सोही कारण अधिकांश पर्यटक आफ्नो क्षेत्रबाटै खानेकुरा झोलामा बोकेर ल्याउने गरेको भेटिने गरेका छन्। कर्णाली प्रदेशले यहाँका ४० वटा पर्यटकीय गन्तब्य सूचीकृत गरेको छ। तर, त्यो पर्यटकीय गन्तब्यमा पुग्नसक्ने संरचना निर्माणमा ध्यान दिइएको छैन। जबसम्म सुरक्षित सडक हुँदैन, तबसम्म कर्णालीमा अपेक्षानुसार पर्यटक भित्र्याउन सकिँदैन। अहिले कर्णाली प्रदेशको आफ्नै आन्तरिक उडान छैन। सुर्खेत–जुम्ला र जुम्ला–सुर्खेत उडान नहुँदा नेपालगन्ज धाउनुपर्ने बाध्यता छ।

कर्णाली क्षेत्र सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल फोक्सुण्डो, सबैभन्दा ठूलो राष्ट्यि निकुञ्ज से–फोक्सुण्डो, खस भाषाको उद्गम स्थल, सिँजा सभ्यताको लामो इतिहास बोकेको क्षेत्र हो। यहाँ धार्मिक पर्यटनका क्षेत्र पनि तमाम छन्। सांस्कृतिक हिसाबले कर्णाली प्रदेश निकै धनि हो। वनजंगल जडीबुटीको प्रचूर सम्भावना बोकेको छ। तर यहाँ जल छ, जलविद्युत् छैन, जंगल छ, जनावर छैनन्, जडीबुटी छ, प्रशोधन उद्योग छैनन्। सम्भावनै सम्भावना र अभावै अभावमा यसरी नै बाँचिरहेको छ कर्णाली प्रदेश। अनि कसरी हुन्छ यहाँको विकास र पर्यटकको आकर्षण। कर्णालीवासीले तत्काल कर्णाली सडक स्तरोन्नति गर्दै भरपर्दो सडकका रुपमा स्थापित गराउन माग गरेका छन्। पर्यटकलाई मध्यनजर गर्दै कर्णालीका हरेक जिल्लामा कर्णाली सरकारले होमस्टेको अवधारणा अघि सारेको छ। तर, ती होमस्टे राजनीति गर्ने अखडा बनेका छन्। जून सर्वसाधारणको पहुँचबाहिर छन्।

खर्चिलो कर्णाली सडक
कर्णाली राजमार्गको सुरुवात गर्दा कालीकोटको शेरीघाटदेखि पान्तडी हुँदै जुम्ला र मुगु पुग्ने गरी सर्भे गरिएको थियो। तर, उतिबेला कालीकोटका नेताले तत्कालीन राजासँग मान्म हुँदै जुम्ला र मुगु जानेगरी सडक निर्माण गर्न बिन्ती गरे। फलस्वरुप अहिले कालीकोटको मान्म हुँदै जुम्ला र मुगु पुगिन्छ। पहिले सर्भे गरेको सडकभन्दा यो सडक २२ किलोमिटर लामो छ। शेरीघाटदेखि मान्मसम्म पुग्न मात्रै झण्डै एक घण्टा लाग्छ। चालकका अनुसार दुई दर्जनभन्दा बढी  घुम्ती पार गर्नुपर्छ। दुई लिटरसम्म बढी इन्धन खर्च हुने गरेको छ। शेरीघाट हुँदै पान्तडी पुग्न अहिलेको सडकभन्दा झण्डै डेढ घण्टा छिटो हुने देखिन्छ।

यो सडक जुम्ला र मुगुवासीका लागि खर्चिलो बनेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महातारा बताउँछन्। यो सडकले समयको बर्बादी गरेको छ। यात्रा पनि निकै महंगिएको छ। कर्णाली राजमार्गको शेरीघाट हुँदै पान्तडी पुग्ने सडक निर्माण नहुँदासम्म यहाँका व्यवसायी र स्थानीयले खर्चको भारी बोकिरहनुपर्छ,’ उनले थपे, ‘अहिले शेरीसाघ पान्तडी सडकका लागि पहल भइरहेको छ ।’ अहिले मान्म हुँदै आउने सडकमा जोखिम धेरै छ। स्पिड स्लो हुन्छ। इन्धन खर्च धेरै हुन्छ। मान्म हुँदै जाने सडक सहायक सडक हुन्छ। तल्लो सडक बन्दा समयमै जुम्ला पुग्छौं। समय सुरक्षित हुन्छ। यात्रा पनि सुरक्षित हुने स्थानीय बताउँछन्।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा शुरी हुँदै पाण्तडी सडक निर्माण भए निकै सहज हुने बताउँछन्। उनले भने, ‘अब सबै यो सडक निर्माणमा जुट्नुपर्छ। त्यसका लागि सर्वदलीय संयन्त्र एकाकार हुन जरुरी छ। यो सडक दीर्घकालीन रुपमा निकै राम्रो हुनेछ ।’ भम्रण वर्ष सफल पार्न कर्णाली राजमार्गको निर्माण एवं स्तरोन्नति आवश्यक छ। मानसरोवर जाने भारतीय पर्यटकलाई मध्यनजर गर्दै जुम्लामा इन्धन भण्डारण केन्द्र स्थापना गर्नु जरुरी छ।

प्रकाशित: २ माघ २०७६ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App