७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकार तत्काल भारतसँग छलफल गर्दै

काठमाडौं - पाम आयल आयातमा प्रतिबन्ध लगाउने भारतको निर्णयले नेपाली उद्योगलाई समस्या पर्ने देखिएपछि सरकारले भारतसँग यसबारे तत्काल छलफल गर्ने तयारी गरेको छ।

भारतले बुधबार पाम आयल आयात रोक्ने निर्णय गरेको थियो। यो निर्णयले नेपाली व्यवसायीको अर्बौं लगानी समस्यामा पर्ने सम्भावना बढेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भारतको निर्णय सरकारको  ‘नोटिस’मा आएको जानकारी दिँदै बिहीबारै यस विषयमा सरोकारवाला निकायबीच छलफल भएको बताए। मुलुकबाट ठूलो परिमाणमा निर्यात हुने र व्यवसायीको प्रत्यक्ष संलग्नता भएको व्यवसाय भएको कारण सरकारले तत्काल यस विषयमा चासो देखाएको भन्दै उनले यसबारे भारतीय सरकारसँग पनि कुरा राख्ने जानकारी दिए।

‘पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएको सूचना आएसँगै आज(बिहीबार) उद्योगी व्यवसायीसँग छलफल गर्यौं,’ उनले बिहीबार नागरिकसँग भने, ‘यसको प्राविधिक र कानुनी असरबारे सामान्य छलफल भयो तर ठोस निर्णय केही भएन।’ प्रवक्ता भट्टराईले भारतको यो निर्णयको उद्देश्यमाथि स्पष्ट हुन जरुरी देखिएकोले भारतसँग अनौपचारिक रुपमा कुराकानी भएको जानकारी दिए। उनले भने, ‘यस विषयमा थप तयारीका साथ औपचारिक रुपमै कुरा हुन्छ।’ पछिल्लो समय नेपालको सबैभन्दा ठूलो निर्यात वस्तुको रुपमा रहेको पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएको हो।

नेपाली निर्यात बजारको करिब २५ प्रतिशत हिस्सा ओगट्ने पाम आयल भारतमा मात्रै निर्यात हुँदै आएको थियो। भारतको यो निर्णयसँगै समग्र निर्यातको अवस्थामा नै यसले प्रभाव पार्ने देखिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५५ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको भन्सार विभागको तथ्यांक छ। पोहोर वर्षभरिमा यसको निर्यात १० अर्ब ३३ करोड मात्र थियो। यस वर्ष सुरुदेखि नै पाम आयलको निर्यात बढी थियो। निर्यातको ठूलो हिस्सा ओगटे पनि पाम आयलको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन। इन्डोनेसिया, मलेसिया लगायत मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपश्चात भारतमा निर्यात गरिँदै आएको छ।

नेपालमा व्यवसायीले कच्चा पदार्थ आयात गर्दा १० प्रतिशतमात्र भन्सार शुल्क तिर्ने र निर्यात गर्दा भारतले समेत भन्सार छुट गरेको कारण नेपालका व्यवसायीले लाभ लिँदै आएको अवस्था थियो। भारतले इन्डोनेसिया, मलेसिया लगायत मुलुकबाट पनि पाम आयल तथा यसको कच्चा पदार्थ ल्याउने गरेको छ। तैपनि नेपालबाट आयात गर्दा गरेको भन्सार छुटको कारण केही सस्तो पर्न जाँदा नेपालमार्फत भारतले आयात गर्दै आएको थियो।लोभलाग्दो निर्यात देखिए पनि आयात–निर्यातको सन्तुलन हेर्दा कच्चा पदार्थ आयातको अवस्था पनि उच्च देखिन्छ। चालु आर्थिक वर्षका पाँच महिनामा १० अर्ब ४६ करोड ५० लाखभन्दा बढीको कच्चा पदार्थ र तयारी तेल आएको भन्सार विभागको तथ्यांक छ। पोहोर वर्षभरिको यो तथ्यांक १२ अर्ब ९८ करोडभन्दा बढी थियो।

प्रकाशित: २५ पुस २०७६ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App