काठमाडौं, नवलपरासीको सुनवलमा २२०÷१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। दुवै सबस्टेसनको निर्माण आगामी चैत (मार्च २०२०) भित्र सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
दुवै सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचना निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने बताए। आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, बेहोरिएका समस्याबारे जानकारी लिँदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिए ।
‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अधिकांश उपकरण आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन्, अब उपकरण जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्रता दिनुहोस्,’ उनले निर्देशन दिँदै भने। ‘तोकिएकै समयमा निर्माण सम्पन्न गर्न देखिएका समस्या समाधानका लागि प्राधिकरणले गर्नुे पर्ने काम र सहजीकरण तदारुकताका साथ गरिदिने छौं ।’ मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।
भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणमा अहिले एक सयभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन्। कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ। नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ। करिब २० बिघा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ। एमसिसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ। त्यस्तै बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल–कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन पनि निर्माण हुँदै छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवनमा सबस्टेसन निर्माण गरिएको हो।
भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ। लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो,’ कार्यकारी निर्देशक घिसिङले भने। ‘सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब चार–पाँच प्रतिशत घट्ने छ, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने छन् भने प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था पनि अन्त्य हुने छ ।’
प्रकाशित: २२ पुस २०७६ ०३:०६ मंगलबार