२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिटिएस टावर निर्माण अलपलत्र

ओखलढुंगा - दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि ओखलढुंगाका आठवटा स्थानमा निर्माण थालिएको बिटिएस टावरको काम वर्षौंदेखि अलपत्र परेको छ। करिब चार वर्षअघि नेपाल टेलिकमद्वारा जिल्लाका आठ स्थानमा निर्माण थालिएको बिटिएस टावरको काम अलपत्र परेको हो।

ग्लोबल टेन्डर आह्वान गरेर बिटिएस टावरको निर्माण थालिएको थियो। ठेक्का लिएको कम्पनीले टावर निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको छ। ६ महिनाभित्र काम सक्नेगरी टेलिकमले करिब चार वर्षअघि ग्लोबल टेन्डरमार्फत भारतको एस्टर इन्डिया कम्पनीलाई टावर निर्माणको जिम्मा दिएको थियो।

देशैभर ६१ वटा बिटिएस टावर निर्माण गर्ने ठेक्का पाएको कम्पनीले जिल्लामा आठवटा टावरको काम अलपत्र छाडेको छ। ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि टावर निर्माणको काम अलपत्र परको हो। ओखलढुंगाका बलखुको भिरगाउँडाडा, पलापु, कटुञ्जे, फूलबारी, पोकली, खिजीफलाटे, उबू र दियाले डाडामा बिटिएस टावर निर्माण गर्ने काम अलपत्र अवस्थामा छ।

निर्माणाधीन टावर सञ्चालन गर्न दुई वर्षअघि नै बलखु, पलापु, खिजीफलाटे र कटुञ्जेमा सोलार सिस्टम जडानको जिम्मा पाएको अर्को कम्पनी आइबिएनले सोलार स्टिम जडानको काम सकेको छ। तीन वर्षअघि थालिएको टावर निर्माणको काम अझै पूरा नभएको सुनकोसी गाउँपालिका–१ बलखुका वडा सदस्य सहदेव गिरीले बताए। मोबाइल नेटवर्क प्रभावकारी बनाउन निर्माण थालिएका टावर नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको गिरीको भनाइ छ।

नेपाल टेलिकमको सेवा यस क्षेत्रमा प्रभावकारी नहुँदा निजी कम्पनीको महंगो शुल्क तिरेर मोबाइल प्रयोग गर्नुपरेको दुर्गाहरी जेरोले गुनासो गरे। यस विषयमा जिल्लास्थित दूरसञ्चार कार्यालयलाई केही जानकारी नभएको बताउँदै आएको छ।
हालै विभिन्न चरणमा ठेकेदार कम्पनीसँग टावर निर्माणका विषयमा छलफल भएको नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका वरिष्ठ इन्जिनियर जितेन्द्र शाहले बताए। बलखु, पलापु, खिजीफलाटे र कटुञ्जेमा सोलार सिस्टम जडानको काम दुई वर्षअघि नै भएकाले टावर निर्माण गरी उपकरण जडानको काम मात्र बाँकी छ।

प्रकाशित: २१ पुस २०७६ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App