१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

गरिमा धानले बोकायो ऋण

मसुरिया (कैलाली) - गौरीगंगा नगरपालिका–११, ऐंठा गाउँका किसान चौकीदार चौधरीले गत असारमा आफूसँग भएको दुई बिघाको पूरै प्लटमा गरिमा धान रोपे। कात्तिकमा फसल दिएन, मंसिरसम्मै पर्खे। धानको बोट सुक्यो, फसल दिँदै दिएन। त्यसपछि उनी चिन्तित बने।

वर्षभरिको अन्न जोहो गर्ने दुई बिघा जमिनमा लगाएको धानले फसलै नदिएपछि उनी जहान परिवारको पेट भर्ने चिन्ताले पिरोलिए। जुक्ति निकाले गाउँकै सहकारीबाट ऋण निकाल्ने र धान किन्ने। उनले गाउँकै हरियाली कृषि सहकारी र दिगो विकास सहकारी समूहबाट सयकडा एक रूपैयाँ ब्याजमा ३५ हजार रूपैयाँ ऋण लिएर १४ क्विन्टल धान खरिद गरेर राखे। ‘गरिमा धानले डुबाएपछि सहकारीबाट ऋण काडेर वर्षभरिका लागि भनेर १४ क्विन्टल धान खरिद गरें,’ चौकिदारले भने, ‘यो वर्ष गरिमाले मलाई ऋणी बनाएर गयो।’

जीवनमा अहिलेसम्म खानका लागि कहिल्यै धान नकिनेका उनले यसपालि किन्नुपरेको बताए। ‘म जान्ने भएदेखि हामीले कहिल्यै धान किनेर खाएनौं, बरु उल्टै बेच्थ्यौं र घरखर्च चलाउँथ्यौं,’ उनले दुःखेसो पोख्दै भने, ‘यसपालि गरिमा धानको बीउ लगाउँदा त्यसले ऋण बोकायो।’

कैलाली, कञ्चनपुरमा ६ सय ५३ हेक्टर जमिनमा लगाएको गरिमा जातको धानले फसल नदिँदा मर्कामा परेका १५ सय ३६ किसान धान खरिद गर्न ऋण निकाल्न  थालेका छन् ।

उनीजस्तै ऐंठा गाउँकै जोखन डगौरा थारू पनि धान किन्ने ऋणको खोजीमा छन्। भएको १० कट्ठा जमिनमा गरिमा धान रोपेका उनी ठगिएका छन्। उनी पनि अहिले वर्षभरिको अन्न जोहोका लागि ऋणको खोजीमा दौडिएका छन्। ‘वर्षभरिका लागि धान किन्न ऋण खोज्दैछु,’ जोखनले भने, ‘कहिले यो सहकारी त कहिले त्यो सहकारी धाउँदैछु, कतै प्रक्रिया मिलेन भनेर रोकिन्छ, कतै सहकारीले नै पत्याउँदैन हामीलाई।’

उनले दुखेसो पोख्दै भने, ‘सरकारले चाँडै क्षतिपूर्ति दिए त हामीजस्तालाई राहत हुन्थ्यो।’ चौकिदार र जोखनजस्तै अहिले यहाँका किसान चिन्तित छन्। सरकारले चाँडै क्षतिपूर्ति दिएको भए ऋणको खोजीमा भौंतारिनु नपर्ने बताउँदै गरिमा धान पीडित संघर्ष समितिका मसुरिया संयोजक बासुदेव गुरागाईंले भने, ‘हामी किसानले परिवारका लागि भनेर वर्षभरिको जोहो गर्न खेतमा धान रोप्यौं, त्यही धान नफलेपछि अहिले ऋण काड्नु परेको छ।’

सरकारले बेलैमा क्षतिपूर्तिबापतको रकम या त खाद्यान्न उपलब्ध गराइदिएको भए किसान ऋणी हुनु नपर्ने बताउँदै उनले भने, ‘किसानले समयमै क्षतिपूर्तिबापतको रकम या धान नदिँदा हामी ऋणी हुनुपरेको छ।’ गौरीगंगा नगरपालिकामा मात्रै दुई सय ५० भन्दा बढी किसानले खेतमा गरिमा धान रोपेका थिए। कसैको पनि धान नफलेपछि किसान दैनिक आफूकहाँ क्षतिपूर्तिका लागि भनिदिन वडा कार्यालय धाउने गरेको गौरीगंगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष हरिप्रसाद तिवारी बताउँछन्। ‘साबिकको मसुरिया गाविस रहेको कार्यालयमै हाम्रो वडा कार्यालय भएका कारण पनि यहाँ वडा नं ७, ९, १० र ११ का किसान गरिमाको गुनासो लिएर दैनिक आउँछन्,’ वडाध्यक्ष तिवारीले भने, ‘किसानलाई दैनिक सम्झाइबुझाइ पठाउँछु।’

उनी पनि किसानले अहिले गाउँमा ऋण खोज्दै धान खरिद गर्न थालेको बताउँछन्। ‘किसान अहिले वर्षभरिका लागि भन्दै धान खरिद गर्न ऋण खोज्न थालेका छन्,’ वडाध्यक्ष तिवारीले भने, ‘सरकारले गरिमा धानले पीडित बनेका किसानको चाँडै समस्या समाधान गरिदिनुपर्छ।’

कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै नेपाल सरकारले पञ्जीकृत गरेको गरिमा जात (बर्णशंकर) को धान रोपेका थिए। सरकारलाई परीक्षणका लागि सक्कली बीऊ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएका थिए।

कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकामा ६ सय ५३ हेक्टर जमिनमा लगाएको गरिमा जातको धानले फसल नदिँदा एक हजार पाँच सय ३६ किसान मर्कामा परेका छन्। कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले गरिमा धान लगाएका कैलाली–कञ्चनपुरका किसानले खाद्यान्न किन्नुपर्ने बाध्यता आएको बताए। उनले चाँडै नै किसानको घाउमा मल्हम लगाउनुपर्ने बताउँदै भने, ‘किसान अहिले ऋण खोज्दै धान खरिद गर्न थालेका छन्, यसैबेला किसानलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्छ।’

प्रकाशित: २० पुस २०७६ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App