भैरहवा– रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चौथो पटक म्याद थपको प्रक्रिया अघि बढेको छ। तेस्रो पटक थपिएको म्याद आगमी मंगलबार सकिन लागे पछि म्याद थपको तयारी गरिएको हो।
आयोजनाको ८५ प्रतिशत काम सकिएको र बाँकी १५ प्रतिशत काम सक्न तीन महिना लाग्ने निर्माण कम्पनीको दाबी छ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले अघिल्लो साता नै म्याद थपका लागि निवेदन दिएको थियो।
तेस्रो पटकको म्याद २०१९ को डिसेम्बरसम्म पनि निर्माणको काम नसकिने देखेपछि कम्पनीले चौथो पटक म्याद थपको लागि निवेदन दिएको हो।
गौतमबुद्ध विमानस्थल स्तरोन्नती आयोजनाले निर्माण कम्पनीको निवेदन अनुसार नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार पत्र पठाएको छ।
आयोजना इकाई प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार निर्माण कम्पनीको म्याद थपको माग, अहिले सम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधि हेरेर अन्तिम पटकका लागि पत्र पठाइएको जानकारी दिए।
तोकिएको समय भित्र भौतिक संरचनाको काम अन्तिम चरणमा पुगे पनि ईलेक्ट्रो मेकानिकलका सामानहरु समयमा नआएर परीक्षण उडानका लागि विमानस्थल तयार नभएको हो।
‘समयमै निर्माण नसकिएपछि म्याद थप्नुको विकल्प रहेन’ प्रमुख अधिकारीले भने, ‘३ महिनाको म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन पठाएका छौं, सञ्चालक समितिको निर्णयले म्याद थप थप्ने वा नथप्ने निर्णय गर्छ।’ उनले म्याद थपको निर्णय नभएपनि विमानस्थलको काम नरोकिने बताए।
आइसीबी–१ को डिसेम्बर ३१ र आइसीबी–२ को जनवरी ७ सम्म म्याद सकिँदै छ। विमानस्थल निर्माण गर्न पहिलो पटक जुन १८ २०१८, दोस्रो पटक जुन २८ २०१९ र तेस्रो पटक डिसेम्बर ३० २०१९ लाई तोकिएको थियो।
निर्माण सुरु भएको तीन वर्षमा जम्मा २५ प्रतिशतमात्रै काम भएको थियो। पछिल्लो दुई वर्षमा भने ८५ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो चरणका आईसीबी–१ को अधिकांश काम सम्पन्न भईसकेका छन्।
भारत र चीनबाट आउनु पर्ने ४ वटा विल्डिङ लिफ्ट, व्यागेज लिफ्ट रनबेका उपकरणहरु मात्र बाँकी छ, विधुतीय उपकरण सिसिआरका ४० वटा उपकरण आउनु पर्नेमा ३४ वटा आइसकेको छ। बाँकी सबै उपकरण पुस महिना भित्र जडान हुने आयोजनाले जनाएको छ।
दोस्रो चरणको काम आइसीबी–२ हो। उक्त चरणमा भिएमआर÷डीएमई संचार उपकरण, मौसम पूर्वानुमान उपकरण सहित अन्य उपकरणका लागि फाउन्डेसनको काम पनि भइरहेको छ। उक्त काम थाईल्याण्डको एरोथाई कम्पनीले गरेकोे हो।
‘सिएनएस (कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स) को काम मध्ये अहिले कम्युनिकेशन सम्बन्धीका उपकरण युके र अष्ट्रियाबाट र नेभिगेशन तथा मेट्रोलोजी सम्बन्धी उपकरणहरु अमेरिकाबाट सामुन्द्रिक मार्ग हुँदै भारतको कलकत्ता आइसकेको छ’ आइसीबी–२ का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेले नागरिक न्युजलाई भने,‘भन्सार लगायतका प्रक्रिया पुरा गरि यही जनवरी १५ भित्र भैरहवा आइपुग्छ। उपकरण आएको २ देखि ३ महिना भित्र जडान गछौ।’
उनले आगमी अप्रिलमा परीक्षण उडानका लागि सक्दो प्रयास भैरहेको जानकारी दिए। आइसीबी–२ को बाँकी काम सक्न ५० करोड लाग्ने आयोजनाले अनुमान गरेको छ।
फिनिसिङसँगै विमानस्थलमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, सुरक्षा निकायको आवश्यक संरचनाका लागि समन्वय र सहकार्य गरी ठाँउ तोकिसकेको आयोजनाले जनाएको छ। ३ वटा ड्युटी फ्रि स्टोरको पनि ठाउँ बनिसकेको छ।
सम्बन्धित निकायलाई आवश्यक पूर्वाधार र फर्निचरको व्यवस्थापन आयोजनाले गर्ने भएकोले सो कामको लागि सम्बन्धित निकाय विमानस्थलमा आईसकेको र काम अघि बढेको छ। अहिले उपकरण जडान, फिनिसिङमा रंङरोगन, वाइरिङ, सिसी क्यामरा, एसी जडान, कारको पर्किङ सहितको छिटफुट सिभिलको काम भइरहेको छ।
त्यस्तै यूपिएस, सञ्चार उपकरण, एक्सेर मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि भइरहेको आयोजनाले जनाएको छ।
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा सम्झौता भई ३१ डिसेम्बर २०१४ काम सुरु भएको आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०।५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ संगको सम्झौता अनुसार २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आइसिपी १ स्तरको सबै काम सक्नुपर्ने थियो निर्माण कम्पनीले २०१९ को डिसेम्बरसम्म म्याद थप पाएकोे थियो।
प्रकाशित: १२ पुस २०७६ ११:३७ शनिबार