५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

ओखलढुंगा - ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो। परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसद्को विकास समितिका पदाधिकारी र प्राविधिक टोली चण्डेश्वरी विमानस्थल आएको थियो। पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थलमा गत हप्ता मात्रै ग्राभेलको काम पूरा भएको थियो।

निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताए। विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाएका छन्। यस क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको भनाइ छ।

यहाँका स्थानीयले यो विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न पर्यटनमन्त्री भट्टराईसमक्ष माग गरेका छन्। ओखलढुंगा हुँदै सोलुखुम्बुको सगरमाथा क्षेत्र जान अति उपयुक्त पदमार्गको बीचमा रहेको यो विमानस्थलमा नियमित हवाईजहाज चल्न सके पर्यटक जिल्लामा भिœयाउन सहज हुने संघीय सांसद यज्ञराज सुनुवारको भनाइ छ।

पर्यटनमन्त्री भट्टराई सहितको टोलीसमक्ष स्थानीयले मागपत्र नै पेस गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन्। ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमा पेस गरिएको मागपत्रमा खिजिचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरिएको छ।

पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताए। मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

यो विमानस्थलको निर्माण कार्य सुरु भएको १३ वर्षपछि ग्राभेलको काम सकिएको हो। आर्थिक वर्ष २०६३/०६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो। आर्थिक वर्ष २०६९÷०७० बाट जग्गा सम्याउने काम सुरु भएको आयोजना प्रमुख एवं नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए। हाल विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माण र अस्थायी टावरघरको निर्माण सम्पन्न भएको भट्टराईले जानकारी दिए।

विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्ने गरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ। केही दिनअघि मात्र ठेकेदार कम्पनीले विमान स्थलको ग्राभेल लगायतको काम सकेको हो।

ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित दुई करोड पाँच लाख ३३ हजार सात सय ४० रूपैयाँमा ठेक्का लागेको थियो। पाँच सय ८० मिटर लम्बाइ र ४० मिटर चौडाइको रनवे ग्राभेल गरिएको आयोजना प्रमुख तथा इन्जिनियर भट्टराईले बताए।

कुल ६ सय ५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिन्छ। रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोस्ट लगायत संरचना बन्न बाँकी छन्। पहिरो रोक्न वाल, रनवेको थप स्तर सुधारको काम अझै बाँकी छ। यस विमानस्थलमा नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्बा, पिके हुँदै सगरमाथा जान पदमार्ग सहज छ।

यो विमानस्थलबाट चार घन्टा पैदल दुरीमा नेपालका सात अग्लामध्येको एक देम्बाडाँडा समेत रहेको छ। यसका साथै यस विमानस्थलमार्फत नियमति उडान हुन सके जिल्लाको पश्चिमी भू–भागका स्थानीयलाई सहज हुने खिजिदेम्बा गाउँपालिका–४ का वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताए। सहज यातायातको सुविधा नहुँदा यस क्षेत्रका नागरिक आपतकालीन अवस्थामा लाखौं खर्च गरेर हेलिकप्टर चार्टर गर्न बाध्य छन्। ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीय हर्षित भएका छन्।

प्रकाशित: १० पुस २०७६ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App