१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्ट्रबेरी उत्पादनमा गुरुङको लगाव (फोटो फिचर)

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर ३ बस्ने आशा गुरुङ भैरहवाको एक चिरपरिचित युवा हुन्। ४७ वर्षीय गुरुङ रोजगारी क्रममा जर्मनीबाट फर्किदा भैरहवावासीलाई नयाँ-नयाँ उदाहरण दिइरहे। जर्मनीमा सिकेको पिज्जा होम डेलिभरी गरेर नौलो कामको सुरुवातसँगै उनले त्यहाँ पार्ट टाइममा गरेका अन्य कामहरु पनि भैरहवामा ल्याए।

रियल स्टेट हाउजिङ, नर्सरी खेती, डिजे (डिस्क चक्की)देखि फोटो ग्राफी, नौलो सवारीसाधनको शौकिन गुरुङ यति बेला बेमौसमी तरकारी तथा फलफूल खेतीमा होमिएका छन्। उनले चिसो ठाँउमा हुने स्ट्रबेरीलाई भैरहवामा व्यवसायिक उत्पादन गर्दै नमुना काम गरेका छन्।

नयाँ-नयाँ कामको सुरुवात गर्दै पहिचान जनाएका गुरुङले भैरहवामै फेरी नयाँ कामको सुरुवात गरेका छन्। आत्मविश्वास, लगनशीलता र धैर्यताकासाथ कर्मस्थलमै केही नयाँ गरौ भन्दै नौलो उदाहरण भैरहवावासीमा पेश गरेका छन्।

उदाहरण र नमुना कामको रुपमा उनले अति नै कमजोर (नाजुक) हुने स्ट्रबेरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् भने नेपालमै पहिलो व्यवसायिक रुपमा लेटेक्स (सलादमा प्रयोग हुने )पनि उत्पादन गरेका छन्। स्वादमा अमिलोसहितको गुलियो पन हुने स्ट्रबेरी र तारे होटलमा प्रयोग हुँदै आएको लेटेक्सका लागि नेपाल, भारत र अन्य तेस्रो मुलुकमा अश्रित हुनु परेको छ।

उत्पादनको लागि ८ घण्टा घाम र १८–२० डिग्री तापक्रम उपयुक्त हुने स्ट्रबेरी। प्राय चिसो ठाँउमा र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ। यसमा भिटामिन ए, सि के सहितका सबै भिटामिन र लवण हुने हुँदा स्वास्थ्य बर्धक पनि हुन्छ। फल र विरुवा दुवै नाजुक हुने भएकोले यसको संरक्षणमा धेरै सावधानी अपनाउनु पर्छ। अहिले सुरुवातमा उत्पादन कम भए पनि बजारमा माग अनुसार पुर्‍याउन सकेको छैन, ५ महिनासम्म उत्पादन दिइरहन्छ।

मौसमले साथ दिए लगाएका ४ हजार ५ सय विरुवाबाट प्रति विरुवा २ किलोसम्म उत्पादन हुन्छ। पहिला घरमै ७० वटा विरुवा लगाएर परिक्षण गरेको थिए , सफल भएपछि भारतको पुणेबाट १४ रुपैयाँ प्रति विरुवा खरिद गरी व्यवसायिक रुपमा लगाएको र सात सय रुपैयाँ प्रति केजी बिक्री भइरहेको गुरुङले भने।

'त्यस्तै लेटेक्स पर्पल क्यावेज पनि उत्पादन गरिरहेको छु।' भारत र तेस्रो मुलुकबाट यि आयत भए पनि भैरहवामा उत्पादन भइरहेको छ। सलाद, स्याण्डविच, सुप र सजावटका लागि प्रयोग हुने लेटेक्स र क्यावेजको प्राय पात मात्र प्रयोग हुन्छ। सिजनल तरकारी जस्तै क्यावेज, लेटेक्सको बिउ र काण्ड पनि प्रयोग हुन्छ।

गुरुङ १ वर्षदेखि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११, भुजौलियामा लुम्बिनी अर्गानिक फर्म एन्ड रिसर्च सेन्टर स्थापना गरी व्यावसायिक कृषि गर्दै आएका छन्। साढे ६ बिगाहा बढी जमिन लिजमा लिएर फर्मलाई तीन भागमा बिभाजन गरिएको छ। पक्लिहवा विद्यालयको जग्गा २० वर्षका लागि लिजमा लिएर १ करोड ८० लाख रुपैयाँ लगानी भएको छ। पहिलो भागमा बिभिन्न प्रजातिका ५ हजार फलफूल लगाइएका छन्। आँप, स्याउदेखि ड्रयागन फ्रुट, अम्बा, चेरी, नासपाती, कागती, इस्ट्रबेरीलगायतका दर्जनौं फलका विरूवाहरू छन्।

‘फलहरूले १ वर्ष भित्रमा उत्पादन दिन्छन्’, आशाले भने, ‘अब आउने वर्ष फलहरू बजार पठाउँछौं। त्यसै गरी दोश्रो भागमा बिभिन्न जातका तरकारीहरू र सयपत्री फूल रोपियो बजारमा पनि गइरहेको छ। तरकारीहरूमा ३ थरीका मुला, ८ थरीका साग, पर्पल क्यावेज, ३ थरीका भेंडे खुर्सानी, बन्दा ब्रोकाउली, काउली, अफ सिजन भिन्डी, सिमी, टमाटर, धनिया, सलगम, चुकन्दर, गाजरलगायतका धेरै तरकारी लगाएका छन्। ‘सबै तरकारी बजारमा गइसकेको छ, उनले भने केही तरकारीहरु एक महिनाभित्रै उत्पादन हुन सुरु हुन्छ।

त्यसैगरी तेश्रो भागमा बाख्रा, माछा, हाँस तथा कुखुरा पालन गर्दै कृषि उद्यम गरिरहेका छन्। ‘पहिलो चरणमा तरकारी खेती र फूल खेती गर्दै करिब २ लाखको बिक्री गरिसकेका छु। अहिले परिक्षणको रुपमा सुरुवात गरेको हुँ, भैरहवावासीको माग र इच्छा बमोजिमको कृषि उद्यम गर्छुु। क्यारि निर्माण गरी इजरायली थोपा सिँचाई प्रबिधीबाट सिँचाई गरी अर्गानिक उत्पादन भइरहेको छ।’– आशा गुरुङले नागरिक न्यूजलाई बताए।

आधुनिक तरिकाले कृषि उद्यम सुरू गरेकाले धेरैजना अवलोकनका लागि आउने गरेका छन्। यो अध्ययन अनुसन्धान गर्ने स्थलसमेत बनाउने सोच छ। तरकारीहरू बेसिजनमा पनि पाउन सकिने गरि उत्पादन भइरहेको छ। बाह्रै महिना आफ्नो उत्पादन बजार पुर्‍याउने योजना सफल हुँदै छ। ‘पहिले फर्ममा उत्पादित वस्तुले बजार पाउँदैन कि भन्ने चिन्ता थियो। उत्पादन सुरू हुन थाल्यो पछि विभिन्न बिक्रेताहरूसँग सम्झौतासमेत गरियो। अब भने ढुक्कसँग आफ्नो उत्पादनले बजार पाउन थालेको छ’, गुरुङले भने।

‘तरकारी, फूल तथा फलका विरूवाहरू पहिलोपटक भएकोले भारतका विभिन्न ठाउँबाट मगाएको भए पनि अर्काे वर्षदेखि आफ्नै विज वृद्धि घरबाट उत्पादन गरि विरूवासमेत बिक्री गर्ने योजना छ। आउँदो सिजनमा फर्सी, लौका, घिरौँलालगायतका हरेक तरकारी पनि उत्पादन गर्ने योजना छ। सबै तरकारीहरू अर्गानिक रहेको छ। कुनै बिशादी मल प्रयोग छैन’, उनी भन्छन्। ‘यहाँ उत्पादन हुने तरकारी, फलफूल र फूल सबै अर्गानिक हो र हामी अर्गानिक कृषि उपज उत्पादन गर्छौ’, उनले भने।

उनीसँगै उनलाई साथी रामप्रसाद खनालले पनि कृषिका परामर्श, सल्लाह एवं आधुनिक प्रबिधी तथा बजारलगायतका विषयमा सहयोग गरिरहेका छन्। आशाको मेहनत र खनालको परामर्श र सल्लाहले रोखिएको कृषि उद्यम भैरहवा क्षेत्रमै नमूनाको रूपमा हेरिँदै गएको छ।

लुम्बिनी अर्गानिक फर्मलाई प्रदेश ५को भूमि कृषि व्यवस्था तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार रूपैयाँ अनुदान दिएको छ। त्यसैगरी सिद्धार्थनगर नगरपालिकाले पनि २ लाख ५० हजार रूपैयाँ अनुदान दिएको छ। कृषि फर्ममा अहिले ८ जना स्थानीयले रोजगारीसमेत पाएका छन्, आवश्यकता अनुसार दैनिक ज्यालामा पनि कामदारहरु राखेर काम गरीरहेका छौ। हालै मात्र प्रदेश मन्त्री आरती पौडेललेसमेत निरीक्षण गर्दै हौस्याएकी छिन्।

प्रकाशित: ८ पुस २०७६ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App