२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

विचौलियाको मारमा कुखुरापालक किसान

फाइल फोटो

बेझाङ– कुखुराले मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन्। ठूलो लगानीमा व्यवसायमा चलाएका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन्। 

बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो। अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी १ सय ६० रुपैयाँको हाराहारीमा रहेको छ।

बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउँछन्। ‘कुखुरा बिक्री गर्न लायकका छन्, १ सय ६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ’, उनले भने। 

उनको फार्ममा हाल एक हजार कुखुरा छन्। करिब एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन्।

उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन्। अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए।

‘रामपुरमा दैनिक आठ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्’, उनले भने। 

रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन्। यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा नौ रुपैयाँमा बिक्री भइरहे पनि उपभोक्ताले भने १५ रुपैयाँमा खरिद गर्न बाध्य छन्।  

एक हजार १३५ दानाको मूल्य रहँदा १२० मा प्रतिकिलो जिउँदो कुखुरा बेचेका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर तीन हजार ५७५ पुग्दा पनि प्रतिकेजी १६० मा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताउँछन्।

‘केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य आकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ’, उनले भने। 

नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन्। रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको गुनासो छ।

अहिले रामपुर क्षेत्रमा कुखुरापालन गर्ने व्यवसायी विचौलियाको चरम मारमा छन्। विदेशबाट फर्केर गाउँमै सम्भावना बोकेर केही गर्न खोजेका युवा कुखुराले बजार मूल्य नपाउँदा पुनः विदेश नै फर्कने मनस्थिति बनाउन थालेका छन्। रासस

प्रकाशित: ७ पुस २०७६ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App