२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हाकाहाकी सर्वसाधारण लुट्दै जाजरकोटका लघुवित्तहरु

जाजरकोट- भेरी नगरपालिका ३ पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त सँस्थाकी समूह सदस्य छन्। उनी लघुवित्तको समूहमा बस्न चहान्नन्। उनले समूहको बैठकमा आफुले समूह छोड्ने र अहिलेसम्म विभिन्न नामको वचत रकम माग गर्न लागेको दुई महिना भन्दा बढी भइसक्यो तर संस्थाका कर्मचारीले उनलाई हाकाहाकी तपाइको पैसा दिदैनौ भनिरहेका छन्।

दर्जनौं पटक आफुले व्यक्तिगत रुपमा गरेको वचतको पैसा माग्न गएपनि संस्थाका कर्मचारीले हप्काएर फर्काइदिने गरेको  सुन्तलीले दुखेसो गरिन्। मलाई समूहको जरुरी पनि छैन र मैले मासिक रुपमा जम्मा गरेको २१ हजार ५ सय रुपैयाँ नियमानुसार पाउँ भन्दा दिँदै दिँदैनन् थापाले भनिन्। तपाई जहाँ गएर उजुरी गर्नुस या मुद्धा हाल्नुस पैसा दिन्नौं भनेर संस्थाका कर्मचारीले धम्क्याउने गरेको, उनको गुनासो छ।

धेरै पटक संस्थामा गएर विन्ती गर्दा पनि सधै आफुलाई थर्काउने अपमान गर्ने गरेको उनले बताइन्। सुन्तली मात्रै होइन सोहि वडाको न्युरोडकी अमिृता वुढाको दुखेसो पनि त्यहि छ। संस्थाबाट ऋण लिएर बेइमानी गर्ने अन्य व्यक्तिको अनावश्यक कारण देखाउदै आफुलाई समूह छोड्न र व्यक्ति वचतको रकम दिन संस्थाका कर्मचारीले अस्विकार गर्ने गरेको उनले बताइन्।

मान्छेले चाहेमा कति कुरा छोड्न सक्छ तर यो समूहमा म बस्दिन भन्न नपाउने कस्तो नियम हो? अम्रिताले दुखेसो पोख्दै भनिन्। हाम्रो पैसा लिएर आफुले फाइदा लिने तर हामीलाई आफ्नै रकम माग्दा पनि थर्काउने धम्की दिने गर्छन कहाँ गएर न्याय पाइने होला? उनले भनिन्। सुन्तली र अम्रिता मात्र होइन जिल्लाका सयौं महिलाहरुको पिडा एकै प्रकारको छ। यहाँ रहेका लघुवित्तहरुले स्थानीयको रकममा लुट मच्चाउन थालेपनि स्थानीय सरकार र प्रशासनले कुनै मतलब नराखेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। उनले लघुवित्तका नाममा सर्वसाधारण र विपन्न महिलाहरुलाई लुट्ने र ठग्ने काम मात्र गरेको  बताए।  

विपन्न जनतावाट चर्काे व्याज असुल्ने गरि ऋण दिने अनि त्यहि बहानामा जनताले वचत गरेको रकम सजिलै फिर्ता पनि नगर्ने र समूह छोड्न पनि नदिनु निकै आपत्तिजनक कुरा भएको अगुवा शाहले बताए। महिलाहरुले लघुवित्तका कार्यालयहरुमा गएर दिनदिनै आक्रोस पिडा पोखेको भएपनि स्थानीय प्रशासन, स्थानीय सरकार र अन्य सरोकारवाला निकायले भने कुनै चासो नदिएको उनीहरुको गुनासो छ।

नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले जिल्लामा रहेका लघुवित्तहरुले निरक्षर र सोझा महिलाहरुलाई विभिन्न बहानामा ठग्ने, दुःख दिने र आपतमा पार्ने काम गरेको बताए। उनले आफुले भेरी नगरपालिका र नगलागाड नगरपालिका भित्रका धेरै महिलाहरु लघुवित्तका कारण अप्ठेरोमा परेको र लघुवित्तका कारण  महिलाहरुमा एक प्रकारको त्रास पैदा भएको समेत बताए।

कुनै आर्थिक आयश्रोत नभएका महलाहरुलाई समूहमा राखेर ऋण लिएर बेइमानी गर्नेहरुको अपराधको सजाया निर्दाेष र विपन्न महिलाहरुलाई गराउने लघुवित्तहरुको दादागिरी प्रति स्थानीय प्रशासन र सरकारले केहि नबोल्नु निकै दुःखको कुरा भएको पिडीत महिलाहरुको भनाइ छ। उता किसान माइक्रोफाइनान्स लघुवित्त संस्था जाजरकोटका शाखा प्रमुख रामचन्द्र नेपालीले  आफुहरुले  प्रक्रिया पुर्‍याउन लागेका कारण महिला सदस्यहरुको वचत दिन ढिलाइ भएको बताए।

भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले लघुवित्तहरुका कारण महिला र विपन्न परिवारले दुःख पाएको बारेमा आफुकहाँ पनि गुनासो आएको तर यसबारेमा राष्ट्र बैँकको क्षेत्राधिकार  भएकोले बोल्न नसकिएको बताए। उनले यस बारेमा सम्बन्धीत संस्थाहरुसँग बसेर छलफल गर्ने सोच बनाएको बताए।

यस्तै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले लघुवित्तहरुका बारेमा स्थानीयका धेरै गुनासाहरु आएको सत्य भएको भन्दै यसबारेमा आफुले सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने तयारी गरेको बताए। उनले वित्तिय संस्थाहरुको चेनअफ कमान्ड राष्ट्र बैँकसँग हुने भएकोले आफुले त्यता पनि समन्वय गरेर पिडित महिलाहरुको समस्या समाधानको लागि पहल गरिरहेको बताए।          
 

प्रकाशित: ६ पुस २०७६ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App