७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मेलम्चीको नयाँ भाखाः असारभित्रै काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथानमा हेडवस्क निर्माणको काम हुँदै। तस्बिरः ध्रुव/नागरिक

हेलम्बु– बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले आगामी असारभित्र उपत्ययकामा मेलम्चीको पानी पुर्‍याउने दाबी गरेको छ।

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा काम अगाडी बढाएपछि आयोजनाले असारलाई नयाँ भाका तय गरेको हो। बाँकी काम सम्पन्न गर्न गर्न गत असोजमा तेस्रो पटक चिनियाँ कम्पनी नियुक्त भएको हो। 

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सरकारले चालू आर्थिक वर्षभित्र उपत्यकामा मेलम्ची पानी पु¥याउने नीति लिएकाले त्यसै अनुसार अघि बढेको बताए।

‘जसरी पनि असारभित्रै मेलम्ची पानी उपत्यकामा पु¥याउँछौँ,’ शुक्रबार आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानमा आएका उनले भने। आयोजनामा धेरै विलम्ब भइसकेकाले असारको भाखा नाघ्न दिने पक्षमा आयोजना नरहेको उनले जिकिर गरे। 

ठेक्का सम्झौतापछि दुई महिनाअघि आयोजनास्थल छिरेको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ। दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरेर ठेकेदार कम्पनीले काम गरिरहेको छ।

आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले ठेक्का तोडेपछि बाँकी काम गर्ने जिम्मेवारी सिनोले पाएको हो। 

सरकार र सिनो हाइड्रोबीच गत असोजमा सुरुङको बाँकी काम गर्ने मुहानस्थलमा हेडवक्र्स बनाउने दुईटा ठेक्का सम्झौता भएको थियो। ठेक्का लगत्तै आयोजना क्षेत्र प्रवेश गरेको सिनोले नोभेम्बर दोस्रो साताबाट पूर्ण क्षमतामा काम अघि बढाइरहेको दाबी आयोजनाले गरेको छ।

ठेक्का सम्झौता अगाबै काम सके आयोजनाले ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने घोषणासमेत गरेको छ। ‘बोनस दिने घोषणाले ठेकेदार उत्साही छ,’ कार्यकारी निर्देशक खत्रीले भने। 

ठेकेदार कम्पनी अनुभवी, दक्ष रहनुका साथै काममा उत्साह देखाएकाले असारमा मेलम्ची पानी उपत्यका पुग्ने विश्वास आयोजनाले गरेको उनले जानकारी दिए। उनका अनुसार ठेक्का अवधिभित्र आयोजनाको काम सम्पन्न नभए ठेकेदारले जरिवाना तिर्ने प्रावधान सम्झौतामै उल्लेख छ। समयमै काम सके उसले कूल ठेक्का रकमको १० प्रतिशत रकम बोनस पाउने छ। 

सिनाले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना कफर्ड ड्यामको काम एकसाथ अघि बढाइरहेको छ भने सुरुङ ढलान (फिनिसिङ) पनि गरिरहेको छ।

कार्यकारी निर्देशक खत्रीका अनुसार सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर मात्र बाँकी छ। ढलान सकिएपछि सुरुङका अडिट टनेलका मुख टाल्ने र त्यहाँ राख्ने काम सुरु हुने छ। सुरुङमा २८ वटा गेट राख्नुपर्ने हुन्छ। सुरुङबाट हावा बाहिर ल्याउने संरचना पनि सुरुङकै ठेक्का प्याकेजमा हुनेछ। 

मुहनामा स्थायी संरचना हेडवक्र्स बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल पानी आपूर्ति गर्न कफर्ड ड्याम बनाउन लागिएको आयोजनाले जनाएको छ। अस्थायी संरचना यो ड्याम बन्न पाँच महिना लाग्ने उसले जनाएको छ। ‘कफर्ड ड्याम बनेपछि यसैमार्फत पानी आपूर्ति थाल्छौँ।

स्थायी संरचना पनि बनिरहन्छ,’ कार्यकारी निर्देशक खत्रीले भने। आयोजना सम्पन्न भएपछि पनि हेडवक्र्स सफा र मर्मत गर्नु पर्दा विकल्पमा कफर्ड ड्याम बनाउनु परेको उनले प्रष्ट्याए। ‘त्यस्तो बेलामा हेडवक्र्सको काम आउँछ। पानी आपूर्ति रोकिँदैन।’

सिनोले सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोड रुपैयाँमा हेडवक्र्सको ठेक्का पाएको हो। १५ महिनाभित्र दुबै काम सक्नुपर्ने सम्झौता छ। ठेकेदारलाई सामग्री आपूर्ति र अन्य साना काम गर्न मन्त्रीपरिषद्ले स्थानीय आठ उप–ठेकेदारलाई सिधै ठेक्का दिएको थियो। 

उपत्यकामा दैनिक १७ करोड पानी आपूर्ति गर्ने लक्ष्य राखेर मेलम्ची विकास बोर्ड गठन गरी सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो। साढे २६ मिटर सुरुङ खन्नु पर्नेमा झण्डै ६ किमी मात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरोले ठेक्का तोडेको थियो।

त्यसपछि बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी पनि टाट पल्टिएको भन्दै गत वर्षको पुसमा आयोजनास्थल छोडेर भागेको थियो। पछि ठेकेदार र सरकार दुबैले एकतर्फी ठेक्का तोडिएको घोषणा गरेका थिए। दुई ठेकेदारले सात वर्ष लगाएर २०७४ चैत अन्तिम साता सुरुङमार्ग छेडिएको थियो।

प्रकाशित: ४ पुस २०७६ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App