२ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बेलिब्रिजले खोल्यो खोटाङको पूर्वी नाका

खोटाङ र उदयपुरको सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजबाट ट्याक्टर पार गर्दै। तस्बिर सौजन्यः गंगा राई

खोटाङ – खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।

फोक्सिङटारमा बेलिब्रिज जडानको काम सम्पन्न भएपछि गत शुक्रबार साँझदेखि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सिधा र छोटो बाटो खुलेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए। हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाइको अस्थायी बेलिब्रिज जडान भएपछि खोटाङको सिमपानी, खोटाङबजार, मानेभञ्ज्याङ, पञ्चमीबाट समेत गाईघाटका लागि सिधा यातायात सेवा सुचारु भएको छ।

फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी सहर जान–आउन एकमात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग हुने गरेको छ। फोक्सिङटारको पक्की पुल निर्माणमा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ। ‘पक्की पुल निर्माण ढिलाइले विगत चार वर्षदेखि ६ महिनाका लागि बेलिब्रिज चलाइएको छ,’ सांसद भट्टराईले भने, ‘पुल निर्माण छिटो गर्न आवाज उठाइरहेकै छु। अर्को वर्ष अनुत्पादक खर्च हुने यस्तो बेलिब्रिज होइन, पक्की पुलमा हिँउद वर्षा नदी तर्न पाइयोस्।’

एक सय एक किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैं गाईघाट हुँदै धरान, बिराटनगर लगायत सहर जाने दोस्रो र छोटो बाटो खुलेको छ। अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङ यातायात प्रालिका अध्यक्ष गणेशविक्रम शाहीले बताए। फोक्सिङटारमा पक्की पुल निर्माण भए बा¥हैमास दिक्तेलबाट पूर्वी सहर आउजाउ गर्ने छोटो मार्ग खुल्ने छ।

पूर्वी सहर जोड्ने बाटोमा राखिएको बेलिब्रिजले सस्तो दरमा उपभोग्य सामान भित्रिने व्यवसायीको विश्वास छ। म्याद गुज्रेको वर्षौं बित्दासमेत पक्की पुलको पिलर ठड्याउने काम पनि पूरा हुन सकेको छैन। फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुँदै आएको थियो। फोक्सिङटारको बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्र र भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–ईन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडकबाट समेत सिधै गाईघाट जाने बाटो खुलाएको छ।

प्रकाशित: ३ पुस २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App