coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

इतिहासमै पहिलोपटक ‘ह्याच होलिडे’ घोषणा

बनेपा - नेपाली कुखुरापालनको इतिहासमै पहिलोपटक १० दिनका निम्ति ब्रोइलर ह्याच होलिडे (चल्ला नकोरल्ने) घोषणा भएको छ। मुलुकभरका ह्याचरी उद्यमीको शुक्रबार गैंडाकोटमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो। गत वर्षदेखि नै ब्रोइलर कुखुरापालनमा आएको समस्याले यस्तो अप्रिय निर्णय गर्न उद्यमीहरु बाध्य भएको नेपाल ह्याचरी उद्योग संघका महासचिव बलराम सञ्जेलको भनाइ छ। ‘मेसिनमा सेट भएका ह्याचिङ अण्डाहरु सबै नष्ट गर्ने निर्णय भएको छ। पुस ८ गतेसम्म देशभरका ह्याचरीले ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला निकाल्ने छैनन्,’ उनले भने। ह्याचरी उद्यमीले ‘ह्याच होलिडे’ अन्तर्गत १० दिनमा करिब ८० लाख ह्याचिङ (भाले लागेको) अण्डा नष्ट गर्नेछन्। यसबाट उद्यमीले करीब ३० करोड रुपैयाँ क्षति बेहोर्नुपर्ने हुन्छ।

संघका अनुसार ह्याचरीले विगतको मागलाई आधार बनाएर ब्रोइलर चल्ला निकालिरहे पनि चल्ला राख्ने किसानको संख्या घटिरहेको छ। सञ्जेल भन्छन्, ‘अर्कातिर दानाको कच्चा सामग्रीको भाउ अचाक्ली बढेर दाना महँगो छ। उधारोमा लगेको चल्लाको भुक्तानी आइरहेको छैन। हामीसँग भएका प्यारेन्ट (माउ कुखुरा)लाई समेत दाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं।’

संघमा साना र ठूला क्षमताका करिब अढाइ सय ह्याचरी आवद्ध छन्। आर्थिक वर्ष ०७५÷७६ मा ह्याचरीले नेपालसहित भारत, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, श्रीलंका, न्युजिल्यान्ड, अस्टे«लिया, फ्रान्स, जर्मनी, बेलायतबाट प्यारेन्ट स्टक किनेका छन्। यसमा कब–५००, कब–५०० म्याक्स, भेनकब–४००, रोस–३०८, इन्डियन रिभर मिट, हब्बर्ड, कलर ब्रोइलर र क्रोइलर छन्। ह्याचरीहरुले सो अवधिमा १९ लाख ६४ हजार सात सय ५५ गोटा प्यारेन्ट स्टक राखेका थिए। यिनै प्यारेन्ट स्टकले पारेको ह्याचिङ अण्डाबाट एकदिने ब्रोइलर चल्ला निक्लने गरेको छ।

कच्चा सामग्री अभावले दाना उद्योगलाई समस्या
कुखुरापालन व्यवसायको प्रमुख कडी मानिएको दाना उत्पादन गर्ने कच्चा पदार्थ मकै, भटमासको पीना र ढुटोलगायतमा हप्तैपिच्छे हुने मूल्यवृद्धिले समग्र पोल्ट्री क्षेत्रलाई प्रतिकूल असर पार्दै लगेको सम्बद्ध व्यवसायीको भनाइ छ। स्वदेशी उत्पादनले नधान्ने हुँदा दानाको प्रमुख कच्चा सामग्रीका लागि नेपाली दाना उद्यमी भारतलगायत तेस्रो मुलुकमा निर्भर छन्।

‘स्वदेशको मकै र भटमासले वर्षको ३० प्रतिशत हाराहारी माग धान्छ। बाँकीका लागि विदेशको भर नपरी सुख छैन। यही भएर कच्चा सामग्रीको भाउ बढेसँगै दानाको भाउ बढाउन उद्योगी पनि बाध्य छौं,’ हाल ब्राजिलमा रहेका नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले फोनमा भने।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१८ मा नेपालमा चार लाख ४५ हजार दुई सय ५३ मेट्रिक टन मकै आयात भएको छ। यसको प्रमुख हिस्सा भारतीय छ। मकै र भटमासको स्रोतमा सधैंभरि एउटै मुलुकको भर परिरहँदा ती मुलुकमा जलवायु परिवर्तन एवं अन्य कारणले उत्पादन कमी हुने बित्तिकै निर्यात रोकिने भएकाले यतिखेर दाना उद्यमीहरु वैकल्पिक स्रोतको खोजीमा लागेका छन्।

‘हामी यतिखेर ब्राजिलको राजधानी साओ पाउलोमा मकै र भटमासको उपलब्धता र नेपालमा आयात सम्भाव्यता अध्ययन गर्दैछौं। ब्राजिलको कम्पनीहरुले नेपालका दाना उद्योगलाई चाहिए जति भटमास र मकै दिन सकिने बताएबाट वैकल्पिक स्रोतको पनि व्यवस्था हुने भएको छ,’ पुरीले भने। अचेल पुरीसहित भ्याली पेलेट फिडका बाबुराजा रावल, सिद्धार्थ पेलेट फिडका राजन खत्री र कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्मका हेमराज बडाललगायतको टोली ब्राजिलमा छ।

ब्रोइलरको भाउ निरन्तर ओरालो
केही महिनादेखि सस्तो ब्रोइलर चल्ला पाए पनि महँगो दाना खुवाउनु पर्दा किसानको उत्पादन लागत अचाक्ली बढेको छ। तर बजारमा जिउँदो ब्रोइलरको भाउ निरन्तर घट्दो छ। यतिखेर प्रतिकिलो एक सय ७० रुपैयाँमा कोल्ड स्टोरहरुले किसानसँग ब्रोइलर किन्न थालेका छन्। यही भाउमा पनि जर्तीबापत भन्दै कोल्ड स्टोरहरुले पाँच रुपैयाँ घटाउने गरेका छन्।

‘एक किलो ब्रोइलरको उत्पादन लागत बिजुली, भूस र श्रमको खर्चबाहेक कम्तीमा दुई सय १० रुपैंया पर्न आउँछ। चिसो ह्वात्तै बढ्दा सिआरडीलगायत रोगले ब्रोइलरको मृत्यु दर पनि बढेको छ,’ पुराना पोल्ट्री कन्सल्ट्यान्टले भने, ‘उत्पादन लागतभन्दा किलोमा ४५ रुपैयाँ घाटा खाएर बेच्नुपर्ने अवस्था रहिरहने हो भने अब किसान टिक्न सक्दैनन्।’

प्रकाशित: १ पुस २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App