२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आयआर्जनका लागि बाख्रा वितरण

बाख्रा वितरण गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत। तस्बिर ः नागरिक

धादिङ - गजुरी गाउँपालिका वडा नं ७  कुपिण्डेका ६९ वर्षीय टेकबहादुर पराजुली हिँड्न सक्दैनन्। सानैमा बिरामी भएर थला परेपछि खुट्टा सुक्ने समस्या सुरु भयो। बिरामी भएर बिस्तारै खुट्टा सुक्न थालेपछि एकै थला परेका उनी श्रीमतीको हेरचाहमा बस्दै आइरहेका छन्। श्रीमतीसँगै बस्दै आइरहेका उनलाई आयआर्जनका लागि बाख्रा प्रदान गरिएको छ।

गजुरी गाउँपालिका वडा नं ८ बाँकेचौरका दिपा भुजेललाई पनि आयआर्जनका लागि बाख्रा प्रदान गरिएको छ। दुई वर्षअघि श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आइरहेका उनलाई दुईवटा बाख्रा प्रदान गरिएको छ। खेती किसानी गर्दै एक्लो ज्यान पाल्दै आइरहेकी उनी बाख्रा पाएपछि खुसी छिन्। ‘आम्दानीको स्रोत नहुदाँ बिहान बेलुका छाक टार्न मुस्किल पर्छ,’ उनले भनिन्, ‘आयआर्जनका लागि बाख्रा पाएको छु, यसको हेरचाहले आम्दानी लिनेछु।’

श्रीमानको निधन भएपछि भुजेललाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन। घरको जिम्मेवारी त थियो नै समाजको अवहेलना पनि सहदै आइरहेकी थिइन्। उनको बिहान–बेलुकाको छाक टार्ने मेलो कृषि मजदुरी नै हो। यो बाहेक उनीसँग आम्दानीको अन्य स्रोत भनेको सरकारले दिएको एकल महिला भत्ता नै हो। आफूलाई प्रदान गरिएका बाख्राबाट व्यावसायिक बनी आम्दानी बढाउने उनले बताइन्।

गजुरी गाउँपालिकाभरि ९४ जनालाई बिहानी परियोजनाले निःशुल्क रुपमा बाख्रा वितरण गरिएको छ। २० जना अपांगता भएका परिवार, १७ जना एकल महिला, १७ जना जेष्ठ नागरिक, २९ घरपरिवार खाद्य असुरक्षित घर परिवार र एक घर विस्थापित परिवार गरी ९४ घरलाई दुई–दुईवटाका दरले बाख्रा वितरण गरिएको बिहानी परियोजनाका सामुदायिक विकास सहजकर्ता रकेस्ना बस्नेतले बताइन्।

यस भेगका स्थानीयको मुख्य पेसा नै खाद्यान्न तथा तरकारी खेती नै हुन्। बर्सेनि तरकारी खेती गरेर आम्दानी लिने गरेका छन्। अहिले व्यावसायिक रुपमा पशुपालन पनि गरिरहेका छन्। पशुपालनलाई प्रोत्साहन स्वरुपमा बाख्रा पाएको गजुरी गाउँपालिका वडा नं ४ का पम्फा चेपाङले बताइन्। पुरानो ढर्राबाट अब पशुपालन गरेर हातमुख जोर्न कठिन हुने भएकाले पशुपालन पनि आधुनिक र व्यावसायिकतातर्फ ढल्कनुपर्छ, जसले जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

अपांगता भएकी छोरीलाई स्याहार्दै आइरहेको गजुरी गाउँपालिका वडा नं ६ स्यामेडाँडाका राममाया चेपाङले पनि दुईवटा बाख्रा पाएकी छन्। डेढ वर्षअघि श्रीमानको मृत्यु भएपछि आफैले अपांगता भएकी छोरीको स्याहार गर्दै आइरहेकी उनी बाख्रा पाएपछि केही राहत मिलेको बताइन्। घरको आर्थिक अवस्था कमजोर हुने र जीवनयापन गर्न टेवा मिलेको उनले बताइन्।

गाउँपालिकाले पनि किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै बाख्रा, ट्याक्टर, बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। परम्परागत पशुपालनबाट जीविकोपार्जन समेत गर्न कठिनाइ भएपछि व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न बाख्रापालन र बजारीकरणबारे पनि तालिम दिइएको हो।

आर्थिक अभावकै कारण समाजमा हेलाहोचो हुन नपरोस् भनेर बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। ‘अपांगता भएका व्यक्ति, एकल महिला, न्यून आय तथा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘आर्थिक रूपमा आत्मनिर्भर भए महिलामाथि हुने हिंसा पनि कम हुने देखिन्छ।’

प्रकाशित: ३० मंसिर २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App