९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतसहितका तेस्रो बजारमा नगएपछि अलैंची मूल्य निरन्तर ओरालो

ताप्लेजुङ- तेस्रो बजार निर्भर अलैंची त्यो बजारमा पुग्नै नपाएपछि व्यवसायीको गोदाममै थन्किएको छ । बजार पुग्न नपाएका कारण मूल्य भने निरन्तर ओरालो लाग्दै गएको छ ।

सोमबार पूर्वी पहाडी जिल्लामा अलैंचीको मूल्य प्रतिमन (४० किलोग्राम) २३ हजार रुपैयाँमा कारोबार भएको छ । यो तीन साताअघि अलैंचीको मूल्य प्रतिमन २५ रुपैयाँ रहेको थियो । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले तेस्रो बजारमा गएर मात्र मूल्य तोकिने चिज व्यवसायीको साथमै भण्डारण भएका कारण बजार मूल्य ओरालो लागेको जानकारी दिए । ‘बजारमा जानै पाएको छैन, नेपाली व्यवसायीकै गोदाममा भएका कारण मूल्य चलायमान हुन सकेन,’ बरालले भने ।

व्यवसायीका अनुसार अलैंचीको ठूलो हिस्सा भारतीय बजार हुँदै तेस्रो बजारसम्म पुग्ने गर्छ । तर, पछिल्लो समय भारतीय बजारमा अलैंची पुग्न पाएको छैन । नेपालमा यसको खपत कम मात्र हुने र बिक्रीका लागि भने भारतसहितका अन्य तेस्रो बजारमा पुग्ने अलैंची भारतीय बजारसम्म नपुगेका कारण मूल्य घटेको व्यवसायीको भनाइ छ । अलैंची व्यवसायी खड्गबहादुर मोक्तानले साना व्यापारीका गोदाममका केही र ठूला व्यवसायीकहाँ अलैंचीको ठूलो हिस्सा थन्किएर बसेको जानकारी दिए ।

तेस्रो बजार पुग्न नपाएका कारण यसको मूल्यमा समेत नकारात्मक प्रभाव परेको उनको निश्कर्ष छ । ‘माग कम भएपछि मूल्य पनि कम भएजस्तो देखिन्छ,’ मोक्तानले भने । भारतीय बजारमार्फत तेस्रो बजारमा पुग्ने अलैंची खरिदका लागि भारतीय व्यवसायी उत्साहित नहुँदा नेपाली उत्पादनको ठूलो परिमाण नेपाली व्यवसायीको गोदाममै रहेको मोक्तानले अनुमान लगाए । नेपाली बजारमा ज्यादै कम मात्र खपत हुने भएकाले आन्तरिक किनबेचमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले मूल्य समायोजनमा असर भइरहेको स्थानीय व्यवसायीको भनाइ छ ।

अध्ययनअनुसार पछिल्लो समय भारतका धेरै स्थानमा अलैंची खेती बढाइएको छ । झन्डै भारतीय बजार धान्ने गरी आफैं अलैंची फलाउन थालेपछि नेपाली अलैंची भारतीय व्यवसायीको कम प्राथमिकतामा परेर पनि मूल्यमा नकारात्मक प्रभाव सिर्जना भएको हुनसक्ने स्थानीय व्यवसायीले निश्कर्ष निकालेका छन् । मूल्यको उच्च बिन्दु निर्धारण हुने समय मंसिर–पुस अवधिमै अलैंचीको मूल्य खस्किएपछि किसान तथा व्यवसायीले अलैंचीको भविष्यप्रति चिन्ता जनाएका छन् । ‘स्थिति दिनहुँ चिन्ताजनक बन्दै गयो,’ फुङ्लिङका पुराना अलैंची व्यवसायी पुष्पलाल ओझाले भने ।

उत्पादनको मोटो परिमाण भने किसानले व्यवसायीका हातमा सुम्पिसकेका छन् । त्यसकारण मूल्य ओरालो लाग्दाको नकारात्मक नतिजा भने बढी मात्रामा व्यवसायीका हातमा पुग्ने छ । किसानलाई भने तेस्रो बजार निर्भर नेपाली उत्पादनको अलैंचीको बजार पुनस्र्थापित गर्न अब उच्च तहबाट थालनी नगरे आगामी उत्पादनदेखि अलैंचीको भविष्य सकिने चिन्ता छ । मैवाखोला गाउँपालिकाको फाकुम्बाका अलैंची उत्पादक गोपाल थोप्राले धान, गहुँजस्ता अन्य बालीजस्तै अलैंचीको समर्थन मूल्य कायम राख्न तथा यसको बजार प्रभाव फराकिलो बनाउने प्रयत्नका लागि कूटनीतिक पहल आवश्यक भएको बताउँछन् । भन्छन्, ‘यस्तै अवस्था कायम रहे अलैंचीले धानेको जीवन उच्च संकटमा पर्ने निश्चित छ ।’

प्रकाशित: २५ मंसिर २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App