७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

दुई सार्क देशसँग नाफाको व्यापार

काठमाडौं- नेपालले संसारका एक सय २९ देशसँग आयात–निर्यात व्यापार गर्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य मुलुक सबैसँग नेपालको आयात–निर्यात व्यापार छ । तर नाफा भने माल्दिभ्स र अफगानिस्तानसँग मात्र छ । सार्कका बाँकी ६ सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटा छ । 

व्यापार गर्ने सबै मुलुकसँगको व्यापारमा दुई दर्जनसँग नाफा रहेको एक सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्यांक अनुसार दक्षिण एसियाली मुलुक माल्दिभ्स र अफगानिस्तान सहितका २४ देशसँगको व्यापार नाफामा छ । 

सबैभन्दा बढी नाफा डेनमार्कसँग छ । नेपाल–डेनमार्क व्यापारमा पाँच करोड ५३ लाख नाफा छ । नर्वेसँग दुई करोड ६४ लाख, माल्दिभ्ससँग दुई करोड १५ लाख, क्रोसियासँग एक करोड १० लाख र ग्रिससँग ९२ लाख नाफा छ । बाँकी देशसँग सामान्य दोहोरो व्यापार देखिए पनि पूर्वी टिमोर, काजाकस्तान लगायत आधा दर्जन देशबाट आयात शून्य छ ।

वैदेशिक व्यापारमा न्यून निर्यातको अवस्थालाई चिर्दै सरकारात्मक निर्यातको संकेत देखिन थालेको छ । विभागको तथ्यांक अनुसार गत वर्षको सुरुको चार महिनामा २९ अर्ब २८ करोड १७ लाख बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको उक्त अवधिमा २४ प्रतिशतले बढेर ३६ अर्ब २७ करोड ९० लाख पुगेको छ । 

यसपालि निर्यातको अवस्था सुरुको महिनादेखि नै सकारात्मक छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा २७.६८ प्रतिशत, दोस्रो महिनासम्ममा २५.८७ र तेस्रो महिनासम्ममा १४.४१ प्रतिशतले निर्यात बढेको छ ।

निर्यातको तथ्यांक हेर्दा भारतमा मात्रै २४ अर्ब २६ करोड ३७ लाखको वस्तु निर्यात देखिन्छ, जुन कुल निर्यातको ६७ प्रतिशत हो । त्यस्तै ११ प्रतिशत वस्तु अमेरिका, ३.२ प्रतिशत जर्मनी, २.७६ प्रतिशत बेलायत र २.२३ प्रतिशत टर्की निर्यात भएको छ । छिमेकी मुलुक चीनमा जम्मा दुई प्रतिशत वस्तु निर्यात भएको देखिन्छ । यसबाहेक अन्य ५६ मुलुकमा निकै कम मात्र निर्यात भएको तथ्यांक छ । व्यापारिक सम्बन्ध भएका २८ देशमा यो अवधिमा निर्यात शून्य छ ।

यो अवधिमा सबैभन्दा बढी प्रसोधित पाम तेल निर्यात भएको छ । यसबाट आठ अर्ब ३६ करोड रुपैयाँ स्वदेश भित्रेको छ । त्यसैगरी, दुई अर्ब ५७ करोडको कार्पेट, दुई अर्ब २८ करोडको सोयाबिन तेल, एक अर्ब ८७ करोडको चिया र एक अर्ब ५४ करोडको अलैंची निर्यात भएको तथ्यांक छ । त्यस्तै, तयारी पोसाक, ऊनी गलैंचा, खाद्यान्न, भाँडाकुँडा लगायत सामग्री पनि निर्यात भएको छ । 

तेल, चिया लगायत खाद्यान्न भारत निर्यात भएको छ । दोहोरो व्यापार सुधारको प्रयास भएको भनिएको छिमेकी मुलुक चीनमा गत वर्षको यो अवधिमा भन्दा पनि ६ प्रतिशतले निर्यात कम देखिन्छ । बरु चीनबाट गत वर्षभन्दा ११ प्रतिशतले आयात बढेको छ । चीनमा हस्तकलाका सामग्री बढी निर्यात हुन्छ ।

गत आर्थिक वर्षको पहिलो चौमासको तुलनामा आयात कम र निर्यात बढ्न जाँदा यस अवधिको व्यापार घाटा ६.८ प्रतिशत जतिले घटेको छ । यो अवधिमा कुल वैदेशिक व्यापारको संरचनामा निर्यातको ७.५ र आयातको ९२.८ प्रतिशत योगदान छ । यो अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतसँगको व्यापार घाटाको आकार दुई खर्ब ४८ अर्ब ३० करोड छ । त्यस्तै चीनसँग ७९ अर्ब ४८ करोड, इन्डोनेसियासँग १३ अर्ब ४६ करोड, युएईसँग ५० अर्ब र क्यानडासँग ४८ अर्ब व्यापार घाटा छ ।

यो अवधिमा चार खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसमा सबैभन्दा बढी २९ अर्ब २४ करोडको डिजेल आयात भएको छ । त्यस्तै, १२ अर्ब ७० करोडको अर्धतयारी फलाम, १२ अर्ब ३७ करोडको फलाम, आठ अर्ब ९० करोडको एलपी ग्याँस, आठ अर्ब ६२ करोडको टेलिफोन सर्कुलेसन सामग्री आयात भएको छ । त्यस्तै, इन्जिन आयल, मोटर पार्ट, विभिन्न खाद्यान्न तथा कपडाको आयात पनि उच्च छ । 

चार महिनामा बढी आयात–निर्यात भएका प्रमुख पाँच मुलुक

भारत २ खर्ब ७२ अर्ब ५७ लाख भारत २४ अर्ब २६ करोड ३७ लाख

चीन ८० अर्व १८ करोड ५८ लाख अमेरिका ३ अर्ब ८६ करोड ६१ लाख

इन्डोनेसिया १३ अर्ब ५८ करोड ६ लाख जर्मनी १ अर्ब १६ करोड

अमेरिका ६ अर्ब २९ करोड ९ लाख बेलायत १ अर्ब

क्यानडा ५ अर्ब ७ करोड टर्की ८१ करोड

प्रकाशित: १५ मंसिर २०७६ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App