१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टनेल प्रविधिमा चाइनिज इँटा उत्पादन सुरु

काठमाडौं - टनेल क्लिन प्रविधिमा पोली चाइनिज इँटाको उत्पादन सुरु गरिएको छ। गोर्खा इको रेड ब्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु गरेको हो। बनेपाको बासडोलमा उद्योग राखी उत्पादन थालेको हो। गोर्खा चाइनिज इँटाको आकार साढे नौ इन्च लम्बाइ, साढे चार इन्च चौडाइ र सवा दुई इन्च मोटाइको छ। यो इँटा तुलनात्मक रुपमा बढी मजबुत, सबैतिर सिधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इँटा बनाउँदा काँचो इटालाई घाममा नसुकाई ड्राइ टनेलमा पठाएर सुकाइन्छ। यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इँटा पोल्ने गरिन्छ। फायरिङ टनेलमा भएको तातो हावालाई ड्राई टनेलमा लगी काँचो इँटा सुकाउने गरिन्छ। यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ। थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इँटा पोल्ने गरिन्छ। यसले गर्दा इँटा एकनासले पाकेर निस्किने कम्पनीको दाबी छ।

उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्यून मात्रामा मात्रै धुवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट गोर्खा चाइनिज इँटा उत्पादन गरिएको हो। यो प्रविधिबाट इँटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन। जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँचो इँटा बनाउन सकिन्छ।

इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एसियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ। यद्यपि युरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको जनाइएको छ। यो प्रविधिमा सुरुआती माटो तथा नरम ढुंगा प्रशोधन (मुछ्ने) देखि लिएर काँचो इँटा उत्पादन तथा पोल्नेलगायतका सबै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेसिनबाटै हुन्छ।

पोलेर तयार भएको रातो इँटा मेसिनबाटै बाहिरसम्म निकालिन्छ। यसरी काँचो इँटा बन्ने क्रमदेखि पोलेको इँटा तयार हुँदासम्मको सबै प्रक्रिया मेसिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इँटाको चारवटै सतह चिल्लो हुन्छ। लगानीकर्तामध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो प्रविधिबाट इँटा उत्पादन गर्दा कोइलाको मात्रा आवश्यकता अनुसार माटो तथा नरम ढुंगामै पहिला नै मिसाएर काँचो इँटा बनाउने गरिन्छ। उत्पादित इँटा बजारमा आइसकेको उनले जनाए। आफ्नो उत्पादन देशभर बिक्री–वितरण सुरु गर्ने योजना रहेको उनले सुनाए। गोर्खा इको प्यानल र गोर्खा प्रिकास्ट एन्ड विन्डोर नामका निर्माण सामग्री उद्योगीबाटै यो कम्पनी सञ्चालनमा ल्याइएको छ।


उद्योगको दैनिक उत्पादन क्षमता ५० हजार गोटा रहेको बताइएको छ। यो प्रविधिबाट इँटा उत्पादनको काम वर्षैभरी हुने गर्छ। सामान्य इँटा भट्टामा वर्षमा ६ महिनामात्रै इँटा उत्पादनको काम हुन्छ। ‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले यो प्रविधि ऊर्जा किफायती पनि हुन्छ। काँचो इँटा उत्पादन प्रक्रिया बन्द ट्रसभित्र हुने र पोल्ने प्रक्रिया पनि टनेलभित्रै हुने भएकाले इँटा उत्पादनको क्रममा धुलो सिर्जना हुने सम्भावना शून्य हुन्छ।

भविष्यमा यो चाइनिज इँटा फ्याक्ट्रीबाट उत्पादन भएपछि मेसिनबाटै एक हजार गोटाको बन्डल–बन्डलमा प्याकेजिङ भएर उपभोक्तासम्म पु¥याउनले लक्ष्य राखिएको  छ। उत्पादित इँटा तुलनात्मक रुपमा सस्तो मूल्यमा बजार पठाउने योजना राखेको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App