१५ चैत्र २०८० बिहीबार
अर्थ

महोत्सवमा होटलको ‘मेन्यु’ अनिवार्य

इलाम – पर्यटकीय नगरी सूर्याेदय नगरपालिकामा आयोजना गर्न लागिएको सूर्याेदय पर्यटन महोत्सवमा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ। आएका पर्यटकलाई कुनै होटलले बढी मूल्य लिएर दुःख नदिऊन् भन्ने उद्देश्यले नगरका सबै होटलले मेन्यु राख्नुपर्ने भएको हो।

सूर्याेदय नगरपालिकाले होटलहरूमा खानाको परिकार र त्यसअनुसारको मूल्य पर्यटकले देखिनेगरी राख्न व्यवसायीलाई अनुरोध पनि गरेको छ। व्यवसायीहरू पनि होटलको सुविधाअनुसार खानाका परिकारको मेन्यु राख्न सहमत भएका छन्। नगरले नगरपालिकाभर चल्ने सवारी साधनलाई भाडादर स्पष्ट देखिनेगरी राख्न भनेको छ। महोत्सवमा आएका पर्यटकलाई भाडामा द्विविधा नहुने र नठगिने व्यवस्था मिलाउने नगरले जनाएको छ।

सूर्याेदय नगरमा आउँदो १४ देखि १८ गतेसम्म सूर्याेदय पर्यटन महोत्सव आयोजना गरिँदैछ। देशभरका सय पर्यटकीय गन्तव्यमा परेको कन्याम–फिक्कल अन्तु सर्किटसहित नगरका विभिन्न स्थानलाई समेटेर महोत्सव आयोजना गरिँदैछ। त्यस अवसरमा पशुपतिनगर, पञ्चकन्या, गोर्खेलगायत पर्यटकीयस्थलमा पनि विविध कार्यक्रम आयोजना गरिने नगरले जनाएको छ।

पाँच लाख पर्यटक भिœयाउने लक्ष्यसहित आयोजना गर्न लागिएको महोत्सव पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि आयोजना गर्न लागिएको हो। नगर उपप्रमुख तथा महोत्सव आयोजक मूल समारोह समिति संयोजक दुर्गादेवी भट्टराईले महोत्सवको तयारी तीव्र पारिएको बताइन्। ‘क्षेत्रगत रूपमा गठन भएका ६ उपसमितिको जिम्मेवारी र बजेट बाँटफाँट गरिएको छ,’ उनले भनिन्, ‘महोत्सवका पाँचै दिन श्रीअन्तु, पञ्चकन्या, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कलमा विभिन्न कार्यक्रम तय गरिएको छ।’

मंसिर १४ गते बिहान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा सूर्य पूजा गरेपछि महोत्सव उद्घाटन हुनेछ। सूर्याेदय, सूर्यास्त र हिमशृंखला अवलोकनका लागि प्रख्यात अन्तुडाँडामा विभिन्न धर्म, संस्कृति र परम्पराअनुसार सूर्यको पूजा गरिने नगरले जनाएको छ। ‘अन्तुडाँडालाई सूर्याेदयका लागि प्रचार गर्न कार्यक्रमको उद्घाटन नै सूर्यको पूजाबाट गर्न लागिएको हो,’ संयोजक भट्टराईले भनिन्, ‘महोत्सवको सबै कार्यक्रम औपचारिकभन्दा अनौपचारिक नै बढी छन्।’

महोत्सव आयोजनाका लागि ६ वटै स्थानमा उपसमितिसमेत गठन भइ कार्यविभाजन गरिएको छ। नगरपालिकाका अनुसार श्रीअन्तुमा महोत्सव उद्घाटन गरिएपछि पञ्चकन्यामा औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ। अन्तुमा महोत्सव अवधिभर फुड र फूल स्टल, अन्तुपोखरीमा फिसिङ, देवघाट कविता प्रतियोगिता, लेप्चा संग्रहालय अवलोकन, सांस्कृतिक कार्यक्रम, शान्तिबजार खेलकुद र जुठी प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ।

पञ्चकन्यामा औपचारिक उद्घाटन र अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा विविध प्रतियोगिता सञ्चालन तथा परम्परागत वस्तुको अवलोकन कार्यक्रम गरिनेछ। पशुपतिनगरमा फूल स्टल, जातीय खाना प्रदर्शनी, सस्तो बजार, सांस्कृतिक कार्यक्रम र आँखा शिविर राखिएको छ। गोर्खेमा सिंहदेवी मन्दिर पूजा धार्मिक मेला, रेडपान्डा ट्रेल, कृष्ण मन्दिर, तीनतल्ले झरना, नेपालको दोस्रो जलविद्युत् आयोजना, करिप्पाको ध्यानस्थल, गोर्खे, मानेभञ्ज्याङ रेडपान्डा अवलोकन र सांस्कृतिक कार्यक्रम राखिएको छ। कन्याममा स्थानीय गुम्बा अवलोकन, डम्फु साँझ, देउराली हाइक, चंगा चेट, सुन्दर घोडा प्रतियोगिता, रक्तदान र सांस्कृतिक कार्यक्रम गरिँदैछ। फिक्कल क्षेत्रमा टी टेस्टिङ तथा लघु उद्यम प्रदर्शनीस्थल, सांस्कृतिक कार्यक्रम, नाटक र समापन कार्यक्रम गरिने नगरले जनाएको छ।

महोत्सवलाई कुनै मेलाजस्तो नभई वास्तविक रूपमा महोत्सवजस्तो बनाउने नगरको लक्ष्य छ। जिल्लामा आयोजना गरिने मेला र महोत्सवहरूमा भारतीय बजारहरूबाट व्यवसायी ल्याएर विभिन्न खेल खेलाउँदै स्थानीयको लाखौं रकम खर्च गराउने चलन छ। तर, सूर्याेदयले यो प्रवृत्तिलाई अन्त्य गर्ने जनाएको छ। ‘बाहिरबाट रोटेपिङ र अन्य खेल खेलाउने व्यवसायी ल्याएर स्थानीयबाट रकम कुम्ल्याएर जाने प्रवृत्ति यो महोत्सवमा हुँदैन,’ उपप्रमुख भट्टराईले भनिन्, ‘सूर्याेदय नगर र इलाम जिल्लाभित्र जे–जति हाम्रा उत्पादन छन्, तिनको प्रचार र बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यहाँका मानिससँग रहेको पैसा बाहिरका मानिसले लैजाऊन् भन्ने हाम्रो ध्येय होइन।’

महोत्सवका लागि करिब ४१ लाख रुपैयाँ खर्च अनुमान गरिएपनि नगरले २५ लाख रुपैयाँमात्र विनियोजन गरेको छ। बाँकी रकम प्रदेश सरकार वा अन्य स्रोतबाट जुटाउने पहल भइरहेको नगरले जनाएको छ। ‘स्थानीय पर्यटकीयस्थलको पहिचान र प्रचार गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा स्थानीय संस्कार, संस्कृतिको संरक्षण गर्ने महोत्सवको लक्ष्य हो,’ उनले भनिन्, ‘आउँदो पर्यटन वर्ष सन् २०२० मा सूर्याेदय नगरपालिकामा बढीभन्दा बढी पर्यटक भिœयाउन प्रचारकै लागि महोत्सव आयोजना गरिएको हो।’

सूर्याेदय नगरलाई १ नम्बर प्रदेशसभाले यसअघि नै ‘पर्यटकीय नगरी’ घोषणा गरिसकेको छ। पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गतवर्ष देशका सय गन्तव्य पहिचान गर्दा सूर्याेदय नगरको कन्याम–फिक्कल–अन्तु सर्किट पनि परेको हो। स्थानीय लोपोन्मुखसहितका जातिहरूको सांस्कृतिक झाँकी, वेशभूषा, रीति, चालचलन साथै स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुको पनि त्यसै अवसरमा परिचय गराउने महोत्सवको कार्यक्रम छ।

सूर्याेदय नगरपालिका नेपालमै लोपोन्मुख लेप्चा जातिको बसोबास धेरै संख्यामा रहेको स्थान हो। चियाबारीले ढाकिएको सूर्याेदय नगरमा दूधबाट ललीपल, बम्बइसन, चीज, छुर्पीलगायतका परिकार ठूलो परिमाणमा उत्पादन हुन्छन्। इलाम आउने पर्यटकले यस्ता उत्पादन कोसेलीका रूपमा किनेर लैजाने गरेका छन्। पर्यटकलाई होटल, होम–स्टेलगायतमा राख्ने र खुवाउने व्यवस्था गरिएको छ। महोत्सवमा आउने पर्यटकले नगरपालिकाका कार्यालयको टोल–फ्रि नम्बरमा सम्पर्क गरी आफू खाने–बस्ने होटल बुक गर्न सक्ने व्यवस्था गरिएको सूर्याेदय होटल एसोसिएसनका युवराज प्रधानले बताए। इलामको सूर्याेदय नगरपालिकामा रहेको पर्यटकीय कन्याम चियाबारी। सूर्याेदय नगरमा मंसिर १४ देखि १८ सम्म महोत्सव आयोजना गरिँदैछ।

प्रकाशित: १२ मंसिर २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App