७ वैशाख २०८१ शुक्रबार
अर्थ

२८ करोड लगानीमा चितवन पूर्ण विद्युतीकरण

चितवन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

चितवनका सबै घरमा विद्युतीकरण गर्न मन्त्रालयले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट चितवनका तीनवटा विद्युत् वितरण केन्द्रमार्फत काम अघि बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रमार्फत आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा विद्युतीकरण गर्न लागेका हुन्। त्यसका लागि भरतपुर वितरण केन्द्रमा १२ करोड तथा टाँडी र चनौली वितरण केन्द्रमा आठ–आठ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्राप्त बजेटमा काम गर्नका लागि टेन्डर आह्वान प्रक्रिया अघि बढाइसकिएको भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए। जिल्लामा करिब ९० प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको र नपुगेका ठाउँमा पु¥याउने काम थालनी भएको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले मात्र ८४ हजार ग्राहक संख्यालाई सुविधा दिइरहेकाकाले जिल्लामा तीनवटा वितरण केन्द्र सञ्चालनको व्यवस्था हालै गरिएको हो। भरतपुर वितरण केन्द्रले हेर्दै आएको महानगरपालिकाका केही भाग र माडी नगरपालिकालाई अहिले चनौली वितरण केन्द्रमार्फत हेर्ने व्यवस्था गरिएको छ। भरतपुर केन्द्रले भरतपुर महानगरपालिकाका आधाजसो भाग र इच्छाकामना गाउँपालिकालाई हेर्दै आएको छ। टाँडी वितरण केन्द्रले रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका स्थानहरु हेर्ने गरेको छ।

भरतपुरमा ५६ हजार र चनौलीमा ३२ हजार ग्राहक रहेका छन्। इच्छाकामना गाउँपालिकाको वडा नं १ मा अहिलेसम्म विद्युत् पुगेको छैन। माडीमा गत वर्ष नै भरतपुर वितरण केन्द्रले विद्युतीकरणको काम अघि बढाएको थियो। सोही अनुसार अहिले काम भइरहेको छ। त्यसबाट माडीका करिब ९० प्रतिशत घरधुरीमा विद्युतीकरण हुने भरतपुर केन्द्रका प्रमुख महतो बताउँछन्। ‘वडामा नै विद्युत् नपुगेको भनेको इच्छाकामनाको एउटा वडा हो,’ उनले भने, ‘पहाडी क्षेत्रमा अलि समस्या हो, अन्यत्र त्यस्तो अवस्था छैन, यो वर्षभित्र प्राप्त बजेटबाट काम पूरा हुन्छ।’

मन्त्रालयले आउने तीन वर्षभित्र देशका सबै घरमा विद्युत् सुविधा दिइसक्ने लक्ष्य राखेको छ। चितवनमा प्रयोग हुने विद्युत्को लोड व्यवस्थापन गर्न पूर्वी चितवनको पर्सामा १३२ केभीको सब–स्टेसन निर्माण सुरु गरिएको छ। भरतपुरको देवनगरमा ३३ केभी क्षमताको सब–स्टेसन निर्माण गर्ने काम अघि बढाइँदैछ।

महानगरमा स्मार्ट स्ट्रिट लाइट
भरतपुर महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गरेर नमुना बनाउन परियोजना सञ्चालन गरिँदैछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडक बत्तीको व्यवस्थापनमा देशकै नमुना स्थान बनाउन भरतपुर महानगरपालिकालाई छनोट गरेको हो।

महानगरका सडकलाई उज्यालो बनाउन मन्त्रालयले यस वर्ष २० करोड बजेट विनियोजन गरेको छ। महानगरमा सञ्चालन गरिने यो परियोजना देशकै नमुना र उदाहरणीय बन्ने मेयर रेणु दाहालले जानकारी दिइन्।

अध्यारो हुँदै गर्दा बल्दै जाने र उज्यालो हुँदा निभ्दै जाने स्मार्ट लाइट भरतपुरका सडकमा जडान गरिने उनले बताइन्। यसले भरतपुर आकासबाट हेर्दा पनि रातमा आकर्षक देखिने उनको भनाइ छ। प्राप्त बजेटबाट के कति लाइट जडान गरिने भन्नेबारे विस्तृत अध्ययन अघि बढाइने तयारी गरिएको उनले जानकारी दिइन्।

महानगरलाई स्मार्ट सहरका रुपमा अघि बढाउन महानगरमा सञ्चालित काममध्ये यो पनि एक रहेको उनले बताइन्। यसले महानगरलाई देशकै नमुना सहरका रुपमा समेत चिनाउने उनको भनाइ छ।

प्रकाशित: १० मंसिर २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App