१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेरुजुले थलिँदै स्थानीय सरकार

पाँचथर – यहाँका आठ स्थानीय सरकार बेरुजुले थलिँदै गएका छन्। हरेक वर्ष बेरुजु बढ्ने क्रम रोकिएको छैन। महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा हालसम्म ३० करोड ८६ लाख ३५ हजार चार सय २० रुपैयाँ बेरुजु देखिएको छ।

यो मध्ये आर्थिक वर्ष ०७५/७६ मा २४ करोड ७५ लाख ८० हजार पाँच सय ४८ बेरुजु देखिएको छ। बाँकी ६ करोड १० लाख ५४ हजार आठ सय २५ रुपैयाँ बेरुजु विगत वर्षबाट सरेर आएको हो।

आव ०७५/७६ को एक करोड १३ लाख ३९ हजार पाँच सय ५३ रुपैयाँ असुल गर्नैपर्ने महालेखाको प्रतिवदेनमा उल्लेख छ। गलत रुपमा प्रयोग गरिएको, दोहोरो सुविधा, बिल भरपाई नभएको लगायत कारण उक्त रकम असुल गर्नुपर्ने देखिएको छ। यो आवमा जिल्लामा तीन अर्ब ४१ करोड १४ लाख १९ हजार पाँच सय ८२ कुल बजेटमध्ये २४ करोड ७५ लाख ८० हजार पाँच सय ४८ बेरुजु देखिएको हो। यो मध्ये १९ करोड ८२ लाख ९० हजार एक सय ७६ रुपैयाँ नियमित, तीन करोड ७९ लाख ५० हजार आठ सय १९ रुपैयाँ पेस्की बेरुजु देखिन्छ।

जिल्लामा समग्र हिसाबले यो आवको कुल बजेटको ७.२६ प्रतिशत बेरुजु देखिएको हो। आठै तहको महालेखाको प्रतिवेदन हेर्दा सिधैं खरिद, दोहोरो सुविधा, गैरसरकारी सस्था सिधै कार्यक्रम दिएको, दोहोरो योजना भएको जस्ता टिप्पणी रहेका छन्। सामाजिक सुरक्षा भत्ता, मेसिनको प्रयोग लगायत विषयसमेत छन्।

जिल्लामा सबैभन्दा धेरै बेरुजु फिदिम नगरपालिकामा रहेको छ। यहाँ सात करोड १५ लाख १८ हजार ६ सय १८ बेरुजु रहेको छ। यो मध्ये आव ०७५/७६ मा पाँच करोड ५१ लाख २९ हजार ४० रुपैयाँ बेरुजु छ। पछिल्लो वर्षमा ३३ लाख ७० हजार चार सय ७० रुपैयाँ असुल गर्नुपर्ने बेरुजु नगरपालिकासँग रहेको छ। यो आवमा फिदिम नगरपालिकाले ७८ करोड २२ लाख ३४ हजार दुई सय २९ बजेट कार्यान्वयन गरेको थियो। ३३ लाख ७० हजार चार सय ७० बेरुजु रकम असुल गर्नुपर्ने रहेको छ।

मिक्लाजुङ गाउँपालिकाको जम्मा बेरुजु दुई करोड ६० लाख ५७ हजार चार सय चार रुपैयाँ रहेको छ। यो मध्ये आव ०७५/७६ मा दुई करोड १३ लाख एक हजार २३ रुपैयाँ बेरुजु रहेको छ। यो आर्थिक वर्षमा कार्यान्वयन भएको ४८ करोड १४ लाख दुई सय ४२ बजेटमध्ये यति बेरुजु देखिएको छ। यो गाउँपालिकाको १९ लाख ८८ लाख पाँच सय ७८ असुल गर्नुपर्ने बेरुजु रहेको छ।

यस्तै फालेलुङ गाउँपालिकामा पाँच करोड ३४ लाख ३५ हजार दुई सय २१ रुपैयाँ बेरुजु रहेको छ। यो मध्ये आव ०७५/७६ मा चार करोड ७८ लाख १६ हजार २२ रुपैयाँ बेरुजु देखिएको छ। ३८ करोड ११ हजार दुई सय ५८ रुपैयाँ बजेट कार्यान्वयन गरेको यो गाउँपालिकाको असुल गर्नुपर्ने बेरुजु रकम ६ लाख ५७ हजार नौ सय ८९ रुपैयाँ रहेको छ।

तुम्वेवा गाउँपालिकाको बेरुजु चार करोड ५५ लाख ५५ हजार तीन सय ४२ रुपैयाँ रहेको छ। यो मध्ये आव ०७५/७६ मा तीन करोड ८० लाख ९० हजार आठ सय २७ रुपैयाँ बेरुजु प्रतिवेदनमा देखिएको छ। ३० करोड ४५ लाख ५६ हजार दुई सय ४४ बजेट कार्यान्वयन भएको मध्ये यतिको बेरुजु देखिएको हो। तुम्बेवा गाउँपालिकामा चार लाख ८० हजार ३८ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ।

यता हिलिहाङ गाउँपालिकाको जम्मा बेरुजु तीन करोड २४ लाख नौ सय ६५ रहेको छ। आव ०७५/७६ मा तीन करोड पाँच लाख २७ हजार आठ सय २६ रुपैयाँ रहेको छ। ३८ करोड ८९ लाख २४ हजार पाँच सय ५६ बजेटमध्ये यतिको बेरुजु भएको हो। यो आवमा १० लाख १३ हजार ६ सय ६३ रुपैयाँ असुल गर्नैपर्ने बेरुजु भएको छ।

दक्षिणी कुम्मायक गाउँपालिकाको बेरुजु दुई करोड ४२ लाख ३२ हजार आठ सय ६५ पुगेको छ। यो मध्ये आव ०७५/७६ मा एक करोड २१ लाख ७२ हजार ६ सय ७१ रुपैयाँ बेरुजु देखिन्छ। ३२ करोड २० लाख ९९ जहार चार सय ४१ बजेट कार्यान्वयन गर्दा यतिको बेरुजु देखिएको हो। यो आवमा १२ लाख ५० हजार एक सय ४८ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको छ।

उत्तरी याङवर गाउपालिको बेरुजु दुई करोड ४२ लाख ३२ हजार आठ सय ५६ पुगेको छ। यो मध्ये एक करोड ६७ लाख ७८ हजार नौ सय ६६ रुपैयाँ आव ०७५/७६ को बेरुजु हो। यो आवमा यो गाउँपालिकाले ३२ करोड ७८ लाख ९२ हजार एक सय १६ रुपैयाँ बजेट कार्यान्वयन गरेको थियो। यो वर्ष चार लाख २२ हजार २३ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ।

यस्तै फाल्गुनन्द गाउँपालिकाको बेरुजु दुई करोड ९४ लाख ४६ हजार २६ रुपैयाँ पुगेको छ। यो मध्ये दुई करोड ५७ लाख १२ हजार आठ सय २६ रुपैयाँ आव ०७५/७६ को बेरुजु हो। यो मध्ये २१ लाख ५६ हजार ६ सय ३५ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु हो। यो आवमा ४२ करोड ४२ करोड एक सय २१ रुपैयाँ बजेट कार्यान्वयन भएको थियो।

गाउँपालिकाको आफ्नै कर्मचारी नहुँदा पनि बजेट कार्यान्वयनमा यस्तो समस्या देखिने गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय पाँचथरका प्रमुख बासुदेव खनाल बताउँछन्। खर्च गर्ने तरिका सुधार गर्दै लैजानु पर्ने अवस्था रहेको उनको भनाइ छ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली कार्यान्वयन भएकाले केही सुधार हुने अपेक्षा राखिएको उनको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०७६ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App