१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न १० अर्ब विनियोजन

फाइल तस्वीर

काठमाडौं– बुटवलबाट पाल्पा जाने सिद्धबाबाखण्डमा सुरुङमार्ग निर्माण हुने भएको छ। सवारी यात्राका लागि कठिन रहेको उक्तमार्गको दीर्घकालीन समस्या समाधानका लागि सुरुङ मार्ग निर्माण हुने भएको हो। 

सुरुङ निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँ समेत विनियोजन समेत गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ।

यही मङ्सिर १ गते अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरेका हुन्। सो पत्र सोमबार मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको हो।

अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरिदिएको हो।

स्रोतको सुनिश्चिततापछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एवं सडक विभागमा आइपुगेको छ। उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको पत्रमा उल्लेख छ।  

उक्त मापदण्डले तोकेको प्रक्रिया पूरा गरी अब खरीद शुरु गर्न आफूहरुलाई मार्ग प्रशस्त भएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले  जानकारी दिए।

स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी विभागमा पेश गरिसकेको छ। डिपिआर पनि तयार भइसकेको र स्रोतसमेत सुनिश्चितता भएपछि विभागले अब बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण कार्य शुरु गर्नसमेत मार्ग प्रशस्त भएको छ। 

अर्थ मन्त्रालयले डिपिआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गरी लागत अनुमानबमोजिम खर्च हुने गरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ।

सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरीद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ। ‘हामीहरुले भन्दै आएको ढाँचामा नै स्रोतको सुनिश्चितता भएको छ’, प्रवक्ता सापकोटाले  भने। 

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ। त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३ सय मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो। 

सो सडकखण्डलाई पहिराबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन। त्यसको विकल्पमा सुरुङ नै उत्तम विकल्प भएको जानकारको भनाइ रहँदै आएको थियो।

त्यसखण्डको भौगर्भिक अध्ययनका लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो। सोही सहयोगबाट प्राविधिकले त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरी सरकारलाई सुझाव दिएको छ। केही अध्ययन  अझै जारी छ।  

सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ। स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन्।

सडक विभागका प्रवक्ता सापकोटाले अर्थको स्वीकृतिपछि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि काम शुरु हुने र डिपिआरले तय गरेका आधारमा प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

‘हाम्रो मागअनुसार नै अर्थले स्वीकृत दिएको छ, स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि यो महत्वपूर्ण र खुशी दिने विषय हो’, प्रवक्ता सापकोटाले भने। देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो।

सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ। रासस

प्रकाशित: २ मंसिर २०७६ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App