१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हाटबजार व्यवस्थित गर्दै महानगरपालिका

भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुरको गौतम चोकमा सञ्चालित हाटबजारमा किनमेल गर्दै उपभोक्ता। तस्बिर : सविता/नागरिक

चितवन – सागसब्जी, सिजन अनुसारका तरकारी र फलफूल, मासुजन्य उत्पादन खरिद बिक्री गर्ने थलो हो हाटबजार। हाटबजारमा मःम, चाउमिन, मिठाइका परिकार पनि पाइन्छ। लत्ताकपडा र सामान्य भाँडाकुडा पनि हाटबजारमा बिक्री गरिन्छन्। यिनै घरायसी सामान किन्न सातामा एक–दुई पटक लाग्ने हाटबजारमा मानिसको भीड लाग्छ। पछिल्लो समय हाटबजार सञ्चालन गर्ने स्थानसमेत बढ्दै गएका छन्।

भरतपुर महानगरपालिकाका कृषि अधिकृत विनोद लामिछानेका अनुसार महानगरपालिकामा अहिले करिब २० स्थानमा हाटबजार सञ्चालन हुँदै आएको छ। ठाउँअनुसार कुनै स्थानमा सातामा दुई पटक र कुनैमा एक पटक हाटबजार लाग्ने गरेको छ। त्यसमध्ये वडा नं २१ को एउटा हाटबजार मात्र अहिले महानगरपालिकामा दर्ता भएको लामिछानेले बताए। ‘चार–पाँच हाटबजार दर्ता हुने क्रममा छन्,’ उनले भने, ‘आवश्यक कागजात बुझाउन सम्पर्कमा आएका छन्, दर्ता प्रक्रिया अघि बढेको छ।’

यसअघि वडा कार्यालयबाट सिफारिस लिएर हाटबजार सञ्चालन हुने गरेका थिए। अहिले महानगरपालिकाले हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ बनाएर महानगर क्षेत्रमा सञ्चालित हाटबजार व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएको छ। स्थानीय कृषि उपजको बजार व्यवस्थापन गरी सफा, सुरक्षित र स्वच्छ हाटबजार सञ्चालन गर्न कार्यविधि तयार गरिएको हो। कार्यविधिले महानगरपालिकाबाट स्वीकृति लिएर दर्ता गरेर मात्र हाटबजार सञ्चालन गर्न पाउने प्रावधान राखेको छ। हरेक वर्ष सञ्चालन इजाजत नवीकरण गरिनुपर्ने पनि व्यवस्था गरिएको छ।

हाटबजार सञ्चालनका लागि कम्तिा पाँच कट्ठा जग्गा हुनुपर्ने, एक हाटबजारबाट अर्को हाटबजारको दूरी कम्तिमा एक किलोमिटर हुनुपर्ने, राजमार्गबाट दुई सय मिटर र अरु मुख्य सडकबाट एक सय मिटरको दूरीमा हुनुपर्ने लगायत प्रावधान कार्यविधिमा राखिएको छ। यस्तै, खानेपानीको व्यवस्था, महिला, पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था, स्टलका लागि पूर्वाधारको व्यवस्था, खुला ठाउँ, पार्किङ सुविधासमेत हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

फोहोर मैला तथा प्रदूषण नियन्त्रण व्यवस्थापनसँगै  प्रांगारिक उत्पादनलाई प्राथमिकता दिएर सुपथ मूल्यमा स्टल उपलब्ध गराउनुपर्ने, स्थानीय उत्पादन गर्ने कृषक, समूहलाई निःशुल्क स्टलको व्यवस्थालगायत प्रावधान कार्यविधिमा रहेको कृषि अधिकृत लामिछाने बताउँछन्। हाटबजारमा बिक्रीका लागि राखिने सामग्रीमा कृषिजन्य र स्थानीय उत्पादन ८० प्रतिशत हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ। ‘उत्पादकद्वारा नै बिक्री गर्ने कृषि उपजलगायत अन्य सामग्रीलाई प्राथमिकता दिनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘कुल स्टल संख्याको कम्तिमा १० वटा स्टल यस्ता उत्पादका लागि आरक्षित गर्नुपर्नेछ।’

हाटबजार दर्तामा आइसकेपछि कार्यविधिअनुसार व्यवस्थापन र सञ्चालन भएको छ कि छैन भनेर अनुगमन गर्ने योजना रहेको उनले बताए। अहिलेसम्मका हाटबजार हेर्दा टोल विकास संस्था, क्लब, सहकारी र व्यक्तिगत रुपमा समेत हाटबजार सञ्चालन गरिँदै आएको पाइएको उनी बताउँछन्। महानगरपालिकाले व्यक्तिगतभन्दा पनि संस्थागत र सहकारीबाट सञ्चालन गर्नका लागि कार्यविधिमार्फत प्रोत्साहन गरेको छ।

हाटबजारलाई दर्ता प्रक्रियामा ल्याउन महानगरपालिकाले सूचना जारी गरेको र यसअघि केही सञ्चालकसँग सामान्य छलफलसमेत गरिएको थियो। न्यून संख्यामा मात्र दर्ता प्रक्रियामा आएकाले हाटबजार सञ्चालकलाई सम्पर्क गरेर कार्यविधबारे जानकारी गराउने र कार्यविधिमा व्यवस्था भएअनुसार दर्ता गरेर हाटबजार सञ्चालन गर्नका लागि अभिमुखीकरण गर्ने तयारी महानगरपालिकाले गरेको उनले बताए। अहिले महानगर क्षेत्रका सबै हाटबजार सञ्चालकबारे जानकारी संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App