११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

बोइङ–७५७ बिक्री प्रक्रिया लम्बियो

काठमाडौं – नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ।

उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझदारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वार्ताका लागि आह्वान गर्ने भएको छ।

पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो।

निगमले उक्त विमान खरिद गर्न चाहँने कम्पनीसँग वार्ताका माध्ययमबाट अबको एक साताभित्रै निणर्य लिन सक्ने जनाएको छ। १५ दिनको समयसीमा राखेर खरिदकर्तासँग समन्वय गर्ने तयारी रहेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए। ‘निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि खरिद गर्ने उपयुक्त कम्पनीको टेन्डर नपरेकोले प्रक्रिया लम्बिएको हो,’ उनले भने, ‘अब ढिला नहुने गरी वार्ताका माध्ययमबाट यो कुरा सल्टाउन्छौं।’

निगमले आपसी समझदारीबाट खरिद गर्न आउने कम्पनीलाई वार्तामार्फत विमान बिक्री गर्ने उनको भनाइ रहेको छ। निगमले विमानको मूल्य मूल्यांकन गर्न स्विट्जरल्यान्डको फिन्टेक ग्लोबललाई छनोट गरिसकेको जनाउँदै बढी मूल्य तिर्न तयार कम्पनीसँग वार्ता प्रक्रियामा बोलाउने उनको भनाइ छ। ‘बढी मूल्य तिर्न तयार कम्पनीसँग वार्ता गर्ने र उक्त निर्णय सञ्चालक समितिमा बुझाउने गरी एक–दुई दिनभित्रै सूचना निकाल्दै छौं,’ उनले भने।

‘सो जहाज बिक्री गर्नका लागि पहिलो पल्ट असार ११ गते ४५ दिनको समयसीमा राखेर टेन्डर आह्वान गरेका हौं।’ चन्दले नागरिकसँग भने, ‘४५ दिनको समय सीमाभित्र कुनै कम्पनीले चासो नदेखाएपछि पुनः १५ दिनको समय थपिएको हो।’ विमानको मूल्य मूल्यांकनका लागि छनोट भएको स्विस कम्पनीले उक्त विमानको मूल्य ७६ करोड रुपैयाँ मूल्यांकन गरिसकेको छ।

निगमले हाल ग्राउन्डेड अवस्थामा रहेका पाँचवटा जहाजमध्ये चारवटा यसै महिनाभित्र सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको समेत जनाएको छ। जहाजका पाटपूर्जा पाउन कठिनाईतथा प्राविधिकलगायत समस्याका कारण ग्राउन्डेड विमान सञ्चालनमा समस्या देखिएको जनाइएको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App