१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

गैंडाछाप सिमेन्टको मूल्य घट्यो

गाईघाट – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्टको मूल्य घटेको छ। अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ का दरले घटाइएको उद्योग प्रशासनले जनाएको छ।

यसअघि गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा आठ सय तीन रुपैयाँ रहेकामा तीन दिनअघि २५ रुपैयाँ घटाएर सात सय ७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। गैंडाछाप सिमेन्टको मूल्य घटाउनासाथ अहिले बिक्री दोब्बरले बढेको उद्योग प्रशासनले बताएको छ।

दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको सिमेन्ट मूल्य घटाउनासाथ दैनिक १० हजारदेखि १२ हजार बोरा बिक्री हुन थालेको महाप्रबन्धक साहले बताए। ‘गैंडाछाप सिमेन्ट जापानी प्रविधिबाट उत्पादन हुने एसियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट हो, योसँग प्रतिपस्र्धा गर्ने सिमेन्ट अहिलेसम्म उत्पादन भएकै छैन तर पनि अन्य सिमेन्टको मूल्य हेरफेर हुँदा गैंडाछापको पनि मूल्य समायोजन गर्नुपर्ने हुनाले अहिले बजार मूल्य घटाइएको हो।’

अढाइ वर्षअघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग लोडसेडिङ हटेर विद्युत् आपूर्तिमा सुधार आएपछि नाफामा जान थालेको छ। अहिले उद्योगमा झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट र एक लाख ३० हजार बोरा क्लिंकर स्टक छ।

उद्योगले पूर्ण क्षमतामा दैनिक १६ हजारदेखि १८ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले बताएको छ।रासस

प्रकाशित: १८ कार्तिक २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App