काठमाडौं – फितलो व्यवस्थापनका कारण ग्राहकबाट चालोचना खेप्दै आएको राष्ट्रिय वाणिज्य बैंकमा सुधार आएपछि यसले ६० करोड रुपैयाँ सहुलियत कर्जा वितरण गरेको छ।
व्यावसायिक कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितका लागि निजी आवास निर्माण, महिला उद्यमशीलता लगायत शीर्षकमा नौ सय ८७ जनालाई उक्त कर्जा वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले बताए।
विभिन्न कारणले केही समयअघि आलोचना खेप्दै आएको बैंकले हाल बचत, नाफामा मात्र नभई कर्जा लगानीमा पनि फड्को मारेको बताउँदै श्रेष्ठले थपे, ‘बैंकले हालसम्म एक खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ, जसमध्ये ६० करोड रुपैयाँ सहुलियत कर्जा हो।’ बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा वितरण गर्दा सम्बन्धित संस्थाको आधार दरमा दुई प्रतिशत माथिसम्म ब्याजदर तोक्न पाउने व्यवस्था छ।
हाल बैंककोे आधार दर ५.६० प्रतिशत छ। यसमा दुई प्रतिशत बिन्दु जोड्दा ब्याज ७.६० प्रतिशत हुन आउँछ। उनले भने, ‘महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य सहुलियत कर्जामा पाँच प्रतिशत अनुदान पाउने भएकाले यी शीर्षकमा बढी कर्जा प्रवाह गर्दा सीप भएका तर लगानीको अभावमा त्यत्तिकै बसेकाले व्यवसाय सञ्चालन गर्ने भएकाले सबैलाई फाइदा हुन्छ।’
हाल बैंकले सहुलियत कर्जामा ७.६० प्रतिशत ब्याज लिने गरेकामा महिला उद्यमशील शीर्षकमा ६ प्रतिशत अनुदान पाउने व्यवस्था रहेकाले कर्जा लिने व्यक्तिले बंैकलाई १.६० प्रतिशत मात्र ब्याज तिरे पुग्छ।
त्यसैगरी, अन्य सहुलियतपूर्ण कर्जा शीर्षकमा पाँच प्रतिशत अनुदान पाउने व्यवस्था रहेकाले कर्जा लिने व्यक्तिले २.६० प्रतिशत ब्याज तिर्नुपर्ने उनले बताए। बैंकले कृषि तथा पशुपन्छीमा पाँच करोड, महिला उद्यमशीलमा १५ लाख, विदेशबाट फर्केका युवा परियोजनामा १० लाख, दलित समुदाय व्यवसाय विकास कर्जामा १० लाख, भूकम्पपीडितको निजी निवास निर्माणमा तीन लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षामा पाँच लाख सहुलियत कर्जा दिन्छ।
महिला उद्यमशीलता शीर्षकमा चार सय १० जनाले सहुलियत कर्जा लिएका छन्। महिला उद्यमशीलता कर्जा बिनाधितो ६ प्रतिशत ब्याजमा वितरण गर्दै आएको पनि उनले बताए। बैंकले मुलुकभरी दुई सय ३८ वटा कार्यालयमार्पmत बैंकिङ सेवा दिँदै आएको छ। यसका दुई सय चारवटा एटिएम बुथ र ९३ वटा शाखारहित बंैकिङ एकाइ छन्।
बैंकले गत आर्थिक वर्ष ०७५/७६ मा पाँच अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो। सोही अवधिमा एक खर्ब ९० अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले जनाएको छ। आगामी दिनमा बैैंकिङ क्षेत्रको विस्तार गरी वित्तीय पहुँचको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, राष्ट्र बैंकले तोकेका प्राथमिकताका क्षेत्र तथा वर्गमा कर्जा प्रवाह गर्ने योजनामा रहेको श्रेष्ठले बताए।
प्रकाशित: १४ कार्तिक २०७६ ०३:२० बिहीबार