१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गाउँमै पुग्यो अनुदानको गहुँको बीउ

बाजुरा – कृषि ज्ञान केन्द्रले यस पटक समयमै जिल्लाका नौवटै स्थानीय तहमा २६ क्विन्टल प्रजनन बीउ र ४० क्विन्टल उन्नत बीउ पठाएको छ। किसानले गहुँ छर्न शुरु नगर्दै ज्ञान केन्द्रले स्थानीय तहमार्फत किसानको दैलोमै उन्नत जातको बीउ पठाएको हो।

जिल्लाका विभिन्न ठाउँको हावापानी अनुकूल र माटो सुहाउँदो प्राविधिक परीक्षण गरिएका पाँच जातका बीउ किसानलाई वितरण गर्न स्थानीय तहलाई जिम्मा लगाइएको कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए।

किसानको मागलाई आधार मानेर प्रत्येक स्थानीय तहमा बीउ पठाइएको उनको भनाइ छ। समयमै बीउ नपुग्ने र पुरानै जातको बीउ प्रयोग गर्नुपर्ने किसानको गुनासोलाई सम्बोधन गर्न समयअगावै बीउ पठाइएको कृषि ज्ञान केन्दले जनाएको छ।

जिल्लामै उत्पादन गरिएको उन्नत जातको बीउ किसानका लागि अनुदानमा पठाइएको छ भने बाहिरबाट ल्याइएको प्रजनन बीउ पनि वितरण गर्न लागिएको हो। यो वर्ष डब्लुके १२०४, डाँफे, च्याखुरा, स्वर्गद्वारी, पासाङ ल्हामु गरी पाँच जातका बीउ अनुदानमा वितरण गर्न लागिएको हो।

९० रुपैयाँ प्रतिकेजी बीउमा ५० प्रतिशत अनुदानसहित ४५ मा वितरण गर्न लागिएको हो। माटो परीक्षण गरेर, जिल्लाकै माटोमा उत्पादन गरिएको बीउ भएकाले किसानले कुनै शङ्का नमानेर नै बीउ प्रयोग गर्न कृषि ज्ञान केन्द्रको सुझाव छ। 

जिल्लामा १० हजार ४५० हेक्टरमा गहुँ खेती गर्ने गरिएको छ। त्यसमा १६ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ। जिल्लामा प्रतिहेक्टर १.५८ प्रतिशत गहुँ उत्पादन हुने गरेको छ। गहुँ उत्पादन क्षेत्र हेरेर नै बीउ सम्बन्धित स्थानीय तहमा पठाइएको छ। प्रजनन बीउ बूढीगङ्गा नगरपालिकालाई मात्र दिइएको छ।

उर्बराशक्ति भएको जमीन क्षेत्र र राम्रो उत्पादन हुने ठूलो हेक्टर एकै पट्टीको जमीन भएकाले सो नगरपालिकालाई जिम्मा दिइएको छ भने उन्नत जातको बीउ पनि निश्चित वितरण नगरी कम्तीमा ४० किलोसम्म छर्नका लागि किसानले लिन सक्ने गरिएको छ।

उन्नत जातको बीउ जिल्लामा हातेमालो कृषि सहकारी संस्था बूढीगङ्गा–३ ले उत्पादन गरेको हो। यो वर्षदेखि नै जिल्ला बाहिरबाट बीउ ल्याउन छाडिएको छ। गहुँको बीउमा जिल्ला आफैँ आत्मनिर्भर बनेको छ। करिब ६६ क्विन्टल बीउ अपुग देखिए तत्काल थप गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

आफैँले उत्पादन गरेको र परम्परागत बीउको प्रयोगले उत्पादन घट्ने र मेहनत बढी लगाउनुपर्ने भएकाले नयाँनयाँ बीउको प्रयोग गर्न र प्राङ्गारिक मलमात्र गहुँमा हाल्न कृषि प्राविधिकको सुझाव छ। रासस

प्रकाशित: ९ कार्तिक २०७६ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App