१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सयपत्री र मखमली फूलमा बाँके आत्मनिर्भर

बाँके – सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ। यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ। बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन्।

नेपालगञ्जस्थित हिमाली नर्सरीले मात्र झण्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको नर्सरीका सञ्चालक अङ्कित श्रेष्ठले बताए।

उनकाअनुसार दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले अहिलेसम्म दुई क्विन्टल फूलको माग गरिसकेका छन्। यहाँ उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय छन्। प्रतिकिलो ४ सय रुपैयाँका दरले सयपत्री फूल बिक्री हुँदै आएको पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।

दुई हजार सयपत्री र दुई हजार मखमली फूलका माला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। उनले भने, “तिहारमा झण्डै १६ लाख रुपैयाँको फूलका माला बिक्री गर्ने मेरो लक्ष्य छ ।” कोहलपुर, दाङ र पाल्पाबाट फूलको माग रहेको चर्ती फ्लोराकी सञ्चालकसमेत रहनुभएकी चर्तीमगरले बताए।

पछिल्लो समय यहाँ मखमली तथा सयपत्री फूलको खेतीमा किसानको आकर्षण बढेको छ। सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोजलगायतमा फूल प्रयोग हुने गरेको छ। होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालिएपछि अहिले फूलको माग बढेको व्यवसायी चर्तीमगरले बताए।

“तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूल बाँकेमै उत्पादन भएका छन्, जसले गर्दा भारतीय फूल विस्थापित भएका छन्”, उनले भने। आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेका उनको भनाइ छ। फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन्। सबैभन्दा बढी सयपत्री तथा मखमली फूलको कारोबार हुने व्यवसायीको भनाइ छ।

नेपालगञ्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए। नेपालगञ्ज नाकाबाट आर्टिफिसियल (कृत्रिम) माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्याङ्क भन्सार कार्यालयसँग नभएको उनले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा चार लाख ५६ हजार ६९४ र आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख ८९ हजार ८३३ रुपैयाँ बराबर प्लास्टिकका कृत्रिम माला नेपाल भित्रिएका थिए। रासस

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App