८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यवसाय गर्ने वातावरण सुध्रियो

काठमाडौं – नेपालमा स्थिर सरकार बनेपछि पहिलोपटक व्यवसाय गर्ने वातावरणमा सुधार आएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपालको अवस्था सुधार भएको हो।

बैंकका अनुसार गत वर्षभन्दा यो वर्ष नेपालको सूचक १६ स्थान माथि उक्लेकोे छ। ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपाल ९४औं स्थानमा आएको छ। अघिल्लो वर्ष नेपाल ११०औं स्थानमा थियो। बैंकले हरेक वर्ष अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्छ। बैंकले सन् २०१८ मेदेखि २०१९ मेसम्मको अध्ययनलाई आधार बनाएर यो प्रतिवेदन तयार गरेको हो।

‘डुइङ बिजनेस इन्डेक्स’मा भएको सुधार सकारात्मक भए पनि सुधार गर्नुपर्ने पक्ष अझै बाँकी रहेको निजी क्षेत्र र अर्थशास्त्रीले बताएका छन्। निर्माण अनुमतिका लागि दिने प्रक्रियामा सुधार भएको, अन्तरदेशीय व्यापार, ठेक्का सम्झौता प्रक्रिया, ई–बिडिङले सूचकमा सुधार भएको बैंकले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी कर्जा प्रणाली तथा सूचना दिने संयन्त्र र पहुँच स्थापित, एकीकृत भन्सार चेक पोस्ट सुरु गरेपछि आयात, निर्यातमा समय र लागत बचत भएको देखिएको छ।

यो वर्ष नेपालको सबैभन्दा राम्रो सुधार ऋण प्रवाहमा छ। ऋण प्रवाहमा ९९औं स्थानमा रहेकोमा अहिले उल्लेख्य सुधार भई ३७औं स्थानमा आएको छ। सूचकले व्यावसायिक वातावरणलाई मात्र उल्लेख गरेकाले ‘डुइङ बिजनेस इन्डेक्स’का आधारमा मुलुकको अर्थतन्त्रमा सुधार भएको भन्न नमिल्ने जनाइएको छ। निजी क्षेत्र तथा अर्थशास्त्रीले सूचकमा आएको सुधार मुलुकका लागि सकरात्मक भएको टिप्पणी गरे। अर्थशास्त्री विश्व पौडेलले विगतको तुलनामा सूचकहरूमा उल्लेख्य सुधार हुनु राम्रो भएको प्रतिक्रिया दिए। ‘मुलुकका लागि यो सकारात्मक विषय हो,’ पौडेलले भने, ‘तर गर्नुपर्ने काम अझै धेरै बाँकी छन्।’

–प्रतिवेदन उत्साहजनक भए पनि रिफर्म गर्नुपर्ने ठाउँ धेरै छन्  –भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
–सुध्रिएको सन्देश सकारात्मक भए पनि अझै चुनौती छन्  –हरिभक्त शर्मा, पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ

व्यवसाय गर्ने वातावरणमा सुधार भए पनि अझै केही विषयमा नेपालले सुधार गनुपर्ने देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीका लागि उत्साह भए पनि रिफर्म गर्नुपर्ने ठाउँ धेरै भएको बताइन्। सरकारले प्रशासनिक क्षेत्रमा गरेको सुधारले नेपालको अवस्थामा सुधार आएको बताइन्। ‘अनलाइन प्रणालीबाट दिने सेवाले व्यावसायिक वातावरणमा सुधार आएको हो,’ राणाले भनिन्, ‘प्रतिवेदनका आधारमा हौसिने अवस्था छैन। अझै धेरै ठाउँमा रिफर्म गर्नु आवश्यक छ।’

विदेशी लगानीकर्ताले लगानी गर्दा सम्बन्धित देशको ‘डुइङ बिजनेस इन्डेक्स’लाई पनि एउटा आधारका रूपमा हेर्ने गरिन्छ। यो पूर्ण आधार भने होइन। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आह्वान गरिरहेका बेला ‘डुइङ बिजनेस इन्डेक्स’मा आएको सुधारले विदेशी लगानी आकर्षित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ। विदेशी लगानीकर्तालाई आह्वान गर्न सहयोग पुग्ने अध्यक्ष राणाले बताइन्। ‘यहाँ आउने लगानीकर्ताले यो विषयलाई पनि हेर्छन्,’ उनले भनिन्। यहाँका व्यवसायीले उठाउँदै आएको सामाजिक सुरक्षा कोषको विषयमा विश्व बैंकले पनि झन्झटिलो भएको जनाएको छ। ‘सामाजिक सुरक्षामा अनिवार्य दर्ता प्रक्रिया निकै झन्झटिलो भएको अध्ययनले देखाएको छ,’ प्रतिवेदनमा उल्लेख छ। व्यावसायिक वातावरण बनाउन यस्ता झन्झट अझै सुधार गर्नुपर्ने हुन्छ। सम्पत्ति दर्ता तथा हस्तान्तरण प्रक्रिया पनि झन्झटिलो रहेको, उद्योगका लागि अत्यावश्यक विद्युत् आपूर्तिमा अपेक्षित सुधार नआएको पनि औंल्याएको छ। मुलुकमा लोडसेडिङको अन्त्य भए पनि पूर्ण रूपमा उद्योगहरूले सहज रूपमा विद्युत् नपाएको गुनासो गर्दै आएका छन्।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले ‘डुइङ बिजनेस इन्डेक्स’मा सुधार आउँदा नेपाल सुध्रिएको सन्देश गएको टिप्पणी गरे। ‘ओभरल मूल्यांकन गरेर रिपोर्ट सार्वजनिक गरिएको छ,’ शर्माले भने, ‘यो निजी क्षेत्र र मुलुकका लागि सकारात्मक हो।’ इन्डेक्समा सुधार आए पनि चुनौतीहरू अझै बाँकी रहेको बताए। ‘व्यावसायिक वातावरणमा सुधार आए पनि औद्योगिक वातावरण अझै सुध्रिनु आवश्यक छ,’ शर्माले भने, ‘निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गर्नुपर्छ।’ व्यावसायिक वातावरण बने पनि मुलुकको अर्थतन्त्र सुधारका लागि लगानीकर्तालाई उत्पादनमूलक, औद्योगिक र पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए। व्यावसायिक वातावरणमा सुधार भए पनि अर्थतन्त्र महँगो बन्दै गएको भन्दै शर्माले चिन्ता व्यक्त गरे। ‘कर संकलन र खर्च सबै क्षेत्रमा बढेको छ,’ उनले भने, ‘सुधारका प्रक्रिया अरू क्षेत्रमा लैजानुपर्छ। १६ स्थान माथि उक्लिए पनि सबैभन्दा राम्रो आर्थिक सुधार गर्ने २० मुलुकमा नेपाल छैन। यो वर्ष सबभन्दा धेरै सुधार गर्ने राष्ट्रमा साउदी अरब, जोडर्न, टोगो, बहराइन, ताजकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारतलगायत मुुलुक छन्। दक्षिण एसियामा सबैभन्दा भारतले सुधार गरेको छ। यो प्रतिवेदनमा भारत ६३औं स्थानमा छ। यसअघि ७७औं स्थानमा रहेको भारतले एक वर्षमा १४ स्थान सुधार गरेको छ। भुटान नेपालभन्दा अघि भए पनि गत वर्षभन्दा अवस्था खस्किएर ८९औं स्थानमा पुगेको जनाइएको छ। भुटान गत वर्ष ८१औं स्थानमा थियो।

श्रीलंका ९९ बाट सुधार गरेर १०० स्थानमा पुगेको छ। पाकिस्तान १०८औं स्थानमा छ। पाकिस्तान यसअघि १३६औं स्थानमा थियो। बंगलादेश १७६औं स्थानबाट १६८औं स्थानमा उक्लिएको छ भने अफगानिस्तानको अवस्था खस्किएको छ। अफगानिस्तान १६७औं स्थानबाट घटेर १७३औंमा पुगेको अध्ययनले देखाएको छ।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App