१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युवालाई निःशुल्क सीप

काठमाडाैं – वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा अपेक्षित आर्थिक लाभ लिन नसकिएपछि एकैचोटि ठूलो संख्याका युवालाई सीप सिकाउन थालिएको छ।

वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जाने युवालाई लक्ष्य गरी सीप सिकाउने तयारी गरेका हुन्। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले चालु आर्थिक वर्षमा १५ हजार युवालाई निःशुल्क सीप सिकाउन कार्यक्रम सुरु हुन गइरहेको बताए।

‘वैदेशिक रोजगारीमा जाने युवालाई लक्ष्य गरी १५ हजारलाई सीप सिकाउने तालिम प्रदायक संस्था छनोट गर्न सूचना जारी भइसकेको छ,’ उनले भने। बोर्डले विभिन्न १९ प्रकारका ट्रेडमा युवालाई सीप सिकाउने जनाएको छ। श्रेष्ठका अनुसार ती युवालाई सीप सिकाउन बोर्डले चालु आर्थिक वर्षमा २५ करोड रूपैयाँ खर्च गर्दैछ। त्यस्तै १० वर्षदेखि सुरक्षित आप्रवासनका लागि काम गर्दै आएको सामीले चालु आर्थिक वर्ष थप दुई हजार युवालाई निःशुल्क तालिम दिँदैछ। निःशुल्क तालिम सञ्चालनका लागि सामीले सीप सिकाउने सात संस्था छनोट गरिसकेको टिम लिडर सीता घिमिरेले जानकारी दिइन्।

सन् २०२२ सम्म सामी एक्लैले सात हजार युवालाई निःशुल्क रूपमा सीप सिकाउने उनले बताइन्। एक महिने तालिम निःशुल्क हुनाको साथै सहभागीको बस्ने र खाने व्यवस्थासमेत मिलाइएको छ। सामीकी सीप विकास संयोजक सुनिला बनियाँले तालिममा सहभागी हुन महिलाको हकमा सात कक्षा उत्तीर्ण गरी १९ देखि ३० वर्ष ननाघेको हुनुपर्ने र पुरुषको हकमा १९ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको मापदण्ड तोकिएको बताइन्।

सामीले तालिम प्रदायक सात संस्था छनोट गरिसकेकाले तिहारलगत्तै सीप तालिम सुरु गर्ने जनाएको छ। यसैबीच सीप सिकाउने संस्थाका प्रतिनिधिलाई दिइएको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न गरिएको छ। टिम लिडर घिमिरेका अनुसार एक महिने सीप कार्यक्रममा सहभागी हुनेका लागि प्रतिव्यक्ति २६ देखि ३१ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। एक वर्षमा दुई हजारलाई निःशुल्क रूपमा सीप सिकाउन सामीले करिब ६ करोड रूपैयाँ हुने अनुमान गरेको छ।

सीप नसिकी वैदेशिक रोजगारीमा जाँदा रोजगारदाताले राम्रो पारिश्रमिक नदिएपछि यतिखेर सरकार युवालाई सीप सिकाउनु पर्ने दबाबमा छ। वर्षमा पाँच लाख बढी युवा बिदेसिदासमेत अन्य स्रोत मुलुकको तुलनामा नेपालले प्राप्त गर्ने रेमिटेन्स बढ्न सकेको छैन। सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा रेमिटेन्स बढ्ने सरकारको अपेक्षा छ।

आर्थिक वर्ष ०७५/७६ मा पाँच लाख युवा वैदेशिक रोजगारीमा जाँदा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। जबकि त्यति नै संख्यामा युवालाई वैदेशिक रोजगारीमा पठाउने फिलिपिन्स, श्रीलंका लगायतका मुलुकले नेपालको तुलनामा निकै बढी रेमिटेन्स प्राप्त गरेको तथ्यांक छ।

बिदेसिने युवाको तुलनामा नेपालमा कम रेमिटेन्स भित्रिनुको मुख्य कारण सीप नसिक्नुलाई लिइन्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७५ प्रतिशत अदक्ष हुने गरेका छन्।

सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा युवाले कम पारिश्रमिक पाउने समस्या मात्र नभई युवा शोषण र जोखिममा समेत पर्ने गरेका छन्। बोर्ड र सामीले पहिलोपटक ठूलो संख्याका युवालाई लक्षित गरी सीप कार्यक्रम सुरु गर्न लागेका हुन्।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले ठूलो संख्याका युवालाई निःशुल्क सीप सिकाउन थालिए पनि गुणस्तर कायम गर्न चुनौती रहेको बताए। ‘एक महिनाको सीप सिकेको व्यक्ति वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित काम सहजै गर्न सक्ने बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने।

निःशुल्क सीप कार्यक्रमका लागि नेपाल सरकारसँग सम्झौता गरेको स्वीस सरकार विकास सहयोग नियोग (एसडिसी) की वरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारीले तत्काल वैदेशिक रोजगारीको विकल्प नदेखिएकाले सीप सिकाउनु पर्ने आवश्यकता रहेको बताइन्। ‘आगामी दिनमा युवा जुन देशमा काम गर्न जाने हुन्। ती मुलुकले समेत सीप सिकाउन सहयोग गर्नुपर्छ,’ उनले भनिन्। उक्त परियोजनाले सन् २०११ यता नौ हजार तीन सय ६३ युवालाई निःशुल्क सीप दिएको छ। जसमा सीप लिने महिलाको संख्या दुई हजार ६ सय २२ जना छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App