१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन महिनामा तीन करोडको मालाबत्ती भित्रियो

काठमाडौं – तिहार भित्रनै लाग्दा विद्युतीय सामग्रीका बिक्रेतालाई भ्याइनभ्याइ छ। विशेषगरी तिहारका बेला झिलिमिली गराउने माला बत्ती(तोरण) को किनबेच बढ्छ। त्योसँगै सहरबजार झिलिमिली हुन सुरु भइसकेको छ।

तिहारमा रौनक थप्ने यस्ता माला बत्तीको माग केही वर्षअघिसम्म लोडसेडिङले कम भए पनि अचेल बढेको नेपाल विद्युत् व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रेशमप्रसाद देवकोटा बताउँछन्। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा तीन करोड रुपैयाँ बराबरको माला बत्ती भित्रिएको छ। आर्थिक वर्ष ०७५÷७६ मा चार करोड ३८ लाखको माला बत्ती भित्रिएको थियो। गत वर्ष सो अवधिमाचार करोड २० लाखको माला बत्तीआयात भएको विभागको तथ्यांक छ।

महासंघका उपाध्यक्ष देवकोटाले अहिले पहिलो खेपको अर्डरमात्र आएको र केही आउने क्रममा रहेकोले तथ्यांक बढ्न सक्ने बताए। उनले बजारमा विद्युतीय बत्तीको माग बढ्दै आए पनि गुणस्तर राम्रो भएको कारण गत वर्षकै तोरण प्रयोग गर्न सकिने भएकोले गत वर्षभन्दा कम बिक्री हुनसक्ने बताए।व्यवसायीले ८० प्रतिशत भन्दा बढीइलेक्ट्रोनिक तोरण चीनबाट ल्याउने गरेका छन्। बाँकी भारत र अन्य मुलुकबाट आउँछ।

विगतका वर्षभन्दा यस वर्ष माला बत्तीको मूल्य केही बढेको व्यवसायी बताउँछन्। ‘पहिला न्यून बिजकीकरणमा पनि आयात गर्न सकिन्थ्यो, अहिले वास्तविक बिलका आधारमा ल्याउनुपर्ने हुनाले केही महँगो भएको छ,’ देवकोटाले भने, ‘त्यसमा पनि अहिले व्यवसायीबीच प्रतिस्पर्धाको कारण गत वर्षभन्दा त्यत्ति ठूलो फरक छैन।’

माला बत्तीको माग काठमाडौं उपत्यकामा बढी हुने भए पनि पछिल्लो समय उपत्यकाबाहिर पनि माग बढ्न थालेको देवकोटाले बताए। ‘महासंघमा आवद्ध तीन हजारभन्दा बढी व्यवसायी छौं। धेरैजसो उपत्यकाबाहिरका व्यवसायीलाई पनि काठमाडौंबाट सप्लाई हुँदै आएको छ,’ उनले भने, ‘उपत्यकाबाहिरका मुख्य सहरमा माला बत्तीको माग र खपत बढ्दै गएको छ।’

विशेषगरी तिहारमा यसको माग बढी हुने भए पनि क्रिसमस, बिहेवारी तथा विभिन्न उत्सवमा यसको माग भइरहने व्यवसायीको अनुभव छ। पहिलेपहिले धेरै विद्युत् खपत हुने सामग्रीको रुपमा चिनिने माला बत्तीलेपछिल्लो समय एकदमै कम विद्युत् खपत गर्ने उनीहरुको तर्क छ।

यति ठूलो परिमाणमा आयात हुने माला बत्ती स्वदेशमै बनाउने कुरामा कुनै प्रगति देखिएको छैन। केही विद्युतीय सामग्रीबाहेक नेपाल सबै आयातमै निर्भर छ। ‘हाउस वायरिङसँग सम्बन्धित धेरै सामग्री स्वदेशमै बनाएर आत्मनिर्भर हुन सकेका छौं,’ महासंघका उपाध्यक्ष देवकोटाले भने, ‘केही सामग्रीको पार्टपुर्जा विदेशबाट लिएर एसेम्बल गर्ने काम पनि भएको छ। अन्यमा पनि हामी सरकारको सहयोग पाए उत्पादन गर्न सक्छौं।’ उनले सरकारले योजना बनाउनेदेखि भन्सारका कुरामा पनि आफूहरुसँग समन्वय नगरेको भन्दै गुनासो पोखे। उनले भने, ‘सरकार र मातहतका निकायले हामीलाई समन्वय गर्न मौका दिए विद्युतीय सामग्रीको सन्दर्भका थप योगदान गर्न सक्ने थियौं।’

प्रकाशित: ६ कार्तिक २०७६ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App