८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कर्मचारी आबद्ध राष्ट्रसेवक सहकारी करोडपति

उदयपुर- उदयपुरका निजामति कर्मचारीद्वारा सदरमुकाम गाईघाटमा सञ्चालित ‘राष्ट्र सेवक वहुद्ददेश्यीय सहकारी संस्था लिमिटेड’ उदयपुरले स्थापनादेखि चालु वर्षसम्म ५ करोड बढीको कारोबार गर्न सफल भएको छ। गाईघाटमा आफ्नै भवन बनाउन सफल भईसकेको सहकारीले शनिबार आयोजना गरेको १९ औँ वार्षिक साधारणसभामा १४ वर्षअघि स्थापित संस्थाले हालसम्मको पुँजी तथा दायित्व ५ करोड नाघिसकेको जानकारी दिए। सहकारीका अध्यक्ष लेखबहादुर श्रेष्ठका अनुसार पुँजी तथा दायित्व ५ करोड १ लाख ८९ हजार ८ सय ५५ रुपैँया ११ पैसा पुगेको आर्थिक विवरण प्रस्तुत गरे।

उनको प्रतिवेदन अनुसार सहकारीले ५५ लाख २८ हजार ९ सय ९५ रुपैयाँ ९२ पैसा आम्दानी गरेको छ भने ४ सय २७ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ६२ लाख ९३ हजार ५ सय रुपैयाँ पुगेको छ। अध्यक्ष श्रेष्ठको प्रतिवेदनले सहकारीमा नगद प्रवाह ३३ लाख १७ हजार ८ सय ४७ रुपैयाँ ७३ पैसा गरेको उल्लेख गरेको छ। अध्यक्ष श्रेष्ठले चालु वर्ष २०७६÷७७ मा ६४ लाख ८७ हजार ५ सय रुपैँया कारोवार गर्ने अनुमानित लक्ष्य प्रक्षेपण गरेका छन्।

संस्थाका सचिव केदारप्रसाद दाहालका अनुसार स्थापनाकालदेखि नै नाफामा जाने संकेत गरेको सहकारीले कुनै वर्ष घाटा बेहोर्नु परेको छैन्। सुरुदेखि अहिलेसम्म नाफा लिन सफल सहकारीले पछिल्लो ५ वर्षयता राम्रो आम्दानी गर्दै चालु आर्थिक वर्षको असोजसम्म  ५५ लाख २९ हजार पु¥याउने सफल भएको उनले बताए। उनले अघिल्ला वर्षहरुको तुलनामा २०७५÷७६ मा पनि संस्थाले उल्लेख्य प्रतिफल लिन सकेको बताए।

साधारणसभामा कोषाध्यक्ष रेकबहादुर मश्राङ्गीले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए। जस अनुसार २०७५÷७६ मा विभिन्न शीर्षकमा भएको आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए। उनले सहकारीले प्रशासनिक खर्च गर्दा अनुत्पादक खर्चमा कटौती गर्ने गरिएको र सकेसम्म उत्पादनमुलक कार्यमा मात्र खर्च गर्ने गरिएको जानकारी दिए। चालु वर्ष २०७६÷७७ का लागि प्रशासनिक वार्षिक बजेटमा उत्पादनमुलक कार्यमा मात्र खर्च गर्ने गरी वार्षिक कार्यक्रम बनाइएको उनको भनाई छ। 

कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले सहकारीमा आवद्ध शेयर सदस्यहरुले निजामति कर्मचारी संगठनले सञ्चालन गरेको सहकारीले निजामति कर्मचारी र उनीहरुको परिवारको आर्थिक गतिविधिलाई प्राथमिकतामा राख्दै बचत गर्ने तथा आयआर्जनमूलक काममा लगानी गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ३ कार्तिक २०७६ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App