बन्दिपुर - आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘केही गर्न सक्छु’ भन्ने भावनालाई साकार पार्ने कार्य कत्तिको चुनौतीपूर्ण हो त्यो खगेन्द्रभन्दा बढी कसलाई थाहा हुन सक्छ र ! कर्जन्हा नगरपालिका–२ बन्दीपुरका खगेन्द्र लकान्द्रीले बाउबाजेले जसोतसो टिकाएको खुकुरी बनाउने कामलाई अहिले उद्योगको रुपमा स्थापित मात्र गरेका छैनन्, धेरैलाई रोजगारी पनि दिएका छन्।
खुकुरी बनाउने काम कथित अछूतले गर्ने हो। यस्तो काम पनि कोही गर्छ, बरु विदेश जाउँ भनेर समकालीनले कम्ता जिद्दी गरेनन्। धेरै समकालीन विदेश हान्निए पनि। तर खगेन्द्रले पुर्खाले जसोतसो टिकाएको कामलाई नै निरन्तरता दिए। उनले पुख्र्यौली पेसामा व्यावसायिकता थपेर फैलाउने अठोर गरे। उनी लगन, मिहिनेत र दृढ अठोटलाई निरन्तरता दिँदै अघि बढिरहे।
हुन त यसअघि उनले व्यपारमा कहिल्यै हात हालेका थिएनन्। उनी नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालय बन्दिपुरमा लेखापालको पदमा कार्यरत थिए। ६ वर्ष लेखापालको रुपमा काम गरेपछि उनले जागिर छाडे।
जागिर छोडेर २०७१ सालमा खुकुरी बनाउने पुख्र्यौली पेसासँग जोडिन पुगे, उनी। त्यसयता स्वरोजगारमै रमेका छन्। उनले बन्दिपुरमा सञ्चालन गरेको उद्योगमा सिरुपाते, भोजपुरे, बेहुला, चैनपुरे, तीनचिरे, पानचिरे लगायत खुकुरी बनाउन कालिगढलाई भ्याइनभ्याई हुन्छ। बिबिएससम्म अध्ययन गरेका खगेन्द्रले पूर्व–पश्चिम राजमार्गको बन्दिपुर बजारमा ‘मन्दिरा भोजपुरे खुकुरी उद्योग’ सञ्चालन गरेका छन्। उनको उद्योगमा उत्पादित खुकुरी स्वदेशमा मात्र नभई विदेशसम्म निर्यात हुन्छ।
बन्दिपुर बजारमा व्यापार ओरालो लागिरहेका बेला युवाहरु बिदेसिने क्रम बढ्दो थियो। त्यो बेला सरकारी जागीरको यात्रा बीचमै छोडेर खगेन्द्रले उल्टो यात्रा थालेका थिए। उनी पुख्र्यौली व्यापारमा जोडिँदा धेरैले भन्थे– छिट्टै डुब्छ। यो व्यापार डुबाएर विदेश हानिन्छ भनेर कुरा काट्नेहरु थुप्रै थिए। तर उनी कटाक्षको परबाह नगरी आफ्नो योजना साकार पार्न अबिराम खटिरहे। त्यो बेला कुरा काट्नेहरु अहिले उनको तारिफ गर्छन्। उनलाई आदर्श मान्छन्।
खुकुरी बेचेरै परिवारको जीवनशैली फेरेका खगेन्द्रले समाजमा कर्मशील पहिचानमात्र बनाएका छैनन्, मनग्ये आर्जन पनि गरेका छन्। उनको उद्योगबाट उत्पादन हुने खुकुरीसँगै अन्य घरायसी उपकरण राजधानी काठमाडौंसहित पोखरा, उदयपुर, सिन्धुली, जनकपुर, बर्दिबास, ओखलढुुंगा, लालबन्दी, कटारी र रामेछापसम्म पुग्छ।
उद्योगमा खुकुरीसँगै तरबार, हँसिया, कट्टी, संगीन, कता, कचियाँ र चुलेसी उत्पादन हुन्छन्। व्यापारीले थोकमै खुकुरी खरिद गरी लग्छन्। उद्योगमा १० जनाले रोजगारी पाएको खगेन्द्रले बताए। मजदुरले मासिक २२ हजारदेखि ५४ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन्। सबै खर्च कटाएर मासिक ६० देखि ७० हजार रुपैयाँ बचत हुने उनी बताउँछन्।
सिरुपाते, भोजपुरे, बेहुला, चैनपुर, तीनचिरे, पानचिरे नामकरण गरिएको खुकुरी प्रत्येक महिना चारदेखि पाँच सय थानसम्म बिक्री हुने गरेको उनी बताउँछन्। १७, २१ र २५ सय रुपैयाँ पर्ने खुकुरीको माग बढी छ। यो रेन्जको खुकुरी बढी बिक्री हुन्छ। उनको उद्योगमा जंगलको काठ, कोइला र कवाडीबाट फलाम खपत हुन्छ। खुकुरी बनाउन चाहिने काठ, कोइला र फलाम उपलब्ध गराउनेले पनि आफ्नो उद्योगका कारण रोजगार पाएको उनी सुनाउँछन्।
मेला, महोत्सव र पर्वहरुमा खुकुरीको बढी माग हुने गर्छ। देशभित्र मात्र नभएर विदेशमा पनि उनको उद्योगबाट उत्पादन हुने खुकुरी पुग्छन्। २०६८ सालमा बेलारुस सय पिस र २०७४ सालमा अमेरिकामा २५ पिस खुकुरी पठाएको उनले बताए। अहिले उनलाई भारतको तमिलनाडु राज्यबाट अर्डर आएको छ।
‘खुकुरी विदेश निर्यात गर्ने सहज वातावरण सरकारले बनाइदिए व्यवसाय अझै फस्टाउँथ्यो र थप रोजगारी सिर्जना हुन्थ्यो,’ उनले भने, ‘विदेश निर्यात व्यपार महँगो छ। अहिले एउटा खुकुरीको मूल्य बराबरको लागत विदेश पठाउनमा खर्च हुन्छ।’
विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसाय थियो÷हो यो। तर, विश्वकर्मा समुदायले यो व्यवसायलाई उद्योगमा रुपान्तरण गर्न सकेनन्। कतिपयले यो पेसा त्यागेर वैदेशिक रोजगारमा गए, जाँदैछन्। ‘विदेश जानुभन्दा नेपालमै गर्न सकिन्छ भने अठोटका साथ खुकुरी बनाउने पेसा अँगालें,’ उनले भने, ‘आफू पनि आत्मनिर्भर बनें, अरुलाई
पनि रोजगारी दिएको छु। जागिरमा आफूमात्र रोजगार पाएको थिएँ।’ अरुलाई रोजगारी दिन पाएकोमा खुसीसँगै सन्तोष लाग्छ उनलाई।
यसरी बसालियो खुकुरीको जग
खगेन्द्रका हजुरबुवा प्रभुराम विश्वकर्मा र बुबा टंकबहादुर विश्वकर्मा भोजपुरबाट खुकुरी व्यवसाय गर्न पोखरा पुगेका थिए। त्यहाँ उनीहरुको खुकुरी पसल थियो। पोखराबाट घर (भोजपुर) फर्किने क्रममा विश्वकर्मा बाबुछोराले पथलैयादेखि कोसी ब्यारेजसम्म कतै खुकुरी पसल देखेनन्। पथलैयादेखि कोसीको बीचमा खुकुरी पसलको राम्रो भविष्य रहेको निष्कर्ष टंकबहादुरले बुबा प्रभुरामलाई सुनाए।
बुबाले टंकको योजनालाई राम्रो भन्दै स्वीकृति दिइहाले। टंकको साथी टेकनाथ अधिकारीको ससुराली बन्दिपुरमा छ। टंकले साथीलाई योजना सुनाउँदा उनले बन्दिपुर रोज्न सल्लाह दिए। साथीको सल्लाहमा टंक २०५४ सालमा बन्दिपुर आए। उनको परिवार भोजपुरबाट बन्दिपुर बसाइँ स¥यो। ०५४ सालबाट विश्वकर्मा परिवारले सुरु गरेको भोजपुरे खुकुरीको उत्पादनले अहिले उद्योगको रुप लिएको हो।
टंकले यही व्यवसायको आम्दानीले छोराहरु खगेन्द्र लकान्द्री, विष्णु लकान्द्री र छोरी मन्दिरा लकान्द्रीलाई उच्च शिक्षा पढाए। जेठो छोरा विष्णुले सिभिल इन्जिनियर पढे। खगेन्द्रले बिबिएस र मन्दिरा स्टाफ नर्स पढेकी छन्। मन्दिरा नेपाल पुलिस अस्पतालमा सई पदमा जागिरे छिन्। विष्णु आठ वर्षदेखि अमेरिकामा छन्।
०७२ सालमा यो व्यवसायको जग बसाल्ने प्रभुराम बिते। त्यसलगत्तै टंक दम्पती जेठो छोरा विष्णुसँग अमेरिका गए, उनीहरु उत्तै बस्न थाले।
संघर्ष
पुर्खाले जग हालेको खुकुरी व्यवसायलाई उद्योगको रुपमा स्थापित गर्नु चानचुने कुरा थिएन। कठिनाइपूर्ण संघर्ष झेलेर टंकबहादुरले टिकाएका थिए, यो व्यवसाय। ०५४ सालमा यो व्यवसाय सुरु गर्दा देशभरी हतियारबन्द लडाइँ चल्दै थियो। त्यो बेला खुकुरीको व्यवसाय तरबारको धारमाथिको यात्रा थियो। लडाइँ शान्त भएपछि ०६४ सालबाट व्यवसायले लय समात्न थाल्यो।
बिस्तारै खुकुरी बिक्री हुन थाल्यो, बजार बढ्यो। ‘पहिले खुकुरी बेच्न डुल्नु पथ्र्यो, अहिले त घरमै किन्न आउने धेरै छन्,’ खगेन्द्र भन्छन्। २०६४ सालयता यही व्यवसायको आम्दानीले उनको छोरा आर्यन र छोरी कृतिकाको पढाइ र गुजारा चलेको छ। खुकुरी व्यवसायमा खगेन्द्रलाई पत्नी रीता लकान्द्रीले सघाइरहेकी छन्।
प्रकाशित: २६ आश्विन २०७६ ०३:३५ आइतबार