१६ चैत्र २०८० शुक्रबार
अर्थ

साउदीसँग श्रम सम्झौता अन्यौलमा

काठमाडौं – नेपालले घरेलु कामदारको रूपमा महिलालाई पठाउन नचाहे पछि साउदी अरेबियासँग हुने भनिएको श्रम सम्झौता अन्योलमा परेको छ।

साउदीले नेपाललाई घरेलु कामदारका लागि महिला कामदार पठाउन माग गरिरहेको छ। तर नेपालले महिला पठाउने विषय उठान नगरे पछि अन्तिम तयारीमा रहेको श्रम सम्झौता अन्योलमा परेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले साउदी पठाएको श्रम मस्यौदामा उताबाट दुई महिनादेखि कुनै प्रतिक्रिया नआएको बताए।

मन्त्रालय स्रोतका अनुसार नेपालले पठाएको पछिल्लो श्रमको मस्यौदामा घरेलु कामदारबारे कुनै बुँदा राखिएको छैन। आफुले चाहेजस्तो नभएपछि साउदीले सम्झौता गर्न चासो नगरेको अनुमान गरिएको छ। नेपालको ठूलो गन्तव्यमा पर्ने साउदीसँग श्रम सम्झौताका लागि पटकपटक छलफल हुँदै आएको छ। तर अनेक बहानामा श्रम सम्झौता हुन सकेको छैन।

पछिल्लोपटक घरेलु कामदार लैजाने लोभले साउदी नेपालसँग श्रम सम्झौता गर्ने सोचमा पुगे पनि नेपालले महिलााई घरेलु कामदारको रूपमा पठाउने बारे कुनै निर्णय नगरेपछि त्यसको असर श्रम सम्झौतामा परेको अधिकारीहरू बताउँछन्। २०७२ मा तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनपछि खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन बन्द गरिएको छ।

नेपालले विश्वका एक सय आठ देशमा कामदार पठाउने गरे पनि अहिलेसम्म मलेसिया, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, इजरायल, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।

मन्त्रालयका अधिकारीहरू साउदीले महिलालाई घरेलु कामदार पठाउनका लागि पटकपटक लबिङ गरिरहेको बताउँछन्। सोही लबिङ अनुसार महिलालाई घरेलु कामदारको रूपमा पठाउन संसदीय समितिले नै निर्णय गर्नु पर्ने हुन्छ। तर, संसद्को श्रम समतिले अहिलेसम्म पुराना निर्णय खारेज गर्ने निर्णय गरेको छैन। जसले गर्दा मन्त्रालयले साउदी लगायत खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउने निर्णय गर्न सकेको छनै।
सम्बद्ध स्रोतका अनुसार यतिखेर साउदी सरकारले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर भइसकेको छ। विगतमा साउदीले श्रमिकलाई बिमाबापतको रकम उपलब्ध गराउन नसकिने अडान राख्दै आएको थियो। त्यतिबेला मुस्लिम कानुन अनुसार कामदारको मृत्यु वा अंगभंग हुँदा रोजगारदाताले बिमाको रकम दिन नसकिने जानकारी दिने गथ्र्यो।

घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा गएका महिला निरन्तर आर्थिक, शारीरिक शोषणमा पर्ने क्रम नरोकिएपछि हाल नेपाल सरकारले घरेलु कामदारको रूपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको छ। वैध तरिकाबाट रोजगारीमा जान नपाएपछि महिला अवैध बाटो हुँदै विदेश पस्ने गरेकाले सहज तरिकाबाट महिलालाई वैदेशिक रोजगारीमा जान दिनु पर्ने आवश्यकता रहेको नेपाली श्रम बजारमा चर्को आवाज उठ्दै आएको छ।

नेपालको संविधानले महिला र पुरुषलाई समान व्यवहार गर्दै कसैको पनि स्वतन्त्रतता हनन गर्न नहुने मौलिक अधिकारको रूपमा व्यवस्था गरेकाले कतिपय अधिकारवादी चाँडोभन्दा चाँडो श्रम सम्झौता गरी महिलालाई घरेलु कामदारमा रोक्ने नहुने बताउँछन्। कतिपय श्रम विज्ञ सहजै घरेलु कामदारको रूपमा  महिलालाई  विदेशमा पठाउनु भनेको बेचबिखन गरे जस्तो हुने ठान्दै संसदीय समितिको निर्णय महिलाको रक्षा गर्नलाई सहयोगी भएको तर्क गर्छन्।

संसदीय समितिका पदाधिकारी समेत महिलालाई वैदेशिक रोजगारीमा रोक्नेबारे विभाजित हुँदै आएका छन्। कसैले महिलालाई रोक्न नहुने र कसैले रोक्नु महिलाको सुरक्षाको लागि ठीक हुने बताउँछन् ।

घरेलु कामदारको रूपमा जाने महिला शोषणमा पर्ने क्रम वृद्धिपछि रोक लगाइएकाले घरेलु कामदारलाई सुचारु गर्न जतिसक्दो चाँडो रोजगारदाता मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने श्रम विज्ञ बताउँछन्। वैदेशिक रोजगारीको क्रममा पीडित भएका कामदारलाई कानुनी सहायता उपलब्ध गराउँदै आएको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल कानुनले महिला र पुरुषलाई समान व्यवहार गरेकाले महिलालाई वैदेशिक रोजगारीमा रोक लगाउन नहुने बताउँछन्। ‘समस्या कहाँनेर छन्, पत्ता लगाएर समाधान गर्नुपर्छ,’  उनले भने।

लामो समयदेखि श्रम सम्झौताको प्रक्रिया अघि बढेको साउदीसँग अन्तिम समयमा श्रम सम्झौतामा समस्या देखिएपछि मन्त्रालयका अधिकारी  श्रम सम्झौता नगरीकनै महिलालाई घरेलु कामदारको रूपमा पठाउने वा घरेलु कामदारको रूपमा महिलालाई नपठाउने निर्णयलाई निरन्तरता दिने भन्नेबारे  अलमलमा परेका छन्।

श्रम सम्झौता नहुँदा लामो समयदेखि कामदारले राम्रो पारिश्रमिक र काम नपाएको गुनासो आइरहेको पाइन्छ। विगतका वर्ष नेपालले श्रम सम्झौता गर्न खोजे पनि विभिन्न बहाना बनाउने गरेको साउदी सरकारले पछिल्लो समयमा महिला कामदार लैजान श्रम सम्झौता गर्न इच्छा व्यक्त गरेको थियो। सरकारी अधिकारीका अनुसार यतिखेर साउदीमा घरेलु कामदारको उच्च माग छ। नेपाली महिलाको त्यहाँ उच्च माग रहेको बताइएको छ।

घरेलु कामदारका रूपमा कति महिला साउदी जान्छन् भन्नेबारेमा यकिन नभए पनि श्रम सम्झौता भएको दुई वर्षको अवधिमा एक लाखको हाराहारीमा घरेलु कामदार त्यहाँ जानसक्ने सम्भावना रहेको सरकारी अधिकारी बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार २०६३ देखि हालसम्म श्रम स्वीकृति लिएर साउदीमा सात लाख बढी कामदार पुगेका छन्। अहिलेसम्म साउदीसँग श्रम सम्झौता नहुँदा नेपाली कामदारले त्यहाँ राम्रो पारिश्रमिक पाउन नसक्नुका साथैे सम्झौता अनुसारको काम नपाउँदा पीडित  रोजगारदाता कम्पनीका विरुद्ध कानुनी कारबाही गर्न असमर्थ हुने गरेका थिए।

त्यस्तै, साउदीमा काम गर्दाको अवस्थामा कामदारको मृत्यु भएको खण्डमा त्यस्ता कामदारको शव ल्याउन पनि तीन महिनाभन्दा बढी लाग्ने गर्छ। नेपालले विश्वका एक सय आठ देशमा कामदार पठाउने गरे पनि अहिलेसम्म मलेसिया, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, इजरायल, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।

प्रकाशित: १७ आश्विन २०७६ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App