५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जिउँदो खसी–बोका किलोको पाँच सय ५०

काठमाडौं – सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्यांग्राको मूल्य निर्धारण गरेको छ।

कम्पनीले बिक्री गर्ने जिउँदो खसी–बोकाको मूल्य प्रतिकिलो ५५० र च्यांग्राको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको छ। उपभोक्तालाई खसी–बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए।

कम्पनीले सोमबारदेखि साबिकको नेपाल खाद्य संस्थानको थापाथलीस्थिति वागमती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी–बोका र च्यांग्राबिक्री सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा मूल्य निर्धारण गरिएको हो।

सरकारले दसैमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झैं यसपटक पनि खसी–बोका र च्यांग्रा बिक्री गरेको हो। सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने महाप्रबन्धक गौचनले बताए।

यस वर्षका लागि कम्पनीले काठमाडौं उपत्यकामा खसी–बोका र च्यांग्रा गरी तीन हजार चौपाया बेच्ने तयारी गरेको छ। त्यसका लागि एक हजार ९२० च्यांग्रा र करिब एक हजार खसी–बोका राजधानी ल्याइँदै छ।

केही खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसकिएको छ। अरु एक–दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिए। कम्पनीले बिक्री गर्ने सहुलियतको खसी–बोका तथा च्यांग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ। सम्भव भएसम्म एक परिवारलाई एउटा खसी, बोका वा च्यांग्रा बिक्री गर्ने उनले बताए।

घाटा खाएर उपभोक्तालाई राहत
सरकारले खसी–बोका र च्यांग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई  राहत दिएको दाबी गरेको छ। खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले बताए। कम्पनीले खसी, बोका ढुवानीबाहेक जिउँदो प्रतिकिलो ५७० र दाङबाट प्रतिकिलो ५३५ मा किनेको जनाएको छ।

त्यस्तै, च्यांग्रा जिउँदो प्रतिकिलो ५६० मा किनेको बताएको छ। कम्पनीले च्यांग्रा मुस्ताङबाट ल्याएको हो। ती च्यांग्रा चार दिन हिँडाएर ल्याएको हो। कम्पनीले मुस्ताङमा एक हजार ९२० च्यांग्रा र मकवानपुर र दाङमागरी एक हजार खसीबोका किनेको हो।

अहिले राजधानीका अन्य खसी बजारमा जिउँदो खसी–बोका ६५० र च्यांग्रा ७५० प्रतिकिलोमा बिक्री भइरहेको छ। सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी–बोका तथा च्यांग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ।

सरकारले सिधै किसानको गोठबाट किन्दा उनीहरूले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताए। सरकारले खरिद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी–बोका तथा च्यांग्रा बिक्री गरेका छन्। व्यापारीले भने किसानबाट सस्तोमा किनेर उपभोक्तालाई महँगोमा बेच्छन्, जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्छन्।(रासस)

प्रकाशित: १४ आश्विन २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App