२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र निराशातिर

विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलमा शुक्रबार हवाईजहाज चढेर काठमाडौंबाट आएका पाहुनालाई स्वागत गर्दै पर्यटन व्यवसायी। तस्बिर:उमेश पुन/नागरिक

पोखरा– मुलुकभर शुक्रबार ‘विश्व पर्यटन दिवस’ तामझामपूर्ण रुपमा मनाइरहँदा मुख्य पर्यटकीय क्षेत्र पोखरा भने पटक्कैे खुसी हुन सकेन। कारण– सिजनको सुरुवात सुखद देखिएको छैन।

आन्तरिक गन्तव्यमा आउजाउ असहज छ। अनि, मुख्य सिजनको कमजोर बुकिङले पर्यटनमा उत्साह जगाउने आधार व्यवसायीले देखेका छैनन्। पोखरा पर्यटन परिषद् (पिटिसी) उपाध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘सेप्टेम्बरदेखि सिजन लागेको मानिन्छ। सेप्टेम्बर कमजोर अवस्थामै बित्यो।

महत्वपूर्ण सिजन मानिने अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ पनि कमजोर छ। आगामी दुई महिनाको अग्रिम बुकिङको अनुपातले हामीलाई खुसी बनाउन सकेको छैन।’ उनका अनुसार अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ ८०–९० प्रतिशत हाराहारीमा पुग्नुपर्ने हो, तर, ४० प्रतिशत हाराहारीमा मात्र बुकिङ छ। व्यवसायीका अनुसार ४० प्रतिशतको अग्रिम बुकिङ निकै कमजोर हो।

‘सांकेतिक रुपमा दिवस मनाइरहँदा व्यवसायमा पटक्कै ऊर्जा छैन। ऊर्जा पलाउने आधार पनि देख्न सकिएन,’ उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच साह्रै कमजोर भयो। सीमित एयरलाइन्सबाट मात्र नेपालसम्म विदेशीको पहुँच पुगेको छ।

त्यसले अन्तर्राष्ट्रियस्तरका पर्यटक भित्र्याउन सकिएन।’ नेपाल भित्रिएपछि पनि विदेशी पर्यटकमा उत्साह जगाउने गरी यात्रा गराउन नसकेको उनले बताए। त्यसले पर्यटन क्षेत्रमा निराशा उब्जाएको उनले बताए।

‘नेपाल भित्रिएपछि पर्यटक खुसी त हुन्छन्, तर, जब हिँड्डुलमा समस्या पर्छ, त्यो बेला पर्यटक निराश हुन्छन,’ उनले भने, ‘यतिबेलाको अवस्थाले नेपालको यात्रा निराशाजनक छ।’

पर्यटनका लागि राज्यले आवश्यक पूर्वाधार बेलैमा बनाउन नसक्दा व्यवसायीले सधैं एकैखाले गुनासो सुनाउन र समस्या भोग्न बाध्य भएको उनले बताए। 

नेपाल भ्रमण वर्ष २०२० मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउनने योजना बनाइरहँदा अहिलेका पूर्वाधारबाट सम्भव नभएको भट्टराईले बताए।

‘आन्तरिक पाहुनालाई समेत स्वागत गर्न सक्ने अवस्था छैन। सडकमार्ग कमजोर छ। विदेशी पर्यटक मिनेट–मिनेट हिसाब गरेर आउँछन्,’ उनले भने, ‘हामीले त जसोतसो आउजाउको समस्या सहेका छौं, तर, विदेशीको नेपालभित्रको यात्रा कष्टकर हुँदै गएको छ। रमाउन आएका पर्यटक निराश हुने गरेका छन्।’

विदेशीहरु लामो समय मिलाएर यात्रामा निस्कने भएकाले उनीहरु अप्ठेरोमा फस्न नचाहने उनले बताए। ‘नेपाल आउँदा समस्या छ भनेपछि पर्यटक आउनै चाहँदैनन्। यो कुरामा राज्यले विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

उनका अनुसार यतिबेलाको स्थलमार्गको जोखिमपूर्ण र पट्यारलाग्दो यात्राबारे नकारात्मक सन्देश अन्तर्राष्ट्रियस्तरमा पुगेको छ। धेरै पर्यटकले स्थलमार्गमा कष्ट सहेका छन्। त्यस्तै आन्तरिक हवाई सेवा पनि प्रभावकारी हुन नसकेको उनले बताए। त्यसले पर्यटक झस्कने गरेको उनले सुनाए। 

‘नेपाल आफैंमा सुन्दर छ। यहाँका गन्तव्यमा पर्यटक रमाउन चाहन्छन्। तर, यात्रा नै खत्तम भयो, यसले पर्यटकलाई तोकिएको समयमा निश्चित गन्तव्यमा पुर्याउनै सक्ने अवस्था छैन,’ उनले भने, ‘सन् २०२० लाई सुखद् बनाउने सन्देश दिने आधार नै छैन। अहिलेको समस्याप्रति विदेशीले प्रश्न उठाउन थालिसकेका छन्। पर्यटनको अवस्था गम्भीर चरणमा पुग्न थालेको छ।’ 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ पनि अहिलेको अवस्थाले पर्यटनमा फड्को मार्ने अवस्था देख्दैनन्। ‘आन्तरिक हवाई जहाजको यात्रा विदेशीका लागि निकै नै महंगो छ। स्थलमार्ग झनै ध्वस्त छ,’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा हामीले पर्यटकलाई नेपाल घुम्न आउसमेत भन्ने अवस्था रहन्न।’

पाहुना आउनका लागि नेपालको पर्यटन क्षेत्रले सुखद सन्देश दिनै नसकेको उनले बताए। ‘काठमाडौंबाट पोखरा आउँदा १० घण्टा जाममा फसेका पर्यटकले कस्तो सन्देश पुर्याउलान भन्नेमा अब सोंचविचार गर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘भोकभोकै घन्टौ जाममा फसेका विदेशी पर्यटकले सकारात्मक सन्देश पु¥याउलान् भनेर सोच्यौं भने हामी गलत हुनेछौं।’ 

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि ८०–९० प्रतिशत अग्रिम बुकिङ हुनुपर्ने बेला ४० प्रतिशतको बुकिङले खुसी तुल्याउन नसक्ने बताउँछन्। अझै केही दिन यस्तै अवस्था रहे आन्तरिक पाहुनाको हिँड्डुल पनि रोकिने उनले सुनाए।

सिजनको सुरुवात मानिने सेप्टेम्बर ३० प्रतिशत हाराहारीमा चलेको उनले बताए। व्यवसायीका अनुसार सेप्टेम्बर कम्तिमा ५० प्रतिशत हाराहारीमा पुग्नुपर्थ्यो । तर, यो पटक ३० प्रतिशतमै रोकिएको थियो। ‘पर्यटनको अहिलेको अवस्था निकै कमजोर छ। सहजै पर्यटक भित्रिने पूर्वाधारै भएनन्,’ तुलाचनले भने, ‘कमजोर पूर्वाधारमा रम्न कोही विदेशी नेपाल आउनै चाहेनन्।’ 

विश्व पर्यटन दिवस मनाउने क्रममा शुक्रबार दिउँसो यहाँको पर्यटक बसपार्कमा पाहुनालाई स्वागत गर्न समेत नपाइएको उनले बताए। उनका अनुसार पर्यटक बसपार्कमा काठमाडौंबाट बस चढेर आएका विदेशी पर्यटकलाई स्वागत गर्न व्यवसायी पुगे पनि पर्यटक सवार गाडी तोकिएको समयमा नआउँदा स्वागतसमेत रोकिएको उनले बताए।

‘काठमाडौंबाट हिँडेका पर्यटक बस दिउँसो २ बजे हाराहारीमा पोखरा भित्रिनुपर्नेमा बेलुकीसम्म पनि आएनन्। अनि पाहुनालाई स्वागतै गर्न पाएनौं,’ तुलाचनले भने, ‘पाहुनालाई स्वागत गर्न समेत नपाउने अवस्थामा पर्यटनबाट लाभ पाउने आशा गर्न सकिने अवस्था छैन।’

यतिबेला नेपालको हवाई र स्थलमार्र्ग अस्तव्यस्त छ। लामो समयदेखिको मौसम खराबीले आन्तरिक हवाई  सेवा पनि प्रभावकारी छैन। घण्टौ पर्खेर हवाई यात्रा गर्न पाहुना बाध्य छन्। त्यस्तै काठमाडौं–पोखरा स्थलमार्गको समय ५–६ घण्टा हुनुपर्नेमा अहिले १५ घण्टासम्म लाग्ने गरेको छ।

‘१० घण्टा जाममा फँसेर पोखरा भित्रिएका विदेशी पर्यटकले दिने सन्देश कस्तो होला, हामी आफैं अनुमान गर्न सक्छौं,’ उनले भने, ‘काठमाडौंबाट पोखरा पुग्न सकिने अवस्था छैन।’ स्थलमार्गको यात्राले पाहुनालाई अप्ठेरोमा पारेको उनले सुनाए।

‘सबै पर्यटक जहाजमा यात्रा गर्दैनन्। नेपालको आन्तरिक हवाई यात्रा पनि महंगो छ,’ उनले भने, ‘कोही विदेशी नेपालको समस्यामा फस्न आउने होइनन्।’ अहिलेको अप्ठेरोले आन्तरिक पाहुनाको हिँड्डुल पनि साह्रै कष्टप्रद बनाएको उनले बताए।

‘निजी गाडीमा यात्रा गर्न पनि पाहुनाले मान्ने अवस्था छैन। हवाई यात्राको टुंगो छैन,’ उनले भने, ‘यो बेला विदेशी नआए पनि आन्तरिक पाहुनाबाट राहत मिल्ने थियो। तर, आन्तरिक पाहुनाको आउजाउ सहज नहुँदा व्यवसायी झनै तनावमा छन्।’ 

 

प्रकाशित: १२ आश्विन २०७६ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App