५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

थपिएको म्यादमा फेरि पनि नसकिने भो

काठमाडौं – ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो। तर, आयोजनाको डिजाइन र ठेकेदार कम्पनीको ढिलासुस्तीले प्रारम्भिक म्याद सकिएको एक वर्षभन्दा धेरै भइसक्दा पनि कहिले सम्पन्न हुने भन्नेमा अन्योलै छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना प्रमुख शुभारम्भविक्रम शाहले यसको ५० प्रतिशत काम सम्पन्न भएको बताए। ‘प्रसारण लाइनको डिजाइन समयमै स्वीकृत नहुँदा निर्माणमा केही ढिलासुस्ती भएको हो,’ उनले भने, ‘एक वर्ष डिजाइन स्वीकृत हुनै लाग्यो। अर्काे पाँच महिना बाढीपहिरोले धेरै काम गर्न सकेनौं। त्यसैले आयोजनाको अपेक्षाकृत प्रगति हुन नसकेको हो।’

आयोजनाको डिजाइन तथा परामर्शदाताको काम भारतीय पावर ग्रिड कन्सल्टेन्सीले पाएको थियो। आयोजनाका अनुसार प्रसारण लाइनको चारवटा जग खन्ने काम भएको छ। हालसम्म आयोजनाको टावर खडा भने भइसकेको छैन। 

‘अहिले प्रसारण लाइन निर्माण र सबस्टेसन बनाउने काम धमाधम भइरहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ आयोजना निर्माणमा ढिलासुस्ती भएपछि गत वर्ष एक वर्ष म्याद थप गरिएको थियो। आगामी पुसभित्र सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। चैतसम्म प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी लगायतका आयोजनाबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनबाट ल्याउन सकिनेछ।

यो प्रसारण लाइनमा ७९ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ। तर, हालसम्म एउटा पनि टावर खडा गरिएको छैन। चिलिमे–त्रिशूली २०० केभी प्रसारण लाइनमा २७ वटा मल्टिसर्किट प्रसारण लाइन र बाँकी डबल सर्किटको टावर निर्माण गर्ने योजना छ।

आयोजनाको सबस्टेसन र प्रसारण लाइन निर्माणको ठेक्का पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले साढे दुई अर्बमा ठेक्का पाएको थियो। हालसम्म आयोजनाको वित्तीय प्रगति २० प्रतिशत भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख शाहले भौगोलिक कारणले आयोजनाको काम द्रुत गतिमा हुन नसकेको बताए। ‘रोपवे र हेलिकप्टरमार्फत प्रसारण लाइनको तार ओसार्ने काम ग¥यौं,’ उनले भने, ‘त्यसैले पनि काम गर्न केही अप्ठेरो भएको हो।’ आयोजनाका अनुसार अहिले सबस्टेसन निर्माणको काम द्रुत गतिमा भइरहेको छ। ‘अत्याधुनिक खालको सबस्टेसन निर्माण गरिरहेका छौं,’ उनले भने, ‘जिआइएस मोडलको सबस्टेसन निर्माण भइरहेको छ। अबको डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरिनेछ।’

प्रकाशित: ९ आश्विन २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App