२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रबारे मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा अर्थतन्त्रका केही सूचकमा सुधारका संकेत देखिएका हुन्।

बैंकका अनुसार विगतमा नराम्रो सूचकमा रहेको आयात अहिले घटेको छ भने शोधनान्तर स्थिति बचतमा गएको छ। बैंकको प्रतिवेदन अनुसार गत साउनमा आयात पोहोर साउनको तुलनामा ११.५ प्रतिशतले घटेको छ।
चालु खाता घाटा कम भएको र महँगी दर भने पोहोरको तुलनामा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।

साउनमा १०६ अर्ब ७३ करोडको सामान विदेशबाट आयात भएको छ। गत वर्ष साउनमा आयात ५४.३ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात भने २४.० प्रतिशतले बढेको छ। वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोसाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ। हवाई जहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ।

साउनमा निर्यात भने उत्साहजनक ढंगले बढेको छ। केन्द्रीय बैंकका अनुसार गत साउनमा नेपालको वस्तु निर्यात अघिल्लो वर्ष सोही महिनाको तुलनामा २७.७ प्रतिशतले बढेर आठ अर्ब ८४ करोड पुगेको छ। पोहोर साउनमा निर्यात जम्मा ३.२ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारततर्फ ५१.८ र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात बढेको छ। अन्य मुलुकतर्फको निर्यात भने पोहोरको तुलनामा ९.२ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्तमञ्जन, जुटका सामान, पोलिस्टर यार्न, लगायत वस्तुको निर्यात बढेको छ। जस्तापाता, जुस, तयारी पोसाक, पस्मिना, ऊनी गलैंचा लगायत वस्तुको निर्यात घटेको छ।

विप्रेषण आप्रवाह पोहोर साउनको तुलनामा दुई प्रतिशतले बढेर ७५ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्ष साउनमा यो ३३.१ प्रतिशतले बढेको थियो।

चालु खाता घाटा पनि पोहोरको तुलनामा घटेर नौ अर्ब ३७ करोडमा सीमित भएको छ। अघिल्लो वर्ष साउनको चालु खाता घाटा २५ अर्ब १६ करोड रहेको थियो।

एक महिनाअघिसम्म ६७ अर्ब ४० करोडले घाटामा रहेको शोधनान्तर स्थिति साउनमा ६ अर्ब पाँच करोडले बचतमा पुगेको छ। पोहोर साउनमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोडले घाटामा थियो। शोधनान्तर स्थिति भनेको निश्चित अवधिमा मुलुकबाट बाहिरिएको र भित्रिएको रकमको हिसाबकिताब हो। कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १०३८ अर्ब ९२ करोडबाट बढेर साउन मसान्तमा १०६४ अर्ब ६४ करोड पुगेको छ। अमेरिकी डलरमा भने यस्तो सञ्चिति घटेको छ। २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा साउन मसान्तमा नौ अर्ब ३८ करोडमा झरेको छ।

मुलुकमा रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु तथा ८.८ महिनाको वस्तु र सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकको भनाइ छ।

चालु वर्षको पहिलो महिनामा संघीय सरकारको बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) कुल खर्च दुई अर्ब ६२ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १० अर्ब ६४ करोड रुपैयाँ थियो। त्यसैगरी, बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) ७७ अर्ब ५३ करोड पुगेको छ। पोहोर यस्तो राजस्व संकलन ६५ अर्ब ५८ करोड थियो।

२०७६ साउन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १३७ अर्ब ५४ करोड (स्थानीय तहको खातामा रहेको ३८ अर्ब ५६ करोड समेत) नगद मौज्दात छ।

सो अवधिमा बैंक, वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ। महँगी भने गत साउनमा ६.९५ प्रतिशतले बढेको छ। पोहोर साउनमा महँगी ४.१९ प्रतिशतले बढेको थियो।

प्रकाशित: ८ आश्विन २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App