१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सडक मर्मत गर्दै स्थानीय

वर्षायाममा सडकमा खसेको पहिरो पन्छाउँदै डिकुवाका स्थानीय। तस्बिर : नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयले सडक मर्मत सुरु गरेका छन्। दसैंतिहारलाई लक्षित गर्दै स्थानीयले वर्षाले अवरुद्ध भएको मूलघर–बाघखोर–डिकुवा–चारबोटे ग्रामीण सडक मर्मत सुरु गरेका हुन्।

चाडपर्वका समयमा ओदोर–दोहोर गर्ने पाहुनाको सहजताका लागि सडकमा खसेको पहिरो पन्छाउन थालिएको वडा सदस्य घनश्याम राईले बताए। सडक अवरुद्ध भएको लामो समयसम्म पनि मर्मतका लागि कसैको साथ र सहयोग प्राप्त नभएपछि स्थानीय आफैं श्रमदान गरेर सडक मर्मत गर्न जुटेका हुन्।

गाउँघरमा दसैंतिहारको समयमा बाटोघाटो मर्मत गर्ने प्रचलन अनुसार आइतबारदेखि कुटो, कोदालो, गैती, सावेललगायत उपकरण प्रयोग गरेर सडकका ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाउन थालिएको वडा सदस्य राईले बताए। ‘सडकमा पहिरो खसेकाले हिँड्डुल गर्नै मुस्किल परिरहेको छ। तत्कालका लागि मान्छेलाई हिँड्डुल गर्न सहज बनाउन आफैं सडक मर्मतमा जुटेका हौं,’ वडा सदस्य राईले भने, ‘सांसदलाई भन्यौं, स्थानीय सरकारलाई भन्यौं तर, सडक मर्मत गर्न सहयोग नमिलेपछि आफैं अघि सरेका हौं।’ डिकुवादेखि भुम्जुडाँडासम्मको सडक मर्मत गरिने बताइएको छ।

वर्षापछि डिकुवाको झापा–बल्लुइ–बाइटार सडकको अवस्था उस्तै नाजुक छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र डिकुवा जोड्ने भुम्जु–छोङपाङ–डिकुवा सडक पनि मर्मत नगरेसम्म सवारी साधन जान सक्ने अवस्था छैन। वडाभित्रका टोल–टोलमा बनाइएका अधिकांश सडकको अवस्था झनै दयनीय बनेको छ। अधिकांश सडकमा पहिरो खसेर कि भीर बनेको छ कि सडक चिरा–चिरा परेर धाँजा फाटेको छ।

स्थानीयलाई सडकमा रित्तो हिँड्न पनि मुस्किल परिरहेको छ। माथिबाट खसेको वा तलबाट तानेको पहिरोले सडक भत्किँदा जोगिएर हिँड्नुपर्ने अवस्था बनेको स्थानीय बताउँछन्। 

गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको वर्षाका कारण डिकुवा र बाहुनीडाँडाको अधिकांश कच्ची सडक बिग्रिएको हो।सुक्खाग्रस्त क्षेत्र घोषित सो क्षेत्रमा सडक बिग्रिएकाले पिउने पानी समेत ढुवानी गर्न सकिएको छैन। ट्याक्टरमा पानी ओसार्ने गरिएकामा सडक बिग्रँदा पानीकै हाहाकार भएको स्थानीय नेता यानकुमार राईले बताए।

प्रकाशित: ८ आश्विन २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App