५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि परियोजनाको बजेट ११ करोड

भद्रपुर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि १० करोड ९१ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ। 

आर्थिक वर्ष २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि एक करोड २४ लाख ६५ हजार रुपैयाँ, धान सुपरजोनका लागि पाँच करोड ८८ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै रबर जोनमा एक करोड १४ लाख ३० हजार रुपैयाँ, सुपारी जोनका लागि एक करोड १६ लाख ८५ हजार रुपैयाँ, अन्य खर्चका लागि नौ लाख २६ हजार रुपैयाँ र कर्मचारीको तलब भत्तालगायत प्रशासनिक खर्चका लागि एक करोड ३७ लाख नौ हजार रुपैयाँ खर्च हुने कार्यालयका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए।  

उनले १० वर्षे परियोजनामा आधारित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम झापाका १५ वटै स्थानीय तहमा यसै आर्थिक वर्षदेखि सञ्चालन गरिने बताए। यसअघि कचनकवल गाउँपालिकामा मात्र सुपरजोन परियोजना सञ्चालित थियो।

यस वर्ष परियोजनाअन्तर्गत ‘कष्टम हाइरिङ’मा किसानलाई अनुदान, खेती प्रवर्द्रधन, क्षमता अभिवृद्धि, तालीम, गोष्ठी, कृषि औजार वितरण, प्रचारप्रसार सामग्री, अनुगमन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको उनले बताए। 

गत वर्षसम्म छुट्टाछुट्टै रुपमा सञ्चालित सुपरजोन, सुपारी जोन र रबर जोन अब एउटै एकाइबाट सञ्चालित हुने उनले जानकारी दिए। 

कार्यक्रममा कनकाईका प्रमुख राजेन्द्र पोखरेलले किसानलाई अनुदान दिँदा सुपरजोनले स्थानीय तहसँग समन्वय नगरी नदिन आग्रह गरे। उनले सरकारले उत्पादनमा वृद्धि गर्न र कृषिमा किसानको लागत घटाउन परियोजना लागू गरेको बताए।

गाउँपालिकाका प्रमुख जयनारायण साहले झापामा लागू भएका तीन वटै जोनका कारण युवा स्वरोजगार हुने, गरिबी घट्ने र किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले सफल बनाउन सक्दो सहयोग गर्ने बताए। रासस

प्रकाशित: ६ आश्विन २०७६ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App