२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘होमस्टे’ सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

कञ्चनपुर– आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया  महिलाले विजयसाल सामुदायिक घरवास (होमस्टे) सञ्चाल गरी आम्दानी लिन थालेका छन्। आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेका हुन्।

बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ। पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो तरकारी, लसुनको चटनी, घोघीलगायत परिकार उपलब्ध गराउने गरिएको घरवास सञ्चालक विस्पती चौधरीले बताइन। 

‘पाहुनालाई रोजेअनुसारको परिकार बनाएर खुवाउँदै आएका छौँ’ उनले भनिन् ‘चाहेजस्तो सत्कार पाएपछि पाहुना बढ्दै गएका छन्।’ आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन्।

एक घरमा दुईदेखि चार जनासम्म पर्यटकलाई राख्न सकिने गरी गरबास निर्माण गरिएका छन्। प्रत्येक घरमा स्नानकक्षसहितको कोठा र शौचालयसमेत छन्।

सञ्चालक चौधरीका  अनुसार घरवासमा आउने पर्यटकका लागि खानाका परिकारअनुसार १३० देखि ३०० रुपैयाँ सम्म तोकिएको र  मनोरञ्जनका लागि थारू संस्कृतिमा आधारित नृत्यहरु देखाउनका लागि नृत्यटोलीसमेत गठन गरिएको छ।

नजिकैका सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार, लोपोन्मुख प्रजातिकोे विजयसाल हेरेर पर्यटक रमाउन सक्ने परदेशनी डगौराले बताइन। नगरपालिकाले घरवासको स्तरोन्नतिका लागि पाँच लाख रुपैयाँ खर्चेर खाजा घरसमेत निर्माण गरिदिएको छ।

‘घरवासमा आउने पाहुनालाई सामूहिक रुपमा खाना खुवाउनका लागि  खाजाघर निर्माण गरिएको छ’ कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले भने, ‘यसबाट  न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुनाका साथै लोप हुँदै गएको संस्कृति संरक्षणमा समेत टेवा पुग्नेछ।’ रासस

प्रकाशित: ३ आश्विन २०७६ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App