८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भदौमा डेढ अर्ब राजस्व संकलन

रसुवा – रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयले भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यो लक्ष्यभन्दा ६१.६५ प्रतिशत बढी हो। दसैंका सामग्री भित्रने सिजन भएकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

रसुवागढी नाकाबाट भदौमा दसैंका सामग्री, रेडिमेड सामग्री, टेलिकमका सामग्री र प्रोजेक्टको सामग्री बढी आएका छन्। अहिले स्याउ र रेडिमेड सामग्री बढी आएका कार्यालयले जनाएको छ।

कार्यालयले दुई महिनामा नै वार्षिक लक्ष्यको २७.१८ प्रतिशत राजस्व संकलन गरिसकेको छ। साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार र भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार गरी दुई अर्ब ५४ करोड ३२ लाख ३९ हजार रुपैयाँ उठेको छ।

रसुवागढी भन्सार कार्यालयले यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। गत आवमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

रसुवागढी नाकाबाट सामग्रीको आयात बढेको र भन्सार मूल्यांकनमा वृद्धि भएसँगै राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत खड्काले बताए। राजस्व बढ्नुमा सरकारले नीति परिवर्तन गरेको, सामग्रीको मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माणका सामग्रीको आयात बढ्नु हो।

आव ०७२÷७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार रुपैयषँ राजस्व उठेको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामान, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ।

प्रकाशित: २ आश्विन २०७६ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App