१५ चैत्र २०८० बिहीबार
अर्थ

सेयरमा लगानी गर्ने उपयुक्त समय : अर्थमन्त्री

कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्बिरःरासस

काठमाडौं – विगतमा अनुत्पादक क्षेत्रको संज्ञा दिएर सेयर बजार घटाउन भूमिका खेलेको आलोचना खेप्दै आएका अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सेयर बजारमा लगानी गर्न अहिले उपयुक्त समय भएको बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले अधिकांश कम्पनीको सेयर मूल्य तल झरेकाले अहिले सेयर खरिद गर्ने सबैभन्दा उपयुक्त समय भएको बताए। उनको यो अभिव्यक्तिका कारण नेप्सेले छलाङ मारेको छ।

अर्थमन्त्री खतिवडाले बैंकिङ तथा वित्तीय संस्थाको नाफा बढेको, राजनीतिक स्थायित्वतर्फ मुलुक उन्मुख भएको, करको समस्या पनि समाधान भएको तर्क गर्दै दोस्रो बजार प्रवेशका लागि गतिलो अवसर भएको बताएका थिए। उनको यही भनाइपछि मंगलबारको सेयर कारोबारमा सकारात्मक प्रभाव परेको हो।

अर्थमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएपछि उत्साहित लगानीकर्ताले खरिद बढाउँदा नेप्से २.३९ प्रतिशतले उकालो लागेको छ। मंगलबार ११३.८३ मा खुलेको बजार २६.९१ बिन्दुले बढेर ११५०.७४ मा बन्द भएको छ। नेप्सेको तीव्र वृद्धिमा अर्थमन्त्रीको अभिव्यक्ति नै कारण भएको अनामनगरस्थित ब्रोकर नं. ३४ को कार्यालयमा भेटिएका एक लगानीकर्ताले बताए। ‘विगतमा अर्थमन्त्रीकै कारण बजार घटेको थियो। अहिले फेरि उनकै अभिव्यक्तिले लगानीकर्तालाई उत्साहित बनाएको छ,’ उनले भने। बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका हुन् त ? नागरिकको प्रश्नमा नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘पुरानै लगानीकर्ताले खरिद बढाएका छन्। हिजोसम्म संत्रस्त लगानीकर्ता आज उत्साहित देखिएका छन्।’

अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ तथा वित्तीय संस्थाहरुको नाफा बढेको, मुलुकमा राजनीतिक स्थायित्व भएको, करको समस्या पनि समाधान भएको तर्क गर्दै अहिलेको समय दोस्रो बजार प्रवेशका लागि गतिलो अवसर भएको बताएपछि त्यसको प्रभाव मंगलबारको नेप्सेमा परेको छ।

अर्थमन्त्री भएदेखि नै खतिवडाले सेयर बजारबारे बारम्बार नकारात्मक अभिव्यक्ति दिएपछि लगानीकर्ताले उनको आलोचना गर्दै आएका छन्। बजार निकै घटेपछि आतंकित लगानीकर्ताले अर्थमन्त्रीको राजीनामा माग्दै आन्दोलन पनि गरे, अनशन पनि बसे। अर्थमन्त्रीले बजेट भाषण गरेको दिनदेखि नै लगातार बजार घटेपछि लगानीकर्ताले अर्थमन्त्रीको राजीनामाको माग फेरि दोहो-याएका थिए।

अर्थमन्त्रीबाट सेयर बजारको समस्या समाधान नभएको ठहर गर्दै मंगलबार नै लगानीकर्ताका चारवटा संगठनले प्रधानमन्त्री केपी ओलीलाई भेट्न माग राखी विज्ञप्तिसमेत सार्वजनिक गरेका थिए। यसैबीच, अर्थमन्त्री खतिवडाले सेयर बजारका पक्षमा अभिव्यक्ति दिएका हुन्। उनले नागरिक लगानी कोषलगायतका कोषलाई पनि पुँजीबजारमा लगानी बढाउन आह्वान गरे।

कोषले पुँजी बजारमा लगानी गर्नुपर्छ
खतिवडाले लगानीकर्ताको मनोबल बढाई पुँजी बजारलाई गति दिन कर्मचारी सञ्चय कोषले पुँजी बजारमा लगानी गर्नुपर्ने पनि बताए। उनले मुलकको दिगो आर्थिक विकासका लागि कोषले आगामी दिनमा पुँजी बजारमा प्रवेश गर्नुपर्ने बताएका हुन्। अहिलेसम्म कोषलाई पुँजी बजारमा लगानी गर्ने स्पष्ट कानुन भने बनिसकेको छैन।

‘बजारमा पुँजी अभाव हुन नदिन कर्मचारी सञ्चय कोष, नागरिक लागनी कोष, सैनिक कल्याणकारी कोषले पनि पुँजी बजारमा लगानी गर्नुपर्छ,’ उनले भने। दोस्रो बजारमा लगानीकर्तालाई आकर्षण गर्ने उपयुक्त समय भएकाले यी संस्थालाई लगानी गर्न मन्त्री खतिवडाले सुझाएका हुन्।

‘कर्मचारी सञ्चय कोषले मुलुकको कुल गार्हस्थ उत्पादनको ठूलो हिस्सा ओगटेको छ,’ उनले भने, ‘कोषमा जम्मा भएको करिब तीन खर्ब रुपैयाँ पुँजी बजारमा प्रवेश गराउन सके लगानीकर्ता तथा बजारमा नयाँ तरंग आउँछ।’

कोषले हालसम्म तीन खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ भने तीन खर्ब ४६ अर्ब रुपैयाँ संकलन गरेको छ। चालु आवको साउन मसान्तसम्म ३१ अर्ब ४५ करोड रुपैयाँ जगेडा रकम आगामी दिनमा ऊर्जा, पूर्वाधार, आवासलगायत क्षेत्रमा लगानी गरिने कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले बताए।

कोषको जगेडा रकमलाई विभिन्न बैंक तथा वित्तीय संस्थासँग मिलेर परिचालन गर्ने योजनामा कोष रहेको पनि उनले प्रस्ट पारे। सरकारी तथा निजी क्षेत्रका करिब ६ लाख सञ्चयकर्तालाई एकदेखि १० लाख रुपैयाँसम्म उपचार खर्चका लागि स्वास्थ्य बिमा गराउँदै आएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए। उनले भने, ‘सञ्चयकर्तालाई सामान्य रोग लागे एक लाख र घातक रोग लागेमा बढीमा १० लाख रुपैयाँसम्म स्वास्थ्य बिमामार्फत उपचार खर्च मिल्छ।’

दुर्घटनामा परी घाइते वा मुत्यु भएका परिवारलाई दुई लाख तथा ४० हजार रुपैयाँ काजकिरिया खर्च दिइने व्यवस्था रहेको छ। त्यस्तै सुत्केरी तथा शिशु हेरचाह योजनामार्फत एकजनालाई बढीमा दुईपटकसम्म सात हजार पाँच सय रुपैयाँ पाउने व्यवस्था रहेको छ।

प्रशासक गौतमका अनुसार कोषले सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याज दिँदै आएको छ। गत आव ०७४÷७५ को खुद नाफाबाट १.१० प्रतिशत नाफा बाँडफाँट गरेको उनले बताए।

कोषले विराटनगर, जनकपुर, पोखरा, हटौंडा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा शाखा कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। त्यसैगरी, धनकुटा, सिंहदरबार र पुल्चोकमा पनि सेवा केन्द्र सञ्चालन छन्।

कोषले विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सञ्चयकर्ता सरलचक्र कर्जा, घर मर्मत सापटीलगायत योजना सञ्चालन गरी अधिकतम वार्षिक ९.७५ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएको छ। कोषले कुल स्रोतको ५३ प्रतिशत रकम सञ्चयकर्तालाई सापटी दिएको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७६ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App