७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुधकोसी जलविद्युत आयोजनाकाे सरोकार समिति स्थापना

खोटाङ– ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काम अघि बढिरहेका बेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका प्रभावित क्षेत्रका स्थानीयले सहयोग तथा सरोकार समिति स्थापना गरेको छ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलबिद्युत आयोजनाको कामलाई चाँडो सुचारु गराउन तथा सम्पन्न गराउने वातावरण बनाउनका लागि रमेश पौडेलको अध्यक्षतामा दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना सहयोग तथा सरोकार समिति स्थापना गरिएको हो। 

३९ सदस्यीय सहयोग तथा सरोकार समिति बिहिबार जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरिएको जनाइएको छ। दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई चाँडो सम्पन्न गराउनका लागि सहजीकरण गर्दै प्रभावित क्षेत्रका स्थानीयको हक अधिकारको सुनिश्चित गर्न र सामाजिक विकासमा साझेदारी गर्नका लागि समिति गठन गरिएको जारी विज्ञाप्तीमा उल्लेख छ । सहयोग तथा सरोकार समिति गठन भएको केही समयपछि प्रशासनमा दर्ता गरिएको हो। 

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो। मुख्या विद्युतगृहबाट ६०० र ड्याम टो विद्युतगृहबाट ३५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ। भ्याटसहित करिब २.२ विलियन यूएस डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ। 

जलबिद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ बर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ बर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ।

पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलासय सिर्जना हुने प्रतिबेदनमा भनिएको छ। 

प्रकाशित: २७ भाद्र २०७६ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App