१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विशाखापट्नमको विकल्प धमरा बन्न सक्ने

भारतको उडिसास्थित धमराबन्दरगाहभित्रको संरचना। तस्बिर :रितेश/नागरिक

धमरा (उडिसा,भारत) – नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।

अहिले प्रयोगमा रहेको पश्चिमबंगालको कोलकाताबाट साढे दुई सय किलोमिटर तथा हल्दियाबाट सय किमिको दूरीमा आन्ध्र प्रदेशको विशाखापट्नम भन्दा साढे चार सय किमि नजिक यो बन्दरगाह नेपालको व्यापारको ट्रान्जिट बन्दरगाहको रुपमा प्रस्तावित छ।

ठूलो आकारको र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुने मानिएको छ। नदीमा आधारित कोलकाता र लामो दूरीमा रहेको विशाखापट्नम बन्दरगाहको विकल्प धमरा बन्नसक्ने वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले बताए।यसलाई ध्यानमा राखेर नेपाल पक्षले भारतसँग यो बन्दरगाह प्रयोगमा लिन पाउनकालागि प्रस्ताव गरेको थियो।

गत फेब्रुअरीमा सम्पन्न ‘नेपाल र भारतबीच वाणिज्य सन्धिको पुनरवलोकन बैठक’मा भारतले नेपाललाई थप दुईवटा पोर्ट दिन सैद्धान्तिक सहमति जनायो। उडिसा प्रान्तको भद्राक जिल्लामा पर्ने धामरा र गुजरातको कुचजिल्लामा पर्ने मुन्द्रा बन्दरगाहबाट तेस्रो मुलुकसँगको व्यापार गर्न दिन भारतले सहमति जनाएपछि नेपाली सरोकारवालाले यसमाचाँसो देखाएका हुन्। नेपालीपक्षले आफ्नोतर्फबाट भारतीय निकायलाई सम्झौताको मस्यौदासमेत बुझाइसकेको छ।

यसअघि कोलकतामा आश्रित नेपाली व्यापारका लागि अरु विकल्पसमेत प्रयोग गर्ने भनेर विशाखापट्नमसँग सम्झौता भएपनि दुईवर्ष प्रयोगमा आउन नसकेको अनुभव छ। धमरा अझ नयाँ हो। यसै वर्ष सैद्धान्तिक सहमति भएर सम्झौता हुन बाँकी नै छ।

सम्झौता लगत्तै प्रयोगमा ल्याउन सक्ने गरी नयाँ बन्दरगाहको रुपमा प्राप्त धमराका लागि अहिलेदेखि तयारी र अध्ययन हुनुपर्ने वीरगन्ज उद्योग वाणिज्यसंघका महासचिव माधव राजपाल बताउँछन्। ‘हामीले हेर्ने भनेको लागत र समयको बचत हो,’ राजपालले भने, ‘त्यसका लागि उक्त बन्दरगाहको भौतिक पूर्वाधार, कार्गो ह्यान्डलिङ प्रणाली तथा उपकरण, ढुवानीका लागि सम्पर्क मार्ग र समुचित व्यवस्थापनमा हामी अग्रिम रुपमा ढुक्क भइसक्नुपर्छ।’

उनले सरकारले इच्छाशक्ति देखाए निकट भविश्यमैं धमरा भएर कारोबार सम्भव देखेको टिप्पणी गरे। बल्ककार्गोका लागिबन्दगाहको विशिष्टता रहेकाले सुरुवात बल्क कार्गोबाट नै गर्न सकिने उनको राय छ। धमरा बन्दरगाह सञ्चालक कम्पनीले समेत त्यस्तै राय जनाएको छ। भारतीय आर्थिकवर्ष ०१८/१९ मा दुई करोड सात लाखटन बल्क कार्गो ह्यान्डलिङ गरेको धमराले आव ०१९/२० मा दुई करोड ७० लाख मेट लक्ष्य राखेको छ। यो क्षमता ३२ करोड पाँच लाख मेट पु-याउने योजना कम्पनीको छ। यसरी बल्क कार्गोमा अहिले यसले भारी मात्रामा काम गरिरहेकाले धमरा भएर नेपालले सुरुमा बल्क कार्गोका लागि सेवा लिँदै यसको उपयोग प्रारम्भ गर्नुपर्ने देखिन्छ।

प्रकाशित: २५ भाद्र २०७६ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App